एउटा प्रेम कथा

इनेप्लिज २०८० माघ ५ गते २:०६ मा प्रकाशित

एकजना कोमा (अचेत अवस्था)मा रहेकी, तर चटक्क नेपाली पहिरनमा सजिएकी महिलालाई व्हिल चेयरमा कहिले
बगैचामा त कहिले मर्निङ्ग वाकमा, कहिले ठूला किनमेल गर्ने पसलहरुमा त कहिले पार्कहरुमा घुमाएको देख्दा तपाईलाई
कस्तो लाग्ला? तपाईले के सोच्नु होला? धेरैले त धेरै कुराहरु सोच्दा हुन् , अलिकन आश्चर्य, अलिकन द्विविधा अनि
अलिकन मिस्श्रित भावका दृष्टिकोण घुमाउदा हुन् र एकछिन पछि बिर्सिदा पनि हुन्।

तर यो क्रम एक दिन होइन, दुइ दिन होइन, एक महिना होइन, दुइ महिना होइन, एक बर्ष होइन, दुइ बर्ष होइन, सात
सात बर्षसम्म चलि रह्यो र चलि नै रह्यो बिना थकान।

यो कथा अमेरिका स्थित भर्जिनियाको वुडब्रिज सहरको हो।

एकजना महिला कोमामा छिन, अर्थात् अचेत छिन। नत उनले कतै घुमाएको नै थाहा पाउछिन् , नत बोल्न सक्छिन, नत
कुनै हाउभाउ गर्न सक्छिन नत हेर्न नै सक्छिन। यी सबैको बाबजुद पनि पति होमनाथ सुबेदीले आफ्नो अर्धांगिनीलाई
यसो गर्नुको के नै अर्थ थियो र?

मेरो यो प्रश्नको उत्तर होमनाथजीको एउटै थियो, “उनलाई फूलहरुले भरिएका बगैचा घुम्न मन पर्थ्यो, कहिले काही पसल
जाउँ भन्थिन र मलाई अहिले पनि बिश्वास छ उनलाई अझै पनि यी कुराहरु मन पर्छन्। “

उनको यो उत्तरप्रति उनको आफ्नो अर्धांगिनी प्रतिको प्रेमभावमा नतमस्तक हुनु सिबाय अरु प्रश्नहरु सोध्ने हिम्मत नै
भएन।

यी त थिए होमनाथ सुबेदीले गरेका घर बाहिरबाट देखिने दृश्यहरु।

उता घर भित्र होमनाथ सुबेदीका अघि समस्याहरुका बिशाल पहाडहरु खडा थिए। आफ्नी अर्धांगिनीको दैनिक “डाएपर “
बदल्नु , सफा राख्नु, उनलाई मन पर्ने खाना पकाउनु, खाना ख़ुवाउनु , लुगा फेरीदिनु, नुहाईदिनु लगायत एकजना
गृहिणीले गर्नु पर्ने सारा कुराहरु गर्नु एकजना श्रीमानको लागि हाम्रो नेपाली समाजमा निश्चय पनि सजिलो कुरा होइन।
होमनाथ सुबेदीले यो पहाड फोर्ने हिम्मत गरे र सजिलै पार पनि भए।

मैले मेरा अग्रज होमनाथ सुबेदीजीलाई सोधेको पनि थिएँ र भनेको पनि थिएँ, “होमनाथजी, यो ठाउमा त थुप्रै नर्सिङ्ग
होमहरु छन्, हस्पिस सेवाहरु छन्, नर्सहरुको सेवाहरु उपलब्ध छन्, यी सबै सेवाहरुको उपभोग किन नगरेर आफै खटिनु
भएको छ?”

होमनाथजीको उत्तर थियो, “यिनले जिन्दगीभर मेरो सेवा गरिन् , अहिले भगवानको कृपा भनौ, मैले यिनको सेवा गर्ने
मौका पाएको छु। म आफुलाई भाग्यमानी सम्झेको छु।”

उनको यो प्रेम र समर्पण देखेर नतमस्तक भए र आफैले आफैलाई प्रश्न गरें, “होमनाथजीले ठाउमा म भएको भए के मैले
होमनाथजीले जस्तै गर्न सक्थे?”

यो प्रेम र समर्पण हामी सबैकोलागि प्रेरणा र सिकाई पो हो कि ?

-प्रकाश नेपाल

प्रतिक्रिया