बाध्यताले ९० प्रतिशत वैदेशिक रोजगारीमा

इनेप्लिज २०८० माघ ९ गते २:५० मा प्रकाशित

बेद प्रसाद घिमिरे-केही दिनअघि एक राष्ट्रिय पत्रिकामा एउटा हेडलाइन आएको थियो– देश नै विदेश गइरहेको । वास्तवमा दिनदिनै बाहिरिँदै गरेका युवाहरूको जमातले देशको भविष्य कस्तो हुने भन्नेतर्फ सोच्न बाध्य बनाउँछ । यति मात्रै होइन हामीले वर्षौंदेखि भन्दै आइरहेको आजको बालबालिका भोलिका कर्णधार भन्ने उक्तिलाई थोरै परिमार्जित गरेर विदेशका कर्णधार भन्नेतर्फ हामी लाग्नुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको प्राङ्गणमा गएपछि यस्ता दृश्य धेरै देख्न पाइन्छ । कसैको बच्चा रोइरहेको हुन्छ, कसैका आमाबुबा, पत्नी रोइरहेकी हुन्छिन् । अनेकन हृदयविरादक दृश्यहरू देख्न सकिन्छ । तर जानेको बाध्यता हुन्छ उसलाई वैदेशिक रोजगारमा जानैपर्ने हुन्छ । यस स्थितिमा आफ्नो रहरले १० प्रतिशत जान्छन् भने बाध्यताले ९० प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेका छन् । कतिलाई त आफू त्यो देशमा गएर के काम गर्ने हो भन्ने पनि थाहा नहुने रहेछ । रोजगारीमा जाने व्यक्तिहरूसँग सामान्य रूपमा सोधपुछ गर्दा ‘…अब हेरौँ त्यहीँ नै केही काम दियो भने गर्ने’ जस्तो उत्तर पनि हामीले पाएका थियौँ । के स्वदेशमा रोजगार नदेखेर विदेश जाँदै हुनुहुन्छ ? भनेर सोध्यौँ भने सबैको साझा उत्तर आउँछ– नेपालमा केही छैन, यहाँ बसेर केही हुन्न, नेताहरूले देश बिगारे, उनका आफन्तीहरू बने तर जनता बनाएनन्… ! यस्ता उत्तर धेरै आउने गरेको छ । यसरी नेतालाई दोष दिएर विदेसिनेहरू दिन-प्रतिदिन बढ्दो क्रममा छन् । गाउँघर युवाहरूले रित्तो हुने अवस्था नेपालमा भइसक्यो । काम गरेर खान डर र लाज मान्नु हुँदैन भन्छन् तर कति युवाहरू देशमा काम गर्न लाज लाग्ने त्यही काम विदेशमा गर्यो भने सम्मान पाइने भन्दै बताएका थिए । अनेकन दृश्य देख्न पाइन्छ ।
अनुशासन र सुशासन यी दुई महत्वपूर्ण शब्द सबैको जीवनमा लागू हुन्छ । अनुशासनले व्यक्तिविशेषको चरित्र मापन गर्छ भने सुशासनले देशको नीति बलियो भन्ने कुरा बताउँछ । देशको रेमिट्यान्स धानेको वैेदेशिक क्षेत्र साँच्चै सुशासनको अभावमा हिँडिरहेको छ । सरकार फेरेसँगै नयाँ-नयाँ नीतिहरू आउने गरेका छन् । यसमध्ये सबैभन्दा ठूलो फ्रि भिसा फ्रि टिकट प्रमुख हो । सरकारले फ्रि भिसा फ्रि टिकटको नीति ल्याएपनि युवाहरू बढी रकम तिरेर जान बाध्य छन् । यस सन्दर्भमा सरकारले अनुगमन नगरेको हो या युवाहरूले नै सकरकारी नीति बुझ्न नखोजेको हो भन्ने प्रश्न आउँछ । वैदेशिक रोजगारमा जाने तीन तरिका- पहिलो संस्थागत रुपमा जस्तै मेनपावरहरूबाट जाने, सरकारी रूपमा जस्तै कोरिया, इजराल र जापानलगायत देशमा सरकारले नै खुलाएको काम र व्यक्तिगत तरिकाबाट यसअन्तर्गत आफ्नो चिनेजानेको व्यक्तिहरूबाट पनि वैदेशिक रोजगारीमा जाने गरेको देख्न पाइन्छ । मेनपावरहरूले अत्याधिक मात्रामा पैसा लिने र जाने व्यक्ति चर्को व्याजदरमा ऋण लिन बाध्य हुने । यस्ता समस्या अझैसम्म पनि कायम नै छ । यसैबीच वैध र अवैध बाटो भएर जानेहरूको पनि जमात छ । श्रम स्वीकृति नलिइ अर्काको पासपोर्टमा खाडीमा पुगेको घटना पनि हामीले सुन्न र देख्न पाउँछौँ । यति मात्र होइन नेपालमा काम एउटा विदेशमा अर्को काम लगाउने गलत प्रवृत्ति पनि धेरै छ । यो सबै समस्यामा राज्यको अनुगमन फितलो देखिन्छ । श्रममन्त्री जो आएपनि कमदारको हितमा बोल्छन् या मेनपावरको हितमा बोल्छन्, सबैको चासोको विषय हुन्छ तर श्रममन्त्रीहरूको आउनेजाने क्रमले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सकेको देखिन्न ।

प्रतिक्रिया