सर्लाही प्रकरणमा प्रहरीको गोली टाउकोमा खाएर मृत्यु भएका जयशंकर साहको शव ३ दिन पछी उठ्ने भयो (भिडियो सहित)

इनेप्लिज २०८० पुष २३ गते २:२५ मा प्रकाशित

बरहथवा घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएपछि प्रदर्शनका कार्यक्रम स्थगित भएको छ । पीडित परिवार र प्रदर्शनकारीहरुले गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव उठाउन सहमति जनाएका छन् । मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भइरहको छ ।

जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय-सर्वपक्षीय छलफलपछि अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय श‌कर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको छ ।

आइतबार साँझ प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलनरत पक्षका नेता र पीडित पक्षबीच सहमति भएको हो ।

प्रदेशसभा सदस्य कौशलकिशोर रायले दुई पक्षबीच सहमतिपछि आजै शव उठाएर पोष्टमार्टम गर्ने र शव परिवारलाई हस्तान्तरण गर्ने सहमति भएको जानकारी दिए ।

मेयर कटुवालले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय उल्ट्याउन कार्यपालिकाको बैठक बोलाएको विरोधमा प्रदर्शन हुँदा भएको धरपकड र प्रहरीको गोली लागेर शुक्रबार बरहथवा नगरपालिका-६ का ३० वर्षीय साहको मृत्यु भएको थियो ।

https://www.youtube.com/watch?v=jnkAUi5a74M

प्रतिक्रिया