आरती साहको आमा बुवा अझै अनसनमा, घटनाको छानबिन, बयान र पोस्टमार्टममा लापरबाही भएको ठहर(भिडियो सहित)

इनेप्लिज २०८० पुष २३ गते २३:११ मा प्रकाशित

दाइजोको निहुँमा जनकपुरधाम ९ थापा चोककी आरती साहको हत्या भएको भनिएको प्रकरणमा अनुसन्धान गर्ने प्रहरी अधिकारी र पोस्टमार्टम गर्ने चिकित्सकहरूले लापरबाही गरेको राष्ट्रिय मानवअधिकार आयोगले औँल्याएको छ ।

आयोगले आरतीको प्रकरणमा १० बुँदे निर्णय तथा सिफारिस कार्यान्वयनका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले भनेको छ ।

‘प्रहरीले आरतीको मृत्युलाई ‘प्रि-अकोपाइड माइण्ड’बाट आत्महत्या देखाएको व्यवहारले घटनामा स्वतन्त्र, निष्पक्ष र स्वच्छ तरिकाबाट अनुसन्धान गरेको हो भनी शंकारहित तवरबाट निष्कर्षमा पुग्न सकिएन’ आयोगको प्रतिवेदनको निष्कर्ष छ ।

प्रहरीले मृतक आरतीको शरीरमा देखिएको घाउ चोट जस्ता देखिने दागहरूबारे घटनास्थल र बस्तु स्थिति मुचुल्कामा लुकाएको आयोगको ठहर छ । आयोगको प्रतिवेदन अनुसार प्रहरीको मुचुल्का र पोस्टमार्टम रिपोर्ट फरक फरक पाइएको छ ।

मृतक आरती दुई महिनाको गर्भवती थिइन् । स्पष्ट रूपमा भवितव्य वा कर्तव्यबाट भएको छुट्याउन नसकिने यौन हिंसा परीक्षण, घाउजाँच परीक्षण, लगायतका जटिलता देखिएमा पोस्टमार्टम लगायतका कार्यहरू फरेन्सिक विज्ञ मार्फत हुनुपर्छ । तर आरतीको शव पोस्टमार्टममा प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकहरू डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दिपेन्द्र कुमार सिंहले लापरबाही गरेको पनि आयोगले ठहर गरेको छ ।

आरतीको पोस्टमार्टममा त्रुटि भएको नेपाल मेडिकल काउन्सिलबाट भएको छानबिनले देखिएको र संलग्न चिकित्सकहरूलाई सचेत गराउँदै अन्तिम चेतावनी दिएको आयोगले उल्लेख गरेको छ ।

https://www.youtube.com/watch?v=0kAOQQA_-Ho

प्रतिक्रिया