मलेसियामा १२ बर्ष देखी हराइ रहेका बुवा खोज्दै १६ बर्षिय छोरी भन्छिन बुबाको अनुहार कस्तो छ पत्तो छैन (भिडियो सहित)

इनेप्लिज २०८० माघ २२ गते १०:५७ मा प्रकाशित

१६ वर्ष उमेर टेकेकी सिता थापालाई प्रत्यक्ष रुपमा आफ्नो बुबाको अनुहार कस्तो छ पत्तो छैन । कालिञ्चोक गाउँपालिका–६ लेप्टुङकी उनी २ वर्षकी छँदा आमाको काखमा राखेर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । चाडवाड होस या विद्यालयमा अभिभावक दिवस सबैका अभिभावक देख्दा उनी भने आफ्नो बुबा सम्झेर भक्कानिन्छिन् ।

२०६६ सालमा रोजगारीको सिलसिलामा मलेसिया गएका ४० वर्षका मानबहादुर थापा विगत १४ बर्षदेखि बेपत्ता छन् । उनको परिवार हरेक दिन उनी फर्कन्छन् कि भनेर बाटो हरेर बसेका हुन्छन् । मलेसिया गएको २ वर्षसम्म घरमा उनले रकम पनि पठाए । तर एकाएक त्यसपछि भने उनी सम्पर्कविहीन बने । ‘अरुका बुबाले हात समातेर स्कुल लैजाँदा मेरा पनि बुबा छन् भन्ने लाग्छ, आमासँग बुबा खै भन्दै रुन्थे,’ उनले भनिन्, ‘तर कहिल्यै म र दिदीले बुबाको न्यानो काख र औंला समाएर विद्यालय जान पाएनौं, बुबा फर्कनुहुन्छ कि भनेर हरेक दिन दोबाटोमा पुगेर फर्कन्छु ।’

बुबा नहुँदा सानै उमेरबाट निकै कष्ट सहनु परेको उनले बताइन् । हाल स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सिताले बुबाको अनुहार आफूलाई सम्झना नभएको बताईन । लामो समय छोरा सम्पर्कमा नआएपछि उनका बुबा इन्द्रबहादुर विभिन्न निकायमा छोरा सम्पर्कबिहीन बनेको भनेर खोजिदिन धाए ।

विगत १२ बर्षदेखि छोरा खोज्दै उनले ७ लाख जति रकमसमेत खर्च गरिसके तर उनले छोरो फेला पार्न नसकिएको उनले बताए । छोरा खोजिदिने भन्दै उनी धेरै पटक दलालको चंगुलमा समेत फसेर रकम खर्च भएको सुनाउँछन् । उमरेर ७० टेक्नै लागेका उनी छोरो खोजिदिन आग्रह गर्दै अहिले पनि परराष्ट्रदेखि स्थानीय तह धाईरहेका छन् । ‘घरको जेठोबाठो छोरा कमाउन विदेश गएको त्यो पनि सम्पर्कमा नआएको १२ वर्ष भयो,’ उनले भने, ‘छोरा खोज्दै भौतारिएर कहिले दलाल त कहिले सरकारी अड्डा सबैतिर धाए कतैबाट छोरो खोजिदिने पहल भएन ।’

https://www.youtube.com/watch?v=XBX7JFU_Cr0

प्रतिक्रिया