सदा झैँ यात्रीहरू भरिन्छन्।बस कुद्न थाल्छ। कण्डक्टर सिटै पिच्छे जाने बित्तिक्कै एक-एक गरी टिकट किन्छन् यात्रीहरू। एकजना अलि बलियो( झण्डै फिलिमको खलनायक) जस्तो देखिने यात्रीले चाहिँ टिकट किन्दैन।कण्डक्टर अलि हच्किन्छ, तर,केही नभनी अगाडि बढ्छ,सायद केही भएर होला,पछि दिई हाल्ला भन्ने सोच्दछ.. ।अन्तिम सिटसम्म पुगेर फर्किन्छ तर अहँ भिलेन जस्तो मान्छेले टिकट किन्न खोजेन अझै।फिलिम हेरी राख्ने कण्डक्टरको दिमागमा भिलेनको तस्बीर झलझली आउन थाल्छ। तर, मनलाई दर्हो बनाउँदै भन्छ: “टिकट किन्ने हैन?”
शरीर झैँ तौल बढी भएको आवाजमा उसले आफ्नो नाम आफैँ लिँदै भन्यो-” बिक्रमले कहिल्यै त्यो टिकट किन्दैन।”
कण्डक्टरलाई के गरौँ, के गरौँ झैँ हुन्छ, चिटचिट पसिना आउला जस्तो हुन्छ, फिलिमको भिलेन आँखा अगाडि नाचे झैँ लाग्छ र चुप लाग्छ।
यसैगरी प्रत्येक दिन बिक्रम त्यो लोकल बसको यात्री हुन्छ,शुरूका केही दिन उक्त वार्तालाप र दृश्य दोहोरिन्छ, कण्डक्टरको मष्तिष्कमा उही भिलेनसम्बन्धि कुराहरू पनि दोहोरिन्छ..।तर, पछि कण्डक्टरको दिमागमा एक प्रकारको सबैसँग भाडा उठाउन नसकेकोले कार्य सम्पादन गर्न नसकेको जस्तो लाग्न थाल्छ,उसलाई हीनताबोध हुन थाल्छ।उसलाई त्यो काम ऊबाट हुन नसक्ने झैँ मानी जागीरबाट राजीनामा दिन्छ।
तर,कौतुहलता मेट्न जागीर छोडेको भोलिपल्टै त्यही बसमा चढ्छ। यात्रीको रूपमा चढेको उसले नयाँ कण्डक्टरसँग टिकट किन्छ र बस्छ।ठ्याक्कै बिक्रम पनि चढ्छ र एउटा उही पहिले बस्ने गरेको नं.को सिटमा गएर बस्छ।संयोग नै भनौँ,बिक्रमको आवाज सुन्ने ठाउँमा नै उसको सिट पर्यो। नयाँ कण्डक्टर बिक्रम भए ठाउँ पुग्छ।”टिकट किन्नुस्” बिक्रमको उही भारी जवाफ पुरानो कण्डक्टरले पनि सुन्छ “बिक्रमले कहिल्यै त्यो टिकट किन्दैन”… कण्डक्टरले सोध्छ “किन?”
बिक्रम भन्छ: “म त जहिल्यै यो एप्सबाट भाडा तिर्छु, उसले मोबाइल देखाउँदै भन्छ: हेर्नु त,यसमा यो सिट नं. पनि उल्लेख छ।”
पुरानो कण्डक्टरलाई जागीर छुटेकोमा पश्चाताप हुन्छ त्यो भन्दा पनि मैले नानाथरी सोचेँ तर यो ‘किन ?’ भन्ने प्रश्न किन सोधिँन होला भनेर..
प्रतिक्रिया