राजनीतिक संस्कार नै परिवर्तन गर्नुपर्ने बाध्यता दलहरुमा देखिँदैछ!

बेद प्रसाद घिमिरे २०८० पुष २६ गते ११:२४ मा प्रकाशित

००७ सालपछि महेन्द्रकालीन राष्ट्रवादले समाजवादी अर्थनीतिलाई त पछ्यायो तर यसको प्रतिफल सीमान्त वर्गसम्म पुग्न सकेन। बीपी कोइराला र राजा महेन्द्रको विचारको बेमेल यसैमा थियो। राजा महेन्द्रको समाजवादलाई बीपीले स्वीकार नगर्नु, बीपीको समाजवादी अर्थशास्त्रलाई महेन्द्रले राजनीतिक हस्तक्षेप मान्नु तत्कालीन राजनीतिक परिवर्तनको लागि अभिसाप प्रमाणित भयो। जसलाई आजसम्म हामीले खेप्नुपरेको छ।

२०४७ को परिवर्तनपछि नेपाल पूर्ण रुपमा पुँजीवादी अर्थतन्त्रको हिमायती त बन्यो। तर यो अर्थनीतिले विकास र परिवर्तनलाई आत्मसात गर्न सकेन। माओवादी द्वन्द्वले समाजशास्त्रीय विभेद र सांस्कृतिक परिवर्तन त ल्यायो तर दह्रो अर्थनीतिलाई टेक्न सकेन। कहिले पुँजीवादी अर्थतन्त्रलाई स्वीकार गर्ने कहिले समाजवादी चिन्तन राख्ने दोहोरो चरित्रले पार्टीहरु स्पष्ट भएनन्। किनकी, चीन र भारतको दुवै अर्थनीतिलाई स्वीकार गर्नुपर्ने बाध्यता शासन र सत्ता दुवैमा थियो। अद्यापि छँदैछ।

२०४७ को परिवर्तनपछि नेपाल पूर्ण रुपमा पुँजीवादी अर्थतन्त्रको हिमायती त बन्यो। तर यो अर्थनीतिले विकास र परिवर्तनलाई आत्मसात गर्न सकेन। माओवादी द्वन्द्वले समाजशास्त्रीय विभेद र सांस्कृतिक परिवर्तन त ल्यायो तर दह्रो अर्थनीतिलाई टेक्न सकेन। कहिले पुँजीवादी अर्थतन्त्रलाई स्वीकार गर्ने कहिले समाजवादी चिन्तन राख्ने दोहोरो चरित्रले पार्टीहरु स्पष्ट भएनन्। किनकी, चीन र भारतको दुवै अर्थनीतिलाई स्वीकार गर्नुपर्ने बाध्यता शासन र सत्ता दुवैमा थियो। अद्यापि छँदैछ।विश्वव्यापीकरण, उदारीकरण, निजीकरणले नेपालको अर्थनीतिलाई परिवर्तन गर्छ भन्ने ठूलो आशा थियो। तर यसैभित्र नेपाली राजनीति अल्मलियो। भाइवाद, परिवारवाद, भ्रष्टाचार, राजनीतिक प्रभुत्वमा शासकहरु चुर्लुम्म डुबे।
२०४७ सालपछि युवाहरूको हातमा राजनीतिक नेतृत्व आउने आशा थियो तर आएन। त्यही पुरानै नेतृत्वले राजनीति बर्चस्व कायमै राख्यो। परिवर्तित नेतृत्वले युवाहरूको चाहना समेट्न सकेनन्।

प्रत्यक्ष रुपमा राजनीतिभित्र ठूलाठूला भ्रष्टाचार देखिए। यसैको ढाकछोप गर्न शासकहरु लागिराखे। दलालीतन्त्रले उच्च सत्ता र शासक सबैतिर टपक्कै ढाक्यो। ढाकिरहेको छ। सुधार गर्ने बलियो नेतृत्व देखिएन। जति आए तिनीहरुलाई पनि कि त राजनीतिले कि त पद-प्रतिष्ठा र दबाबले किच्यो। राजनीतिक स्वार्थ र सोचभन्दा नेतृत्व माथि आउन नसक्नाले ३० वर्षमा ठूलो आलोचना खेप्नुपर्‍यो।

