बम्जन पक्राउ पर्नुको मुख्य कारण बाल यौन दुराचार हो। बम्जनबाट आफू पीडित भएको भन्दै एक किशोरीले जाहेरी दिएकी थिइन्। बम्जनले आश्रममा आनी बन्न आएकी किशोरीलाई पटक–पटक बलात्कार गर्नुका साथै मानसिक र शारीरिक यातना समेत दिएको आरोप छ।
पीडित भनिएकी किशोरीसँग यसअघि नै प्रहरी तथा सरकारी वकिल पक्षले बयान लिएको थियो। बयानका क्रममा १४ वर्षकी ती किशोरीले बम्जनको ज्यादतीबारे बताएकी थिइन्। आफूमाथि पटकपटक बलात्कार भएको र बलात्कार सहन नसकेर आत्महत्याको प्रयास समेत गरेको बताएकी थिइन्।
उनै बम्जनसहित तीन जनालाई प्रतिवादी बनाउँदै २०७७ असारमा जिल्ला अदालतमा बाल यौन दुराचारको मुद्दा दायर भएको थियो। जसमा बम्जनलाई १४ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदाबी गरिएको थियो।
बयानमा किशोरीले आफूलाई बम्जनले पटक–पटक बलात्कार गरेको र घटना अरुलाई जानकारी भएपछि त्यसलाई लुकाउन आफूमाथि ८ लाख रुपैयाँ चोरीको आरोप लगाएको बयानमा बताएकी छन्। गुरु मानेको व्यक्तिबाट बलात्कृत भएपछि आफूले आश्रम भित्रै आत्महत्या गर्ने प्रयास पनि गरेको तर साथीहरुले थाहा पाएर आत्महत्या सफल हुन नसकेको बयान उनले दिएकी छन्।
अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले आफू आश्रमबाट निस्कन चाहेको बताउँदा पटक–पटक कुटपिट गर्ने अनि मानसिक र शारीरिक यातना दिइएको पनि उल्लेख गरेकी थिइन्। बलात्कारपछि बम्जनकी श्रीमती दीपशीखा बम्जनले समेत कुटपिट गरेको बयानमा उल्लेख छ।
प्रतिक्रिया