‘स्त्री र पृथ्वी वीरभोग्या हुन् भन्ने राबणले माता सीतालाई अपहरण गर्दा पनि नछुनुको यस्थो थियो रहस्य

बेद प्रसाद घिमिरे २०८० पुष २१ गते ३:१५ मा प्रकाशित

बेद प्रसाद घिमिरे : दण्डकारण्यको दक्षिणमा वैजयन्तीपुर नाम गरेको एक सुन्दर राज्य थियो । असुरहरूको राज्य । जहाँको राजा थियो कुलितरवंशी पुरुष तिमीध्वज शम्बर । शम्बर सभ्य, बहादुर र प्रतापी राजा थियो । आफ्नो राज्य र जनताप्रति पूर्णतः उत्तरदायी ऊ राज्यको काममा हर्दम निमग्न रहन्थ्यो । उसको उमेर थियो पचास वर्षमाथि । उसकी पत्नीको नाम थियो मायावती । महारानी मायावती । माया अत्यन्तै सुन्दर महिला थिई । उसको अनुहारको रङ थियो पगालेको ताजा सुनजस्तो चमकदार । ऊ अट्ठाईस वर्षकी थिई ।

उनीहरूको दरबार भव्य थियो । राज्य त त्यसै भव्य र सुशोभित हुने नै भयो ।

एक दिन एउटा तेजस्वी पुरुष डुल्दै, घुम्दै अकस्मात् वैजयन्तीपुरको नगरद्वारमा आइपुग्यो । उसको अनुहार गर्विलो थियो । आत्मविश्वासले भरिपूर्ण । मणि माणिक्यले सजिएको भुजबंद, गलामा अनेकौँ किमती मालाहरू, महार्घ मरकतमणिको कटिबन्घ, ठूलो छाती, उठेको निधार, उज्याला आँखा, शिरमा मणिमुकुट र काँधमा धारिलो बन्चरो । नगरको ढोकामा उभिएको तेजस्वी पुरुष देखेर द्वारपाले आश्चर्यचकित भयो ।

द्वारपालेलाई लाग्यो, यो पुरुष पक्कै कुनै ठूलो सामन्त, राजा वा राजकुमार हुनुपर्छ । अतः उसले विनम्र भावमा सोध्यो, ‘प्रभु आज्ञा होस्, तपाईं को हुनुहुन्छ ? तपाईं किन हाम्रो सुन्दर नगरमा पाल्नुभयो ? र, म मेरो स्वामीलाई के निवेदन गरूँ ?’
द्वारपालेको विनम्रताबाट अतिथि प्रसन्न भयो । उसले आफ्नो गलाबाट बहुमूल्य मोतीको माला निकालेर द्वारपालेको गलामा लगाइदियो र भन्यो, ‘तिमी आफ्ना राजालाई मैले दर्शनभेट गर्न इच्छा गरेको सूचना देऊ ।’ उसको कुरा सुनेर द्वारपाले थोरै अलमलमा पर्‍यो र थप स्पष्ट हुन सोध्यो, ‘महाराजलाई तपाईंको परिचय कसरी दिऊँ प्रभु ?’ ‘म मेरो परिचय आफैँ दिन्छु ।’ यति भन्दै अतिथि मुस्कुरायो ।

अतिथिको भव्यताबाट प्रभावित द्वारपाले राजभवनतिर कुद्यो ।

‘को हो ऊ ?,’ महाराज शम्बरले द्वारपालेलाई सोध्यो ।

‘ऊ आफ्नो परिचय आफैँ दिन चाहन्छ,’ द्वारपालेले जवाफ दियो ।

द्वारपालेलाई बहुमूल्य मोतीको माला दिने पुरुष पक्कै कुनै महिमावान्, राजकुल दीपक, राजा, सामन्त वा ठूलै व्यापारी हुनुपर्छ । यस्तो सोचेर शम्बरले एक जना मन्त्रीलाई स्वयम्‌ नगरको मुख्य द्वारमा गएर अतिथिलाई राजसभामा प्रस्तुत गर्न आदेश दियो ।

