टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको हो :प्रमुख दाहाल

इनेप्लिज २०८० माघ १७ गते २२:५२ मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताउनुभएको छ ।

बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पार्नुभयो ।

‘३ महिनासम्म प्रतियोगिता हुन्छ,उहाँले भन्नुभयो,‘प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिराबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो।’

गौतमवुद्ध क्रिकेट रंगशालाको नमूना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय सहभागि हुनेछन् ।

प्रमुख दाहालले अहिले विद्यालयस्तरीय क्रिकेट लिग हुन लागेको भएपनि आगामी दिनमा फुटबल, भलिबललगायतका खेलको लिग हुने उल्लेख गर्नुभयो ।

महानगरपालिकाले शिक्षासँगै रचनात्मक कार्यलाई सँगै अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले व्यवहारिक शिक्षालाई जोड दिएको प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि धेरै सकारात्मक प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नीति, नियम, कार्याविधि, मापदण्ड निर्माण गरी त्यसको कार्यान्वन गर्दै आएको पनि बताउनुभयो ।

महानगरले एक कक्षा कोठा एक शिक्षक, सामाजिक, गणित तथा आइसिटी ल्याबको व्यवस्था गरी प्रविधिमैत्री शिक्षालाई प्राथामिकतामा राखेको प्रमुख दाहालले बताउनुभयो ।

विगतमा भरतपुरका अधिकांश विद्यालयमा भवन निर्माणको कार्यलाई प्राथामिकता दिएको भएपनि अब भने नयाँ कार्यक्रमहरु ल्याउने उहाँले जानकारी दिनुभयो ।

वार्षिकोत्सवको अवसरमा वडा नम्बर २४ को कार्यालयबाट विपन्न तथा जेहेन्दार छात्राहरुलाई साईकल वितरण गरिएको थियो ।

भरतपुर वडा नम्बर २४ का रामबहादुर गोदारले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहकार्य हुन जरुरी रहेको बताउनुभयो ।

संघीयता आएसँगै धनधान्यञ्चल लगाउने, चन्दा उठाउने परिपाटी अन्त्य भई स्थानीय सरकारले प्रयाप्त भौतिक संरचना हुनु सबैको लागि खुसी विषय रहेको उल्लेख गर्नुभयो ।

वडा नम्बर २४ ले आधारभूत तहका विपन्न, दलित, जेहेन्दार, जनजाति विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा, छात्रावृत्ति स्वरुप विद्यालय पोषाक प्रदान गर्दै आईरहेको अध्यक्ष गोदारको भनाइ छ ।

प्रतिक्रिया