तुलना – कथा

इनेप्लिज २०८० माघ ४ गते ११:२० मा प्रकाशित

तुलसीको छेउमा उभिएर गुलाफले भनेछ, ” मसँग भएको रङ्ग र सुन्दरताले मलाई सबैको मन मस्तिष्कमा सजाएर राखेका हुन्छन् ।नौ जवानहरुले मलाई प्रेमको प्रतीक मान्दै हरेकको प्रणयको शुभ सङ्केतको रुपमा मलाई टिपेर जीवनको सहयात्राको प्रस्ताव राख्छन् । संसारभर सबै भन्दा धेरै रङ्ग र रुप भएकोले मलाई नै धेरैले टिप्ने  गर्छन् ।” 

 तर कलमले गुलाफको एकोहोरो  मपाँइत्व स्विकार्दै स्विकादैन । नस्विकार्ने मात्रै होइन, फरक तर्क तेर्साउँदै भन्यो, 

” हेर गुलाफ!  म कमल हुँ । पानीमा फुल्छु । तिमी त जमिनमा यत्रतत्र भेटिन्छौ । जताततै भएकोले तिमीलाई  टिप्न सजिलो छ। तिमीलाई राम्रो भएर होइन जहाँतहिँ भेटिने भएर टिपेका हुन्। म त तिमी भन्दा धेरै राम्रो छु।म नराम्रो भएको भए, हिलो,पानीको प्रवाह नगरि मलाई टिप्न जाँदैन थिए। म फुलहरुमा सबैभन्दा सुन्दर छु।त्यसैले मलाई खोजी खोजी टिपेका हुन् ! त्यस‌ले तिमीले सस्तो फुर्ति नगर !” 

 छेउको तुलसी धुलो,माटोले फुर्सिएको थियोे तरपनि।दुबैको तँछाडमछाडले उसको मनमा चसक्क छोयो ।

तुलसीले गुलाफ र कमलतिर हेर्दै  केही भन्न खोज्दै थियो । तुलसी बोल्नै नदि दुबैले थर्काए । गाली खाँदै गरेको तुलसीले विस्तारै भन्यो,” तिमीहरू यस्तो अनावश्यक बहस नगर ! तिमीहरू दुबै राम्रा छौ । कोही कसैलाई कसैसँग तुलना गर्न हुँदैन! एउटाले अर्कोलाई  खसाल्ने काम नगर ! ” 

तुलसीको कुरा सुनेर गुलाफ र कमल दुबैले तुलसीलाई फेरि झपार्दै भने, ” तँ चुप ….तँसँग न लाली,न जवानी,न रुप न रङ्ग छ । फुर्ति लगाउँछ भन्दै  उल्टोतिर फर्कँदै ओठ लेब्राए ।

त्यहिविचमा  अरबपति,विद्यार्थी र पुजारी तीनजना आफ्नै सुरमा हतारिँदै बाटोमा फुलेको गुलाफ र कमल टिप्दै तुलसीको छेउमा पुगे ।   आफुले हातको लोहोठामा बोकेको पानीले तुलसीलाई सफा गरे र तुलसीलाई  आफ्नो हातमा बोकेको गुलाफ र कमल चढाउँदै  तुलसीतिर प्रणाम गर्दै भने,

 ” हे इश्वर ! मेरा सबै दुख,पिर,चिन्ता दुर गरेर मलाई सुखी र सम्पन्न बन्ने शक्ति  दिनुस् ।”

ती मानिसहरुको त्यो  श्रद्धा र भक्ति देखेर गुलाफ र कमल  तुलसीतिर नै नफर्कि चुपचाप  भागेछन् । 

सीता ओझा

२०८०/०१/०४

प्रतिक्रिया