एकैछिनमा मन्त्री अतिथिलाई लिएर राजसभामा हाजिर भयो ।

अतिथिले शम्बरलाई शिर झुकाएर अभिवादन गर्‍यो । उसले आफ्नो परिचय दिँदै भन्यो, ‘असुरराज शम्बरको जय हो ! म पुलस्य विश्रवा मुनिको सन्तान रावण हुँ । लङ्कापति । मेरी पत्नीको नाम मन्दोदरी हो, उनी राजमहिषी मायावती देवीकी प्यारी बहिनी हुन् र म बहिनी ज्वाइँ । अर्थात्, तपाईंको साढुभाइ । तपाईंको दर्शन गर्न आएको छु राजन । म सत्ताईस वर्षको भएँ । अतः तपाईं मभन्दा जेठो हुनुहुन्छ । त्यसैले तपाईंलाई विनम्रतापूर्वक अभिनन्दन गर्दछु ।’

आफ्नो साढुभाइ, लङ्केश्वर आफ्नो अगाडि उपस्थित पाएर शम्बर हर्षले गद्गद भयो । दुवै हात फिँजाई उसले रावणलाई अंकमाल गर्‍यो र भन्यो, ‘म धन्यधन्य छु । प्रिय भाइ रावण, वैजयन्तीपुरमा तपाईंलाई स्वागत छ । यो तपाईंको नगर हो । तपाईं घर आउनुभएको छ, यसका लागि म तपाईंसँग हृदयदेखि नै कृतज्ञ छु ।’

वैजयन्तीपुर सभामा रावणको उपस्थितिले सबै खुसी भए ।

राजा शम्बरले तीन दिन नगरमा अतिथि उत्सव मनाउन आज्ञा दिए ।

साँझको समय ।

आफ्नो दरबारको मदनबाटिकाभित्र माधवी मण्डपमा मायावती विचारमग्न बसेकी थिई । उसको अनुहार पूर्णचन्द्रझैँ बलेको थियो । आँखा चञ्चल र भरिला थिए । निख्खर काला । मादक दृष्टि । उसको भावभंगीमा लयबद्धता थियो । यस्तो लाग्थ्यो कि उसको रूप, लावण्य र शीलमा थप्नुपर्ने कुनै रङ, लय र भाव छैन । ऊ पूरापूर सुन्दर, सर्वगुणी र प्रदिप्त थिई । अर्थात् ऊ थिई पूर्ण सुन्दरी । यद्यपि उसको अनुहारमा थोरै जलन देखिन्थ्यो । नियालेर हेर्दा देखिन्थ्यो, थोरै असन्तुष्टि । कुनै अपूरो अधुरो मनोकामनाको झलक ।

उसले आफूलाई रावणमा समर्पित गरिदिई । शम्बरको आक्रोशपूर्ण स्वर रावण र मायावती दुवैले सुने । ऊ आकाश गर्जिएजस्तो कठोर र ठूलो स्वरमा चिच्याउँदै थियो । चर्कोचर्को आवाजमा । थरथर काम्दै थियो शम्बर । ऊ भन्दै थियो, ‘रावण तँ पापी होस् । तँ नैतिकहीन होस् । तँ पतीत होस् । म तँलाई यहीँ, अहिले नै मार्छु । आइज युद्ध गरौँ ।’

त्यो दिन पहिलोपटक रावण आफ्नी जेठी सासूको सुन्दरतालाई देखेर चकित भयो । यस्ती भव्यतम महिला उसले जीवनमै देखेकै थिएन । उसले आफ्नी जेठी सासूलाई प्रणाम गर्‍यो । त्यसो त माया पनि रावणको हँसिलो अनुहार, विनोदी व्यवहार, बल, रूप र उमेरबाट प्रभावित नहुने कुरै थिएन । आफ्नी प्रिय बहिनी मन्दोदरीको पति लङ्केश्वरलाई आफ्नो अगाडि पाएर मायावती प्रफुल्ल थिई ।

राजा शम्बर आफ्नो युवा अतिथिबाट खुसी थियो । वैजयन्तीनगर स्वयम्‌ त्यो मित्रता र पारिवारिक मिलनले गद्गद थियो ।

यसरी नै दिनहरू बितेर गए । असुरराज शम्बर बडो आत्मीय पुरुष थियो । उसले रावणलाई गर्नुपर्ने यथोचित सत्कारमा कुनै कमी आउन दिएको थिएन । तर, ऊसँग समय निकै थोरै थियो । ऊ रावणजस्तो रमण र भ्रमणमा थिएन । बरु राजकाजका अनेकौँ झमेलाहरू उसका अगाडि थिए ।

