गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रेस विज्ञप्ती

इनेप्लिज २०८० माघ २१ गते ३:४२ मा प्रकाशित

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को तेश्रो अन्तराष्ट्रिय कार्यकारी सचिवालयको बैठक संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शनिवार, (३ फेब्रुअरी, २०२४) को दिन भरर्चुल माध्यबाट सम्पन्न भयो ।

बैठकमा संघको केन्द्रीय सचिवालयमा कार्यरत सहायक निर्देशक बन्दना शर्माले संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सम्बोधन गरि पठाउनुभएको इमेलमार्फत संस्थागत तथा व्यक्तिगत लाञ्छना लगाउने गरि विभिन्न सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएका विषयहरूबाट संघको ध्यानाकर्षण भइ बैठकमा गम्भिर रूपमा छलफल भयो।

शर्माले वर्तमान संस्थागत तरलताको फाइदा उठाउने मनसायले सचिवालयको इमेल प्रयोग गरि पदीय जिम्मेवारी र मर्यादा भन्दा बाहिर गई संस्थाको गोपनीयतामा समेत ख्याल नगरेको बैठकको निष्कर्ष छ । साथै, निज शर्माले सार्वजनिक गर्नुभएका विषयहरू संस्थाको मर्यादा विपरित सुनियोजित र कपोलकल्पित भएको बैठकको ठहर छ । केन्द्रिय सचिवालयका प्रशासनिक कर्मचारीले सोही मुताबिक अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयबाट निर्देशित काम गर्नुपर्ने भएकाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सहायक निर्देशकले लगाउनु भएको नीतिगत सैद्दान्तिक मतभेदको आरोपपनि असान्दर्भिक छ र बैठकले संघको केन्द्रीय कार्यालयमा कार्यरत अन्य कर्मचारीलाई उच्च मनोबल सहित संघको कर्मचारी नियमावली, आर्थिक नियमावली र प्रचलित कानूनको अधिनमा रहि कार्य सम्पादन गर्न समेत अनुरोध गर्दछ ।

विश्वभर हुने विभिन्न साना ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा ककटेल डिनरको आयोजना गर्ने प्रचलन अनुरुप संघले समेत स्थापनाकाल देखि संघको विश्व सम्मेलनमा डिनर आयोजना गरिदै आएको सर्वविदितै छ । यस्ता डिनरमा संस्थाको पैसा खर्च नगरी कार्यक्रम प्रायोजकको खर्चमा आयोजना गरिने गरिएको छ। त्यसैले शर्माले इमेल मार्फत लगाउनु भएको आरोपमा सत्यता छैन् । त्यसैगरी शर्माले इमेल मार्फत भूकम्प पीडितको लागि राहत वितरण गर्न जाजरकोट र रुकुम पश्चिम जाँदा संस्थाको रकम खर्च भएको भन्ने भ्रामक सन्देश दिएर संस्थाको साख गिराउने काम गर्नुभएको देखिन्छ । राहत वितरणको क्रममा पदाधिकारीहरुले आफ्नो व्यक्गित खर्च स्वयं आफैले बेहोर्नु भएको जानकारी गराईन्छ ।

गैरआवासीय नेपाली संघको गत अक्टोवरमा सम्पन्न ११ औं महाधिवेशन तथा विश्व सम्मेलनमा संघले ५ करोड २९ लाख २१ हजार ३७७ रुपिया ५६ पैसा ९ उम्मेद्वार दर्ता शुल्क, सहभागी दर्ता शुल्क, स्पोन्सरहरुको सहयोगमा सम्पूर्ण खर्च कटाएर २ करोड ६६ लाख २४ हजार ६८३ रुपिया ९० पैसा आम्दानी गरेको छ ।

गैरआवासीय नेपाली संघको जनवरी २१ – २२ २०२४ मा चन्द्रागिरीमा सम्पन्न बैठकलाई मितव्ययी बनाउन पदाधिकारीहरुले आफै दर्ता शुल्क तिर्नु भएको र अपुग रकम व्यक्तिगत तथा संस्थागत प्रयोजन मार्फत भुक्तानी गरिएको थियो ।

गैरआवासीय नेपाली संघका आम सदस्यहरु तथा संस्थाको सबै कर्मचारीले चाहेको समयमा संस्थाका अध्यक्ष, महासचिव लगायत सबै पदाधिकारीहरुसंग प्रत्यक्ष सम्पर्क र संवादको वातावरण सधै खुल्ला रहेपनि शर्माले गैरआवासीय नेपाली संघको इमेल डेटाबेस दुरुपयोग गरि संघको कर्मचारी प्रशासन नियमावली विपरित आफ्नो असान्दर्भिक व्यक्तिगत असन्तुष्टि सार्वजनिक गर्दै संघको साख गिराएको र संघको संवेदनशिल विषयहरुमा आमसदस्यहरु, दाताहरूप्रति अपमान गरेको ठहर गर्दै उहाँको कार्यभारलाई कर्मचारी नियामावली अनुसार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

संघका हरेक गतिविधिहरु संघको विधान, संस्थाको आर्थिक नियमावली, नेपाल सरकारको आर्थिक नियमावली भित्र रहेर हुने गरेको सबैमा जानकारी समेत गराइन्छ ।

संघद्वारा संचालित कार्यक्रम तथा परियोजनाहरु अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र संघको अन्तर्राष्ट्रिय परिषद (आइसीसी) बाट नियम अनुसार पारित भएर मात्र कार्यान्वयन जाने परम्परा रहेको जानकारी दिदैं संघको क्रियाकलाप प्रति चासो, गुनासो र सकरात्मक सुझाव दिने सम्पूर्णमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

प्रतिक्रिया