बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय ठहर गरिएका सन्दीपलाई कहिलेसम्म पक्राउ गर्न मिल्दैन ? (भिडियो सहित)

इनेप्लिज २०८० पुष २८ गते १६:३१ मा प्रकाशित

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बुधवार ८ वर्ष कैद सजाय गर्‍यो । बलात्कार मुद्दामा यसअघि दोषी ठहर गरिएकामा अदालतले एक दिनअघि सजाय निर्धारण गरेको हो । सन्दीपले अब जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् ।

सन्दीप तत्काल थुनामा जानु पर्दैन । उनले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनेछन् । तर यो थुनछेक आदेशमा धरौटी वा साधारण तारेखमा छुटेकाको हकमा मात्र लागु हुन्छ । थुनछेक आदेशले थुनामा रहेकाको हकमा थुनामै रहेर पुनरावेदन गर्नुपर्छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले अब फैसलाको पूर्ण पाठ तयार गर्नेछन् । पूर्ण पाठ तयार भएर प्रमाणीकरण भएपछि मात्र पुनरावेदन गर्ने बाटो खुल्छ । न्यायाधीशले पूर्ण पाठमा पुनरावेदनको म्याद विपक्षीलाई दिनु भन्ने उल्लेख गर्छन् । उक्त म्याद अदालतले विपक्षीलाई पठाउँछ ।

विपक्षीले म्याद बुझेपछि पुनरावेदनको बढीमा एक सय दिन (७० दिन नियमित म्याद र ३० दिन गुज्रेको म्याद थाम्ने)को म्याद सुरु हुन्छ । उक्त अवधिमा सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरिसक्नुपर्छ । त्यो अवधिमा पुनरावेदन नगरेमा सन्दीपले जिल्ला अदालतको फैसला स्वीकार गरेको ठहरिन्छ र त्यसपछि उनी जति बेला पनि पक्राउ पर्न सक्छन् ।

https://www.youtube.com/watch?v=cib_ihP0iXU

प्रतिक्रिया