मुख्यतः वैजयन्तीपुरमा एउटा युद्धको तयारी हुँदै थियो । र, शम्बर त्यसमा व्यस्त थियो । अवस्था कस्तो थियो भने, असुर राज्य वैजयन्तीपुरमाथि देवता र आर्यहरू मिलेर आक्रमणको तयारी गर्दै थिए । त्यो आक्रमणको नेतृत्व गर्दै थियो पाञ्चालनरेश दिवोदास । र, असुरराज शम्बरले आफ्नै नेतृत्वमा त्यो आक्रमणको प्रतिकार गर्ने निर्णय गरेको थियो । त्यसो त शम्बरलाई सहयोग गर्न अनेक राज्यबाट असुर, दैत्य र राक्षसहरू जम्मा हुँदै थिए । तर पनि त्यसको नेतृत्व उसैले गर्नु थियो । यसरी युद्धको ठूलो तयारी हुँदै थियो । एकातिर असुरराज शम्बर, अर्कोतिर पाञ्चालराज दिवोदास । आफू युद्धको तयारीमा व्यस्त हुनुपरेका कारण लङ्कापति रावणको सत्कारमा शम्बरले आफ्नी प्रिय रानी मायावतीलाई खटाएको थियो ।

रावण आनन्द उत्सवमा थियो । कहिले जलबिहारमा जान्थ्यो । कहिले सिकारमा । कहिले नृत्यउत्सवमा सहभागी हुन्थ्यो, कहिले नगरको परिक्रमामा । रावण मगनमस्त थियो । प्रत्येक दिनको आत्मीय संसर्गबाट रावण र मायावती अझ नजिक हुँदै थिए ।

मायावती नारीधर्म र पत्नीधर्मको मनयुद्धमा थिई । इन्द्रियमा अव्यक्त लालसा थियो, तर राजमाता हुनाका कारण उसका आफ्नै नैतिक सीमाहरू थिए । अर्थात्, एकातिर दुर्दमनिय इन्द्रिय लालसाहरू थिए, अर्कोतिर थिए दायित्वका कोमल र सरल बन्धनहरू । एकातिर युवा मनका चञ्चल उच्वासहरू थिए, अर्कोतिर पत्नी धर्मका अनेकौँ बन्धनहरू । तर, आफ्नो मनका द्विविधाहरू लुकाउन मायावती खप्पिस थिई । चञ्चल नेत्रहरूमा ऊ तत्काल गम्भीरताको पर्दा लगाउँथी र मुस्कुराउँथी । उसको मनभित्र पत्रपत्रमा के कुरा चलिरहेका छन्, थाहा पाउन स्वयम्‌ शम्बरसमेत असमर्थ हुन्थ्यो । गर्विलो चाल, सुन्दर अनुहारले उसका अनेक दमित मनोकामनाहरूलाई छोपिदिन्थे ।

मायावती निश्चय नै भयंकर आग्रही थिई, साथसाथै ऊ थिई पूरापूर सरल र प्रेममय । एक दिन अपराह्नको समय थियो । गर्मी थियो । त्यसैले शीतल छहारीहरू खोज्दै रावण राजवनमा विचरण गर्न निस्कियो । तर, राजवनको निरव एकान्तले उसलाई खासै आनन्द दिएन । ऊ केही क्षण तलाउको डिलमा बस्यो । त्यो पनि उसलाई बेकार लाग्यो । सायद उसको चित्त शान्त थिएन । त्यसैले ऊ राजवनबाट फर्कियो र लगत्तै रानी मायावतीको मदनबाटिकामा प्रवेश गर्‍यो ।

मदनबाटिकाको द्वारमा किंकरी नामकी दानवी हातमा नांगो तरबार लिएर पहरा दिइरहेकी थिई । एक्कासि रावणलाई देखेर ऊ केही झस्किई र सम्हालिँदै मुस्कुराई । रावणले आज्ञा दियो, ‘किंकरी, यदि यो बगैँचाकी प्रिय स्वामिनी यतैकतै हुनहुन्छ भने, म दर्शन गर्न चाहन्छु । कृपया मेरो निवेदन उहाँलाई दे ।’ किंकरी मायावतीलाई खबर पुर्‍याउन हतारहतार गर्दै थिई । उसको कुनै जवाफ नपर्खी रावण पछिपछि लाग्यो । र, ऊ सिधा माधवी मण्डपमा पुग्यो, जहाँ मायावती एक्लै बसेर जाही र जुहीको माला उन्दैथिई ।

‘देवी मायावती, कृपया मेरो नमस्कार स्वीकार गर्नुहोस् ।’

‘ओहो लङ्केश्वर ! तपाईंलाई एक्कासि अगाडि देख्दा म त झण्डै तर्सिएकी ।’

‘के म त्यती नराम्रो छु र देवी ?’

