दाङमा क्रिकेट लिग-२०८० (डिसिएल-२) को दोस्रो संस्करण फागुनमा हुने

इनेप्लिज २०८० माघ ८ गते २२:४४ मा प्रकाशित

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ दाङ क्रिकेट लिग-२०८० (डिसिएल-२) को दोस्रो संस्करण फागुनमा हुने भएको छ ।

दाङ क्रिकेट सङ्घले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको दाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिए । उनका अनुसार प्रतियोगिता खेल्ने टिमहरूले अक्सनमार्फत खेलाडीहरू खरिद गर्नुपर्ने व्यवस्था गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराए ।

लिगमा देशभरका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको बताउनुभयो । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु-१६ का २ जना, यु-१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एक/एक जना मर्की र टिम कप्तानका रूपमा टिम मालिकहरूले अधिकतम मूल्यमा आफै छनोट गर्न पाउने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट सङ्घका सचिव सज्नु केसीले जानकारी दिए ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरूलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको संयोजक केसीले जानकारी दिए ।

प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने अध्यक्ष मजगैयाँले बताउनुभएको छ । लिगका विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने भएको आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणमा प्रत्येक टिममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका दुई जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने व्यवस्था गरिएको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टिम बनाइएको थियो । हरेक टिमका खरिद गर्दा न्यूनतम ८४ हजारदेखि अधिकतम १ लाख ४८ हजार रुपैयाँ खर्च गर्न सक्ने सीमा तोकिएको भए पनि अहिले यसको दायरा बढाइएको छ ।

फागुनमा हुन लागेको दोस्रो संस्करणको डिसिएल प्रदेशमै खेलाडी खरिद गरेर क्लबमार्फत व्यावसायिक प्रतियोगिता गर्दा खेलको विकाससँगै खेलाडीले व्यावसायिक खेल प्रदर्शन गर्न पाउने वातावरण बनेको छ ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्ला हो भनेर चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यस प्रकारको प्रतियोगिताले देशभरका खेलाडी जिल्लामा आउँदा यहाँको खेलकुदको बारेमा थाहा पाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नाम चलिसकेका खेलाडीहरूले नाम दर्ता गर्नका लागि समय तोकिने भएको छ । जसका लागि आयोजकले चाँडै निर्णय गरी फ्रेन्चाईजहरुमार्फत फाराम खुलाउने तयारी गरेको छ ।

लिगमा साबिककै घोराही टाइगर्स, दंगाली लायन्स, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच वटा फ्रेन्चाईज टिमहरू सहभागी हुनेछन् । पहिलो संस्करणको दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले जितेको थियो ।

प्रतिक्रिया