राजा महेन्द्र र बी पी

बेद प्रसाद घिमिरे २०८० माघ ५ गते १९:०४ मा प्रकाशित

बेद प्रसाद घिमिरे -राजा महेन्द्र र प्रधानमन्त्री बीपीका बीच अनौठो सम्बन्ध थियो । बीपीको नेतृत्वको सरकार भङ्ग गरेर सुन्दरीजलमा नजरबन्द राखेको समयमा पनि राजा महेन्द्रले बेलाबेलामा राजकाजमा बीपीको सल्लाह-सम्मति मागिरहेका हुन्थे भन्ने चर्चा पनि छन् ।

आत्मवृतान्त्त कितापमा पनि त्यसको छनक पाइन्छ । परिच्छेद ५९ मा एक रोचक घटनाको उल्लेख छ । बेलाइती राजदूत स्कोप्स आफ्नो कार्यकाल समाप्त गरेर जान लागेको बेलामा सुन्दरीजलमा बीपीलाई भेट्न पुगे । बीपी भन्छन्- ‘दुई वर्ष भइसकेको थियो पञ्चायत व्यवस्था बनेको । तल्ला तहका पञ्चायत गठन भइसकेको थियो । त्यससम्बन्धी कानूनहरू पनि बनिसकेका थिए, तर संविधान बनिसकेको थिएन ।’ संविधान बनाउन राजाले बीपीलाई पर्खेका थिए, उनी केवल पञ्चायत नाम कायम राखेर बाँकी सबै संविधान बीपीले नै आफ्नो सोचअनुसार बनाउन् भन्ने चाहन्थे । यो कुराको प्रस्ताव बीपीसँग राम्रो सम्बन्ध भएको बेलाइती राजदूतमार्फत् बीपीसमक्ष पठाएका थिए ।

बीपीलाई राजा भेट्न चाहेको सङ्केतको रूपमा स्कोप्सले भनेका थिए- ‘राजा संविधान बनाउने मुडमा छन् । सोचिरहेका छन् संविधान बनाउन । तपाईं राजालाई किन मद्दत नगर्ने ? र, राजाले भनिसके, राजाको आफ्नो अहङ्कार हुन्छ । उनले पञ्चायत भनिसके । त्यसो हुनाले, उनलाई संविधानको नाम लेख्न दिनुस् र तपाईंले संविधानका प्रावधान लेख्नुस् । मेरो यस सुझावमा तपाईं सहमत हुनुभयो भने म राजालाई भेट्न सक्छु, यद्यपि मैले हिजोको भेटघाटमा बिदा लिइसकेको छु । म काठमाडौंबाट हुन लागेको आफ्नो प्रस्थानलाई स्थगित गर्न सक्छु ।’ बीपीले यो कुरा मानेका भए के अवस्था हुन्थ्यो भन्ने कुरा अहिलेसम्म विवेचन नै नभएको विषय हो । यदि यो हुन सकेको भए २०१९ को संविधान सम्पुर्णरूपले नेपाली काङ्ग्रेस अझ बीपीले नै मस्यौदा गरेको हुने थियो वा अघिल्लो संविधानमै पनि केवल केही स्थानमा पञ्चायत उल्लेख गरेर संशोधन हुन पनि सक्ने थियोे कि ?

प्रधानमन्त्रीको रूपमा बीपीको भारतको औपचारिक भ्रमणभन्दा पहिले राजाको देश भ्रमणमा बीपी पनि साथै गएका थिए । परिरच्छेद ४६ मा यो घटनाको उल्लेख छ । यो भ्रमणमा नेपाली काङ्ग्रेसको झण्डा लिएर स्वागतमा नजिक आएकाहरूबाट झण्डा शेरबहादुर मल्लले खोसेको कुरा उल्लेख छ । नेपाली काङ्ग्रेसको झण्डा लिएर आउनेहरू कुनै न कुनै रूपले पक्कै नेपाली काङ्ग्रेससँग सम्बन्धित थिए । राजा नेपाली काङ्ग्रेसका मात्र होइनन् त्यसैले त्यहाँ दलको भन्दा राष्ट्रिय झण्डा हुन उपयुक्त हुने थियो । तर बीपी यहाँ भन्छन्, ‘राष्ट्रिय झण्डा लिएर स्वागत गर्न आउने कुरा त हुँदैन थियो ।’ प्रधानमन्त्री नेपाली काङ्ग्रेसको अध्यक्ष पनि भएकाले बीपीको भ्रमणमा नेपाली काङ्ग्रेसको झण्डा स्वभाविक लाग्ने थियो तर राजाको स्वागतमा राष्ट्रिय झण्डा ल्याउन हुन्नथ्यो भन्ने कुरा अलिक मिल्दो भने लाग्दैन । त्यो भ्रमणमा बीपीका विरोधीहरूलाई नभेटेर बरु बीपीले नै भन्नुपऱ्यो, ‘सरकारका क्याम्पमा जो-जो भेट्न आउँछन् भेट्नुपर्छ ।’ अनि बल्ल राजाले सबैलाई भेट्न लागे ।कितापको परिच्छेद ४९ मा गण्डक सम्झौताको कुरा छ । राजालाई यस सम्झौतामा के भइरहेको छ त्यसको औपचारिक जानकारी गराइएको रहेनछ । उनले आफै बुझ्दा केही कमजोरी भएको महसूस भएछ । यस कुरामा बीपीको ध्यान आकृष्ट गर्न गोदावरीमा चिया खान लिएर गए । गण्डकको नक्सा फैलाएर त्यस विषयमा छलफल भयो । राजाले माछा मार्ने हकको कुरा निकाले । यो वास्तवमा त्यस क्षेत्रको स्वामित्वको कुरा थियो जसलाई ‘अरु केही पाएनन् राजाले, त्यो माछा मार्ने हकको प्रश्न उठाए’ भनेर हल्का रूपमा लिए । परिच्छेद ५१ मा अर्को घटनाको उल्लेख छ, त्यो हो- इजरायल र पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापित गर्ने बारेको ।

पाकिस्तानसँग दौत्यसम्बन्ध स्थापित गर्नुभन्दा पहिले बीपीले नेहरूको अनुमति लिए । नेहरूले भने, ‘अब नजिकैको पाकिस्तानसँग नगर्दा हाम्रै दबाबले नगरेको हो भनेर हामीलाई अप्ठ्यारो, तिमीहरूलाई पनि राम्रो हुँदैन । त्यो सम्बन्ध गरेकै असल छ ।’ यसले बीपीलाई पाकिस्तानसँग दौत्य सम्बन्ध जोड्न हरियो झण्डा देखायो । इजरायलसँग भने राजा त्यसबेला अरेवियन मुलुकको भ्रमणमा भएको हुनाले आफ्नो त्यो भ्रमण नसकिउन्जेल दौत्य सम्बन्ध नगर्न राजाले बीपीलाई पटक-पटक आग्रह गरे । यसलाई राजाको अनावश्यक हस्तक्षेप सम्झन पुगे । यो दौत्य सम्बन्ध स्थापित हुनेवित्तिकै राजाले अरेवियन मुलुकको भ्रमणलाई निरन्तरता दिन सक्ने वातावरण रहेन । कार्यक्रम बनिसकेको इजिप्टको भ्रमण बीचैमा रद्द गरेर फर्कनु पऱ्यो।

प्रतिक्रिया