‘म कसरी त्यस्तो सोच्न सक्छु ? तपाईं मेरो प्रिय हुनुहुन्छ । मेरी प्यारी बैनीको पति ।’

‘तपाईंको अनुहारमा तेज छ देवी । तपाईंको आँखामा जुन कान्ति छाएको छ, म त्यसलाई हृदयमा राख्न चाहन्छु । म तपाईंलाई अति नै श्रद्धा गर्छु र त्यही श्रद्धा व्यक्त गर्न म यहाँसम्म आएको हुँ ।’

‘तपाईं कुरा बनाउन सिपालु हुनुहुन्छ ।’

‘म प्रेम गर्न पनि सिपालु छु ।’

‘यो कुरा मेरी बैनीलाई सुनाउनुहोला लङ्केश । ऊ निश्च नै प्रफुल्ल हुनेछे ।’

‘महारानी, मलाई क्षमा हुन्छ भने म एउटा निवेदन गर्न चाहन्छु ।’

‘लङ्काधिपति तपाईंलाई अभयदान गर्ने सामर्थ्य मसँग छैन । तपाईं स्वयम्‌ सर्वशक्तिशाली हुनुहुन्छ ।’

‘प्रिय मायावती मलाई लङ्काधिपति नभन्नुहोला । म तपाईंको चरणदास हुँ ।’

मायावतीले रावणको कुरा बुझिन । ऊ खासमा के भन्दैछ भन्ने उसलाई कुनै छनक भएन । रावणको कुरालाई कसरी जवाफ दिने होला भन्ने सोच्नसमेत नभ्याउँदै रावण साँच्चै नै मायावतीको अगाडि घुँडा टेकेर बस्यो र हात जोड्न थाल्यो । रावणको अनपेक्षित व्यवहारले मायावती लाजले रातोपिरो भई ।

‘यो के गरेको रावण, कृपया उठ्नुहोस् ।’

‘म तपाईंको आराधना गर्दैछु देवी । म तपाईंको सुन्दरतालाई बन्दना गर्न चाहन्छु । म तपाईंका कोमल अंगहरूको पूजा गर्न चाहन्छु । तपाईंको सुन्दरता मेरो रगतको कणकणमा बहँदैछ देवी । तपाईंलाई के भनौँ, सुन्दरी भनौँ कि मायावती ? क्षमा गर्नुहोला, म अलमलमा छु । मलाई तपाईंको चरणको दास बन्न अनुमति दिनुहोस् ।’

रावणको यस्तो व्यवहारले मायावती विचलित भई । के गरौँ, कसो गरौँ भयो । शब्दहरू मनभित्रै अड्किए । उसले यति मात्र भनी, ‘तपाईं के गर्देहुनुहुन्छ लङ्केश्वर ? के तपाईंलाई लोकलाज र सम्बन्धको ख्याल छ ?’

‘मैले कुनै गल्ती गरेँ भने क्षमापाऊँ देवी । म तपाईंको रूप, माधुर्यको पूजा गर्न चाहन्छु । मेरो यो प्रेम आराधना हो । के तपाईंलाई मेरो व्यवहार मन परेन ? के तपाईं मसँग खिन्न हुनुहुन्छ ?’

‘म खिन्न छैन रावण । तर, हाम्रो सम्बन्धको मर्यादा हामी स्वयम्‌ले राख्नुपर्छ ।’

‘तपाईं यति धेरै निष्ठुरी किन बन्नुहुन्छ देवी ? के म तपाईंको दयाका लागि योग्य छैन ? म तपाईंको सुन्दरताको पूजा नगरी बस्न सक्दिनँ । कृपया मलाई तिरस्कार नगर्नुहोला ।’

‘तपाईं मलाई व्यंग्य गरेर उडाउँदै हुनुहुन्छ ।’

‘म साँचो भन्दैछु । म मेरो हृदय तपाईंमा न्योछावर गर्न चाहन्छु ।’

‘तपाईं मेरी बैनी मन्दोदरीप्रति अन्याय गर्दै हुनुहुन्छ ।’

‘मन्दोदरी नि:सन्देह मेरी प्राणप्यारी छन् । तर म तपाईंको सुन्दरताको पुजारी हुँ ।’

