पछुतो (लघुकथा)

कोमल प्रसाद अधिकारी,लम्की,कैलाली २०८० माघ ८ गते २२:३२ मा प्रकाशित

“बुवा, त्यसमा त एक महिनाभित्रै पासपोर्ट पेश गर्ने भनेको छ। कहिले जाने त पासपोर्ट बनाउन?” धेरै समयदेखि विदेश जाने कुरामा कन्भिन्स गर्न नसकेको छोरोले खुशी हुँदै बुवा कुन्साङलाई सोध्छ।

बुढेसकालमा एक्लै हुने डरले एक्लो छोरालाई बल्ल बल्ल विदेश नपठाउने कुरामा झण्डै सहमत बनाईसकेका कुन्साङले ‘स्वदेशमै बसेर गर्न सकिन्छ महिनामा लाखौँ आम्दानी’ शीर्षकको लेख छोरालाई पढ्न दिएको पत्रिका हत्तपत्त खोसेर हेर्छन्।उनलाई पछुतो हुन्छ पत्रिकाको बीचमा बल्ढ्याङ्ग्रे अक्षरमा लेखिएको “फ्रि भिसा,फ्रि टिकट” को म्यान पावर कम्पनीको विज्ञापन छोरालाई दिनुअघि नदेखेकोमा।

प्रतिक्रिया