सन्दीप लामिछानेलाई आठ वर्ष कैदको सजाय, तीन लाख जरिवाना र गौसला २६ लाई २ लाख क्षतिपूर्ति दिनुपर्ने (भिडियो सहित)

इनेप्लिज २०८० पुष २६ गते १०:५५ मा प्रकाशित

जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ।

जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए।

उनकाअनुसार इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।

‘प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४को दफा २१९को उपदफा ३को ङ बमोजिम आठ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप दुई लाख रकम क्षतिपूर्ति प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ दिने ठहर्छ,’ उनले भने।

बुधबार बहस गर्नेक्रममा पीडितको तर्फबाट बहस गर्दै वकिलहरूले मुलुकी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १५(२) (ङ) अनुसार डेढी सजायको माग गरेका थिए।

उनी राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहिसकेकाले पदको दुरूपयोग गरी बलात्कार गरेको भन्दै डेढी सजायको माग गरेका थिए।

‘कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरूपयोग गरी कसुर गर्ने कसुरदारलाई त्यस्तो कसुरमा हुने सजायको डेढी सजाय हुने गरी सजाय निर्धारण गर्नुपर्ने छ,’ उक्त दफामा लेखिएको छ।

सन्दीपका वकिलहरूले भने न्यूनतम सजायको माग गरेका थिए।

https://www.youtube.com/watch?v=g1e4CRq92UU

प्रतिक्रिया