मायावतीलाई लङ्केशको कुरा सुनेर विचित्र लाग्यो । रिसपनी उठ्यो, तर आश्चर्य पनि । लज्जाभाव त थियो, संकोच पनि । के गर्ने, कसो गर्ने भन्ने द्विविधा भयो । यो संकटलाई कसरी पार लगाउने भन्ने उसलाई थाहा थिएन । निश्चय नै ऊ रावणलाई प्रेम गर्थी । तर, बहिनीको पतिको रूपमा । समवय उनीहरूबीच हार्दिकता पनि थियो । मित्रता पनि थियो । त्यसैले रावणसँग कहिले ऊ मुस्कुराउँथी, कहिले ऊ जिस्कन्थी । ऊ रावणको रूप, गुण, बोली र व्यवहारलाई हृदयदेखि नै स्वीकार गर्थी । आफ्नो पति शम्बरको घट्दो उमेरसँग अवश्य नै ऊ असन्तुष्ट थिई । रावणको युवा उमेर, शक्ति र पराक्रमसँग उसलाई पनि लोभ थियो । त्यसैले हुन सक्छ, मनमा कहिलेकाहीँ स्त्री चञ्चलता र दुविधाहरू पनि उपस्थित हुन्थे । तर, साथसाथै ऊ ती सबैलाई नियन्त्रण गर्न सिपालु थिई ।

मायावतीका आँखामा उठेका द्विविधा र संकोचले रावण अझ उत्साहित भयो । आत्मविश्वासका साथ उसले भन्यो, ‘के म तपाईंसँग निर्भय हुन सक्छु देवी ? के तपाईं मलाई तिरस्कार गर्नु हुन्न ?’

‘तपाईंलाई निर्भय हुने अनुमति कसले दियो ? म त्यस्तो अनुमति कसरी दिन सक्छु ?’

‘तर मलाई लाग्छ, तपाईंको मुस्कानले मलाई आमन्त्रिण गर्दैछ ।’

रावणको अनुहार विचित्रको देखियो । डर, संकोच र आवेगको त्रिवेणी । उसका आँखाहरू चमचम चम्किए । आँखासँगै उसको अनुहार चम्कियो । उसका ओठहरू थोरै कामेका थिए । स्वर केही मधुर थियो, तर वेगवान् । यस्तो लाग्दै थियो कि रावणको मनभित्र आगोको ज्वाला उठ्दैछ, लपलपाउँदो तातो ज्वाला र त्यो थामिने कुनै संकेत छैन । बरु त्यो आगोको वेग अझ झन्‌झन् दनदन दन्किनेछ । के त्यो कामबासनाको वेग हो ?

मायावती अन्योलमा परी । ऊ त्यहाँबाट भाग्न चाहन्थी ।

तर, एक्कासि अगाडि बढ्दै गएकी मायावतीको हात समातेर रावणले भन्यो, ‘यो साँचो कुरा हो माया, म तिमीप्रति आशक्त भएको छु । भन, त्यो कुन भाग्यमानी हो जसका लागि तिमी यति धेरै सजावट गर्छ्यौ । भन, त्यो कुन भाग्यमानी हो, जसले तिम्रा यी दिव्य नेत्रहरूभित्र आफ्नो छाया खोज्न पाउँछ । भन, त्यो कुन भाग्यमानी हो, जसले तिम्रा यी कोमल ओठहरू चुम्बन गर्न पाउँछ । भन, तिम्रो शरीर कस्तो आलिंगनका लागि प्रतीक्षारत छ प्रिय । भन, के आज तिमी मलाई आफ्नो रूप, लावण्य र रति अर्पण गरी धन्यधन्य गर्न सक्छ्यौ ? म वर्षौंवर्षदेखि प्यासले छटपटिएको छु मायावती । कृपया मलाई तिम्रो यौवनको भागिदार बनाऊ ।’