आजको पुस्ता राजनीतिप्रति उदासीन देखिँदैछ। व्यक्तिगत स्वतन्त्रताको वकालत गर्ने यो पुस्ता अन्याय सहन सक्दैन। देखेको कुरा प्रष्ट भन्छ। राजनीतिक दाउपेच मन पराउँदैन। जान्दैन। यो पुस्ता नतिजामा विश्वास गर्छ। धर्म र संस्कृतिप्रति उदार छ। राजनीति र प्रशासन भित्रको भ्रष्टाचारको खुलेर विरोध गर्छ। त्यसैले यो पुस्ता र पुरानो पुस्ताको बीचमा खाडल पैदा भएको छ।तेस्रो पुस्ताको कम उपस्थिति, सुधार विनाको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बाध्यताले राजनीतिप्रति वितृष्णा पैदा भएको हो। यो पुस्ता विश्वको परिवर्तनप्रति सचेत छ। प्रविधिमा पोख्त छ। तर राजनीतिक दल र पार्टीहरु अझै पनि राजनीतिक आदर्शको असीमित चिन्तनमा तल्लीन छन्। युवा पुस्ता नेतृत्व लिन तयार छ भन्ने कुरा नेताहरुले नबुझेका होलान् र? तर नेताहरू यो विषय स्वीकार गर्न तयार छैनन्।

स्थानीय चुनावमा बालेन शाह र हर्क साम्पाङको जितले नेपालका स्थापित राजनीतिक दलमा भूकम्प ल्याएको छ। दलका नेताहरु भित्रभित्रै तर्सिएका छन्। यसको अर्थ युवा पुस्ताको विद्रोह होइन। परिवर्तनको बाहक युवा पुस्ताको धर्म-कर्म र मर्मलाई राजनीतिक दलले नचिन्नु नै हो।

नेपालका धैर्यशील जनता र धानिएको अर्थतन्त्रलाई नेताले आजसम्म भजाएर खाए। बल्ल यो जनतालाई थाहा हुँदैछ। यसका लागि राजनीतिक संस्कार नै परिवर्तन गर्नुपर्ने बाध्यता दलहरुमा देखिँदैछ। यससँगै कर्मचारीतन्त्रले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नैपर्छ। यसलाई नजरअन्दाज गरेमा भोलि नेपाली राजनीति अन्योलमा नपर्ला भन्न सकिँदैन।
स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण राजनीतिक प्रणालीको आक्रोश हो। किनकी, विगत वर्षमा शासन गरेका अनुभवहरु उनीहरूसँग जस्ताको तस्तै छन्। जसको नतिजा अर्थ राजनीतिले भोग्नुपरेकै छ। यसैको विरोध अहिले नयाँ पुस्ताले गरेको छ।

यही नयाँ पुस्ता हो जसले नेपालमा ठूला परिवर्तन गर्‍यो। तर स्थापित राजनीतिलाई बढी विश्वास गर्दा यो पुस्ताले सधैंभरि धोका पायो। अब राजनीतिक प्रवृत्ति र सोचाइ परिवर्तन हुने हो या नयाँ राजनीतिक पद्धति स्थापना हुने हो, राजनीति दलकै हातमा छ।

विश्व मञ्चमा नेपाली अर्थतन्त्र कमजोर नै होला। तर दक्षिण एसियामा नेपालको पर्यटन, विद्युत र अन्य क्षेत्रहरु बलिया छन्। यद्यपि, बेरोजगारी उच्च छ। युवा पुस्ता विदेश जान बाध्य छ। नेपालमा आय आर्जनका सम्भावना भइकन पनि खेर गएका छन् तेसैले पुरानो नेतृत्वले नतिजामुखी काम देला भन्ने आशा युवा पुस्तालाई किन भएन? यो पुस्ता अब नेतृत्व परिवर्तन चाहन्छ। युवाहरूको चाहनालाई सम्बोधन गर्ने दल वा नेता अब नेतृत्वमा आउँछन् भन्ने विश्वास छैन l

प्रतिक्रिया