सेवा प्रवाह र मानव पुँजी विकास गर्न यो सरकारसँग कुनै कार्यक्रम छैन

बेद प्रसाद घिमिरे २०८० माघ ९ गते ११:५८ मा प्रकाशित

राज्यको नालायकीले पल-पल मरिरहेका युवायुवतीलाई औपचारिक रूपमा समाप्त गरेपछि १० लाख दिँदै शहीद मान्न तयार हुनुले मुलुकमा लोकतन्त्र नआएको ठोकुवा गर्न सकिन्छ । संविधानले दिन्छु भनेको या दिने कबुल गरेका मौलिक हकलगायत अन्य अधिकारप्राप्त गर्न पहिला जीवनको ‘बली’ दिनुपर्ने वर्तमान परिवर्तनलाई बचाउन अझै कति रगत बगाउनुपर्ने हो, हाइब्रिड परिवर्तनका ठेकेदारहरूसँग कुनै जवाफ बिहिन छ ।

असफलता विकल्प हुन सक्दैन । नेतृत्व असफल हुन सक्छ तर देश अगाडि बढ्नेछ । मुलुक परिवर्तनको अधिकार जनताबाहेक अरू कसैलाई छैन । सेवा प्रवाह र मानव पुँजी विकास गर्न सरकारसँग कार्यक्रम छैन । किसानले मल माग्दा मल दिन सक्दैन । युवाले काम माग्दा काम दिन सक्दैन । युवायुवतीले हाच्छ्युँ गर्नासाथ व्यवस्था पल्टिने डर देख्छ । सर्वसाधारण मानिस सामान्य ढङ्गले एकै स्थानमा जम्मा हुनासाथ गोली चलाउन तम्सिन्छ । सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापन गर्न सके फजुल खर्च जोगाउन सकिन्छ भन्ने सुन्न चाहँदैन । मुलुकको बचत बढाउने, गरिबलाई संरक्षण गर्दै कृषिलाई जोगाउने बारेमा सोच्न सक्दैन । बलियो आर्थिक वृद्धिबिना सार्वजनिक वित्तलाई दिगो बनाउन सम्भव छैन भन्ने मान्दैमान्दैन । पुँजीगत खर्च गर्न नसक्ने मुलुकले चाहेको आर्थिक वृद्धिदर कहिल्यै प्राप्त गर्ने छैन भन्ने भुलिसकेको छ । यस्तो अवस्थामा पूर्वाधारमा सार्वजनिक लगानी बढाउने र सार्वजनिक ऋण घटाउने कार्यक्रम बेवारिसे बन्नु स्वाभाविक छ । चुनौतीपूर्ण व्यापार वातावरणले लगानी रोकिएको छ । घरजग्गा जस्ता गैरव्यापारयोग्य क्षेत्र थला परिसकेको छ । विदेशी लगानी कुरामै सीमित छ । राष्ट्रिय ठगहरूको चर्को स्वरले युवाहरूलाई थप आक्रोशित बनाएको छ । यी र यस्ता कुराले सिर्जना गरेका समस्याको कारण उठ्ने आवाजलाई सरकारले गणतन्त्र खतरामा परेको सम्झिन्छ ।

युवायुवतीसँग प्रश्न नगर्नुस्, किनकि उनीहरू सत्य बोल्न हतारिएका छन् । उनीहरूको मन जलेको छ । मुखबाट फूल बर्सिने छैनन् । उनीहरूको जिब्रोमा अप्रिय शब्दहरू थुप्रिएका छन्, जसलाई राजनीतिक नेतृत्वले ‘डाइजेस्ट’ गरे पनि मुलुकले स्वीकार गर्न गाह्रो मानिरहेको छ । सन् २०२४ मा रुस, अमेरिका, भारत लगायत थुप्रै देशमा निर्वाचन सम्पन्न हुनेछन् । भारत, अमेरिका र रुसको राजनीतिको बाछिटा मुलुकसम्म अवश्य आउनेछ । हाम्रो समस्या र सम्भावनाहरू आजकै अवस्थामा रहने छैनन् । अप्रिय घटनाको सम्भावना व्यापक छ । विज्ञापन गरेर यथास्थितिलाई जोगाउन सकिँदैन । अनियन्त्रित भ्रष्टाचार, डरलाग्दो बेरोजगारी र कमजोर शिक्षा प्रणालीले अनिष्टलाई स्वागत गरिसकेको छ । यस्तो अवस्था आइसक्दा पनि मुलुकको ‘लक्ष्य’ के हो भन्ने सिंहदरबारलाई थाहा छैन ।

भनिन्छ, चुनौतीहरूले गहिरो र दिगो सुधारको आह्वान गर्दछ । राजनीति निष्क्रिय र विकृत बन्दैछ । बुद्धिजीवीहरू वर्तमानसँग सहमत र सन्तुष्ट छैनन् । विज्ञान र प्रविधिद्वारा समस्याको समाधान गर्ने सोच मुलुकमा सुरु हुन सकेको छैन । मानव अस्तित्वको लडाइँ सत्ता र कुर्सी झगडामा अल्झिएको मुलुकमा समस्या थप चुलिने छन् । कानुन र अदालतले मात्र मुलुकवासीको सुरक्षा गर्न सक्दैन । कृत्रिम बौद्धिकता मुलुक प्रवेश गर्न हतारिएको समयमा सर्वसाधारणको सुरक्षा गम्भीर बन्दै छ । ‘चिनियाँ नेता माओ भन्थे– समय थोरै छ, धेरै गर्न बाँकी छ ।’ स्थिरता र सफलता सित्तैमा प्राप्त गर्न सकिँदैन । यसले त्याग माग्छ । दुर्भाग्य…! हामी त्यागमा विश्वास गर्दैनौँ ।

