प्रधानमन्त्रीज्यू !
मर्न कसैलाई रहर हुँदैन !मानिस नमरेको प्रहर हुदैन ! ……
मानिस बाच्नका लागि लाखौँ प्रयत्न गर्छ । ढाँट,छल,चोरी, लुटपाट,ठगी, हत्या, इमानदारिता, पद, प्रतिष्ठा, सफलता सबै बाच्नका लागि गरिएका प्रयत्नभित्र हुने र गरिने कार्यहरू हुन् ।
जब सयौं प्रयत्न असफल हुन्छन् अनि मानिस बाच्नै नसक्ने पिडाले छट्पटिएर आत्महत्या गर्ने अवस्थामा पुग्छ । केही वर्षदेखि भएका यस्ता घटनालाई आत्महत्या भन्न नमिल्ने भइसक्यो ।यो देशभित्रको बेथितिको सुनियोजित विद्रोह हो जस्तो देखिन्छ ।
मृत्यु वरण गर्न खोज्नु चानचुन कुरा होइन ! मृत्यु वरण गर्नु अघि मृत्युको कारण उल्लेख ( लिपिबद्ध ) गर्दै मृत्युतिर धकेलिएको देखेर पनि यस्ता समस्या समाधान नगरेको, समस्या सुनाएको मात्रै होइन,समस्याको निकासका लागि सयौँ प्रयत्न गरेको,समस्या सुनाएकै कारण अपमानित भएको, हेपिएको,त्यो अपमान र हेपाइले आत्मसम्मानमा चोट परेको कुराले सुन्ने मानिस संवेदनशील नहुने अवस्था छ। समस्या हल गर्ने प्रयत्नमा लाग्दा,आत्मसम्मानमा लागेको त्यो घाउले छट्पटिँदै समस्या समाधान गर्न र स्वाभिमान पूर्वक बाच्न प्रयास गर्दा सयौँ विकल्प असफल हुनु,अझै ठगिनु,लुटिनु नै मृत्युको कारण होइन र ?
उनलाई व्यक्ति,संस्था र बिचौलियाले मात्रै होइन राज्यले पनि विभिन्न बहाना बनाएर ठगेको देखिन्छ ।
आफूले गरेको कामको महत्त्व र महिमा गन्नेमान्ने,राजनीतिक दल, नेता र सरकारसँग पटकौँ-पटक पुर्याउँदा पनि सम्बोधन नभएर, लगानी डुबेर असफल भएकोले जीवनदेखि हारेको देखिन्छ ।बिचौलियाले दिएको दु:खको कथा त दुनियाँले नबुझि – आत्महत्या गरेछ-नामर्दले ! भनेर उडाउने र आफू पुरुषार्थ बन्ने प्रचलन प्रसस्तै छन्। मानिसले सयौँ प्रयास गर्दा पनि आफू असफल भएपछि सामाजिक इज्जत र इमानदारिता जोगाउन नसकेर आत्मदाह गर्ने प्रयास गरेको भेटिएको छ ।
आत्महत्या गर्नेहरुको व्यथा जटिल छ। घर, परिवार, समाज, राजनीति र राज्यका हजारौँ विकृति विसङ्गति र शान्ति सुरक्षासँग जोडिएको छ। सयौं समस्या,पिडा सम्झँदा आफ्नै मन झसङ्ग हुन्छ ।
अहिले बढेका आत्महत्याका घटनाले बाच्नेलाई आफू मात्रै बाँच्ने हो ? समवेदनशील बनाएको छ ।
मानिसलाई मानिसले नै अपमान गर्नु नै हिंसा गर्नु हो । प्रायः आत्महत्या गर्ने मानिस आफ्नै घरपरिवारका सदस्यले गरेको अपमान,गाली गलौज र कुटपिटबाट सयौँपटक हिंसामा परेको देखिएको छ। मानिसले आफ्नो र परिवारकै इज्जत,प्रतिष्ठाको लागिआफ्नो समस्याको समाधानको कानुनी प्रकृयामा जान र भन्न सकिरहेको हुँदैन ।भन्नू या उजुर गर्नु भन्दा हिंसा र अपमानको विकल्पमा आत्महत्या बाहेक देख्दैन ।
यसरी हिंसामा पर्नेको सङ्ख्या लाखौँको छ । हिंसामा पर्ने कारणहरु पनि घर-घरायसी अंश, वंश, सम्पत्ति ( श्रोत र साधन) को उपयोगको विषयसँग जोडिएर हिंसा भइरहेको देखिन्छ । अर्को कारण अहिलेको आर्थिक मन्दीले प्रत्येक घरको भान्सा, विभिन्न उमेर समूहलाई प्रभावित बनाइरहेको छ । साँझ विहानसँग जोडिएको विषयसँगै नाता सम्बन्धभित्र संविधान र कानुनी हक,अधिकार पाउने विषयलाई लिएर हिंसात्मक वातावरण सृजना भएको छ। राज्य र समाजमा दैनिक हुने यस्ता आर्थिक सामाजिक संरचनाका हिंसाका घटनामा समाजले टुलुटुलु हेर्ने अवस्था किन बन्यो ? यस्तो हिंसा सहन नसकेर सयौं महिला ,जेष्ठ नागरिक ,युवाहरुले आत्मदाह गरेको अवस्था छ – यो कसले हेर्ने ?
