युवा विदेश पलायनको मुख्य कारण यहि फोहोरी राजनीति हो!

बेद प्रसाद घिमिरे २०८० माघ ७ गते १२:५८ मा प्रकाशित

बेद प्रसाद घिमिरे -नेपालमा जन्मी-हुर्की समाज र देशका लागि योगदान गर्ने बेला देश नै छोडेर भविष्यको खोजीमा विभिन्न पराई देशमा जानु पर्ने बाध्यता हो, रहर भने एकांश हुन सक्ला । तर, लगातार देशबाट पलायनको यस आंकडाले राम्रो संकेत गरेको छैन नै ।

त्यसो त विदेश जाने प्रचलन धेरै पहिलेदेखि नै विद्यमान थियो । परिवारको जीविका, बुढेसकालमा आराम र सुरक्षित भविष्यको सपनाले वैदेशिक रोजगारीमा जाने प्रचलन छँदैथ्यो । तर, अहिलेको जस्तो दिनहुँ र बाक्लो संख्यामा थिएन, त्यसमाथि पनि विदेशतिर नै कमाउने र उतै जीवन गुजार्ने चलन त निकै थोरै थियो । परिवारै विदेश पलायन हुने त झनै कम थियो । यही रफ्तार रहे, यो संख्या अझ विकराल हुँदै जाने र देश केवल अशक्त एवम् वृद्ध-वृद्धा बस्ने थलो मात्रमा सीमित हुने अवस्था अब टाढा हुने छैन ।

विदेश पलायनको मुख्य कारण भने मुलुकमा शासन व्यवस्थामा अस्थिरता, बेथिति, फोहोरी राजनीति, भ्रष्टाचार, अनाचार, दुराचार, माफियागिरी, तस्करी र नेताहरूको खुलेआम लूटतन्त्र नै हो । सत्ता र शक्तिमा भएकाहरूले जे पनि गर्न छुट अनि सर्वसाधारण, इमान्दार नागरिकले सधैं सकसपूर्ण जीवन व्यतीत गर्नुपर्ने विवशता यसको नेपथ्य कारण हो । यसमा अबचाहिं सत्ताको बागडोर सम्हालेका राजनीतिका नेतृत्वगण, स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रका उच्चपदस्थ, सरोकारवाला सबैले आ-आफ्नो इमान-जमान ठीक ठेगानमा नराख्ने हो भने भोलिका दिनमा तिनले ठूलै मूल्य चुकाउनुपर्ने निश्चित छ । यसतर्फ ध्यान-दृष्टि नपुऱ्याउने गतिछाडा र मतिभ्रष्ट नालायकहरू विरुद्ध अबका दिनहरू सहज हुने छैनन् नै । यसलाई चेतावनीका रूपमा बुझ्न नचाहे वा अटेर गरे नागरिकलाई निरन्तर तेजोहरण र जीविकाहरण गर्ने तिनले पनि पलायनको दिन कुर्न अब धेरै समय नबिताउनु पर्ला । चेतना भया !

प्रतिक्रिया