“आखिर म मान्छे हुँ”

कमला प्रसाईं हाल अमेरिका २०८० माघ १६ गते ११:२२ मा प्रकाशित

चाहे म बाहुन हुँ
चाहे म क्षेत्री!
चाहे म खस हुँ
चाहे म जे हुँ
आखिर म हुँ एक मान्छे।
पुग्नु छ मलाई एक गन्तव्यमा
खोल्नु छ एकदिन मैले कर्मको ढोका!
नरोक यसरी मेरा आदर्श बिचारहरु
नबाँध मलाई यसरी छुवाछूतको डोरीले!
बग्न देउ अविरल गतिमा मलाई
उड्न देउ आकाशमा मेरा उदेश्यलाई
मान्न देउ मेरा बिचारहरुलाई
सुनिदेउ मेरा निर्मल सन्देशहरुलाई
मान्छु एउटै धर्म
मनाउँछु एउटै चाडपर्व!
शताब्दिले डाँडा काटी सक्दा पनि
विभाजनको डोरीमा नबाँध मलाई
आखिर म हुँ एक मान्छे
तिमी जस्तै उही रगत रातो भएको मान्छे!
मलाई र मेरा बिचारहरुलाई
खण्ड- विखण्ड नगरीदेउ यसरी
किनकि भोलि मैले हिमाल भएर बग्नु छ,
भोलि मैले गंगा भएर बग्नुछ!
फैलाउँदै मेरा क्षितिजपारीका सपनाहरु
बनाउनु छ क्षितिजवारीका बिपनाहरु
आखिर म पनि त तिमी जस्तै एक मान्छे हुँ!
मेरो यात्रा जारी रहनेछ
एकदिन पुग्नु नै छ गन्तव्यमा !
सागर- महासागर तर्दै
मैले अझैं धेरै ज्ञान बटुल्नुछ
त्यसैले नरोक मेरा गोरेटाहरुलाई
आँखिर म मान्छे हुँ
त्यही मान्छे, एउटै जातको मान्छे!
म मान्छे हुँ मात्र ,
मात्र मान्छे जातको मान्छे!
मात्र मान्छे जातको मान्छे।

कमला प्रसाईं
हाल अमेरिका

प्रतिक्रिया