यस्ता अपराध र विभेद अन्त्य गर्न राजनीतिक दल सामाजिक संघसंस्था सहितको राष्ट्रिय अभियानहरु सञ्चालन गर्न सरकार किन प्रयत्न गर्दैन ।
यी र यस्ता विषय हेर्दा व्यक्तिगत देखिए पनि सामाजिक समस्या हुन् । यसको सम्बोधन राजनीति र राज्यको कार्यकारी निकाय सरकारले गर्नु पर्दछ ।
यस्ता घटनासँग जोडिएका सयौँ व्यक्तिहरूले परिवार एक्लाएर मृत्युवरण गर्ने ठाउँमा पुगेका छन् । राज्यको संरक्षणमा भएको भ्रष्टिकरण र प्रशासन संरचनाभित्र मौलाएको संस्थागत भ्रष्टाचार, कार्य सम्पादनसँगको भ्रष्टाचार र संरचनागत रूपमा हुने अन्य भ्रष्टाचार अन्त्य गराउन नसकेको कारण यो घटना घटेको देखिन्छ । यो त प्रतिनिधि घटना मात्रै हो ।यस्ता सयौं घटना घट्नेक्रममा छन् !
सरकार !
तत्काल यस्ता सामाजिकआर्थिक विषय र समस्याको सम्बोधन गर । उर्जाशिल युवाहरु घरपरिवार,नाता सम्बन्ध छोडेर ,व्यवसायीहरु व्यवसाय छोडेर विदेशीएको अवस्था छ। हरेक ठाउँका बिचौलियाको अन्त्य गर्दै राज्यको संरक्षणमा भएको भ्रष्टिकरण, प्रशासनिक संरचनाभित्र मौलाएको संस्थागत भ्रष्टाचार, कार्य सम्पादनको भ्रष्टाचार र संरचनागत भ्रष्टाचार अन्त्य गराउन कार्यक्रम ल्याऊ !
अझै पनि दलसँग जोडिएको कारण दलको खोल ओडेर कति खान्छौ ? भो अब पुग्यो।आज उप्रान्त भ्रष्टाचार विरुद्धका काम नगर ।
सरकारका प्रतिनिधिहरू हो ! नहुने र नपुग्ने कुरा नबोल । बोलेको कुराप्रति उत्तरदायी बन । जनताले देख्ने,बुझ्ने,भाषा र व्यवहारले भ्रष्टाचारको अन्त्य गर । यस्तो बेलामा अर्ती उपदेश होइन समस्याको हल गर्ने प्रयास गर ।मानिस मरेपछि डिप्रेसनको कारणले आत्महत्या गरेको नभन,त्यसको कारण राज्यको असक्षमता होइन र ? विसौं वर्षको प्रयत्नमा हार खाँदा तिमीले के गर्थ्यौ सोच ! समस्यालाई ढाकछोप गर्न यस्ता अनावश्यक कुरा नगरौ ।
तात्कालिक समस्याफरकफरक होलान् तर उपचार,अंशवण्डा,गाली गलौज,अपमान र कुटपिट , ऋणभन्दा फरक देखिन्न। त्यसको समाधान कसरी गर्ने ? यस्ता सयौँ घटना र व्यक्ति छन्, उनीहरूका समस्या पनि सँगसँगै आउँछन् । त्यसैले समस्याको बारेमा बोल्दा विचार पुर्याएर जनतालाई अपमान नहुने गरि बोल !
सरकारमा बसेकाहरू हो ! राज्यको नीति सञ्चालन गर्न जोडिएका पेसेवार राजनीतिक दलहरू हो !
“मानिसलाई मर्ने रहर हुँदैन;मानिस नमरेको प्रहर हुदैन !”
बाच्नको लागि साथ र आश चाहिन्छ ।नेपाली जनताले राजनीतिक दलसँग खोजेको साथ मात्रै हो । जनप्रतिनिधि र सरकार सँग खोजेको भरोसाको आस हो ।तिम्रो प्रशासनले जनताको काम गर्दैन । तिम्रा जनप्रतिनिधिहरूले फोनै उठाउदैनन् । जनताले मर्नु सिवाए अरू केही छ र ?
बानेश्वर, शंखमुल जस्तै अहिले धनगढीमा घटेको घटनाका पात्र थपिए । यस्ता घटना समाजमा किन बढिरहेका छन ? तिनै तहका सरकार र सरकारका प्रतिनिधि संरचनाहरुले सम्बोधन गर्नुपर्ने र दलहरुले सरोकारित समस्याको निदान गर्न पहल गर्नु पर्ने विषय हो कि ? यता पनि सोचौं । तत्काल छानबिन र सम्बोधन गर्न प्रयत्न गर ।
यसरी आत्महत्या,आत्मदाह गर्नपर्ने बाध्यताको मुख्य कारण राजनीतिक अस्तिरता,दलभित्रको अराजकता, गुटबन्दी, कर्मचारीतन्त्र भित्र मौलाएकोअपराध र भ्रष्टीकरण नै हो ।
संविधानबाटै समाजवादको यात्रातय गरेको राज्य संरचनाले देशको राष्ट्रपति, प्रधानमन्त्री,सरकारका मन्त्रीहरू र कर्मचारीतन्त्रमा रहेकाहरूलाई गम्भीरताका साथ सम्बोधन गर्न सक्ने सद्वबुद्धि पलाओस ।
अहिले सडकमा चर्किएको आवाज व्यवस्थापन परिवर्तनपछि सम्बोधन हुन नसकेको अवस्थाले सृजित समस्या हो। सरकारको प्रतिनिधित्व गर्ने स्वार्थमाजोडिएका र तानिएका राजनीति दलको संकिर्णता र सङ्कुचनले समस्या सम्बोधन गर्ने राष्ट्रिय सहमतिको कार्यक्रम बन्न सकेनन् ।सयौं नागरिकहरुले बाँच्ने रहर हुँदाहुँदै मृत्यु वरण गर्न बाध्यताको सम्बोधन गर्नुस प्रधानमन्त्रीज्यु !
सीता ओझा
२०८०/१०/११
प्रतिक्रिया