आयातित उपलब्धिले थला परेको मुलुकमा निर्माणको आन्दोलन चलाउन सक्दैनौँ । डरलाग्दो समस्या र विदेशी हस्तक्षेपलाई सामना गर्न राष्ट्रिय एकता चाहिन्छ । स्वतःस्फूर्त लोकप्रिय विस्फोटहरू चाँडै मर्छन् । राष्ट्रिय रूपान्तरण र निर्माणको लागि समय चाहिन्छ । सावधानीपूर्वक तयारी चाहिन्छ । समयलाई नेतृत्व गर्न सक्ने विचार चाहिन्छ । विचार कार्यान्वयन गर्ने मजबुत सङ्गठन चाहिन्छ । जनसमर्थन प्राप्त गर्न सर्वसाधारण नागरिकको मन जित्ने कार्यक्रम निर्माण गर्नुपर्नेछ । नीतिहरूको निरन्तरता र विकासको लागि आधार तयार गर्नुपर्छ । छलफल, बहस, सहमति निर्माण, समीक्षा र परिमार्जनसहितको राजनीतिक संस्कृति सुरु गर्नुपर्नेछ ।

सत्य र तथ्यसँग वर्तमान पुस्ताले सरोकार राख्न छोडेको छ । भ्रम र प्रोपोगान्डामार्फत राजनीतिमा स्थापित हुन डिजाइन गरिएका कार्यक्रम सर्वसाधारणको प्रिय बनिसकेको छ । शाब्दिक हिंसाले राजनीतिक द्वन्द्व समाधान गर्न सक्दैन भन्ने वर्तमान पुस्ताले बुझ्न चाहेको देखिँदैन । बौद्धिक र राजनीतिक समुदाय पछिल्लो दुर्दशाको उपचार समयलाई छोडेर चुपचाप बसेका छन् । वैचारिक प्रतिस्पर्धालाई निषेध गर्दै डिजिटल सञ्जाल र राजनीतिक सञ्चारमार्फत ‘हामी बनाम उनीहरू’को तथाकथित भाष्य जबर्जस्ती स्थापित गर्ने काम चरम अवस्थामा पुगिसकेको छ ।

मुलुकमा ‘रास्टबादी नेताको खडेरी परेको लामो समय भइसकेको छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा उदाएका अधिकांश राजनीतिजीवीहरू भ्रष्ट र मेरुदण्डविहीन छन् । मूलधारको राजनीति बिचौलियाको नियन्त्रणमा छ । विवादास्पद तत्त्व र अपारदर्शी शक्तिले नियन्त्रणमा रहेको लोकतन्त्रमा पारदर्शिता शब्द असान्दर्भिक बनिसकेको छ । शिष्टता, नैतिकता र सद्गुणलाई हाम्रो लोकतन्त्रले चिन्दैन । घृणाको आँधीले मुलुकलाई ढाकेको छ ।
युवायुवती मुलुकको अवस्था र भविष्यप्रति निराश छन् । अवसर, सुरक्षा र न्यायको अवस्थाप्रति असन्तुष्ट छन् । अर्बौंको ठगी भएको छ । ठगहरू फरार छन् । पीडितहरूको क्रोध बढ्दै छ । शासकहरू समस्या समाधान गर्न सक्दैनन् । जतिसुकै अलोकप्रिय भए पनि कुर्सी त्याग्न चाहँदैनन् । दमनमार्फत कुर्सीमा टिक्ने कोसिस गरिरहेका छन् । मौलिक अधिकारका संरक्षकहरू तमाम घटनालाई अनदेखा गरिरहेका छन् ।

सिंहदरबारलाई राम्रोसँग थाहा छ, उसको हैसियत र औकात कस्तो छ । फगत कुर्सीकेन्द्रित राजनीतिको फ्याक्ट्रीबाट जन्मिएका राजनीतिजीवीले सिंहदरबारलाई जनताप्रति उत्तरदायी बनाउन करिब असम्भव छ । कुर्सी भनेकै अशान्ति, तोडफोड, आगजनी, बन्द, हडतालबाट प्राप्त प्रतिफल हो भन्ने स्थापित भएको मुलुकमा मौलाएका तमाम असन्तुष्टिको उपचार आयातित उपलब्धिसँग नभएको खुलिसकेको छ । राज्यविरुद्ध नागरिकले प्रश्न गर्नासाथ अतिरिक्त बल र हिंसालाई समाधान मान्ने र ठान्ने सिंहदरबारको कार्यशैलीले सर्वसाधारण नागरिकलाई कठोर निर्णय लिन झक्झकाइरहेको छ ।

प्रतिक्रिया