रावणको कुरा सुनेर मायावती थरथर काम्न लागी । उसले भनी, ‘रावण, तिमी के भन्दैछौ ? तिमी मेरी बैनीको पति हौ । मेरो सम्बन्धित हौँ । म धर्मले तिमीभन्दा जेठी छु । तिमी सोच त मेरा पति शम्बरले यो कुरा थाहा पाए के हुन्छ ? तिम्रो भाइ कुवेर लोकपाल त्रिलोकमा प्रख्यात छन् । तिमी स्वयम्‌ आफ्नो कुलधर्मबारे भलीभाँती जान्दछौ । तिमी ऋषि कुमार हौ । तिमीलाई नैतिक आचरण थाहा छ । त्यसैले अनुरोध गर्छु, यो हठ नगर । म मेरा पति शम्बरका लागि शृंगार गर्छु । म उनलाई सम्मान र प्रेम गर्छु । म असुर कुलकी स्त्री हुँ र तिमी रक्ष संस्कृतिका संरक्षक हौ । वयं रक्षमः तिम्रो धर्म हो । तिमीले मेरो, हाम्रो र स्वयम्‌ तिम्रो धर्मको रक्षा गर्नुपर्छ ।’

रावणले मर्यादा नाँघेर तिमी सम्बोधन गर्न थालेको थियो । र, प्रत्युत्तरमा मायाले पनि तिमीबाट नै सम्बोधन सुरु गरेकी थिई ।
‘मायावती, तिमीलाई थाहा हुनुपर्ने– के असुर सुन्दरीहरूका पनि कहीँ पति हुन्छन् ?’

‘तर रावण तिमीलाई थाहा छ, शम्बर मेरा पति हुन् । म उनको धर्ममा बाँधिएकी छु ।’

‘माया, के तिमीलाई थाहा छैन– एकान्त रतिको नियम त संसारभर मन्छेहरूले स्वीकार गरेको नियम हो । त्यसैले आऊ हामी पनि यो एकान्तको भोग गरौँ । म अनुरोध गर्छु– आज तिमीले मेरो मनोकामना पूर्ण गर्नैपर्छ ।’

यति भनेर रावणले झटपट मायावतीलाई आफ्नो अँगालोमा लियो । मायावती छटपटाउन लागी । उसको शृंगार बिग्रियो । केश बिग्रियो । ऊ डरले थरथर काम्न लागी । ओठ, मुख सुक्दै गए । ऊ रावणको बाहुपासबाट फुत्किन कोसिस गर्न थाली । रावणले आफ्नो बाहुपास अझ कसिलो गर्दै गयो । उसले यौनआवेगमा भन्यो, ‘प्रिय, तिमी मेरी आराध्य देवी हौँ ।’ यतिभनेर रावणले मायावतीलाई चुम्बन गर्‍यो । कुन शक्ति र सम्मोहनको प्रभाव हो थाहा छैन, मायावती बिस्तारै गल्दै गई । उसको प्रतिकार फितलो हुँदै गयो । ऊ बिस्तारै शक्तिहीन बन्दै गई र रावणको प्रेम आवेगमा समाहित भई । किन हो, उसको मनले अनुपम आनन्दको अनुभूति गर्‍यो । त्यही अनुभूतिको आगोमा मायावतीको प्रतिरोध जलेर खरानी भयो ।

उसले आफूलाई रावणमा समर्पित गरिदिई ।

शम्बरको आक्रोशपूर्ण स्वर रावण र मायावती दुवैले सुने । ऊ आकाश गर्जिएजस्तो कठोर र ठूलो स्वरमा चिच्याउँदै थियो । चर्कोचर्को आवाजमा । थरथर काम्दै थियो शम्बर । ऊ भन्दै थियो, ‘रावण तँ पापी होस् । तँ नैतिकहीन होस् । तँ पतीत होस् । म तँलाई यहीँ, अहिले नै मार्छु । आइज युद्ध गरौँ ।’

रावणले झटपट मायावतीलाई आफ्नो अँगालोमा लियो । मायावती छटपटाउन लागी । उसको शृंगार बिग्रियो । केश बिग्रियो । ऊ डरले थरथर काम्न लागी । ओठ, मुख सुक्दै गए । ऊ रावणको बाहुपासबाट फुत्किन कोसिस गर्न थाली । रावणले आफ्नो बाहुपास अझ कसिलो गर्दै गयो ।

असुर सम्राट शम्बरको आवाज सुन्नासाथ मायावती मूर्च्छा परी ।

शम्बरले रावणलाई आदेशको स्वरमा भन्यो, ‘नैतिकहीन रावण, लौ आइज हतियार उठा । म तँलाई नि:शस्त्र मार्न चाहन्नँ । तँ राजा होस्, तँ प्रजापतिको वंशधर होस्, तँ लोकपालको भाइ होस् । त्यसैले तेरो कुलको सम्मानका लागि म तँलाई नि:शस्त्र मार्न चाहन्नँ रावण । त्यसैले हतियार उठा । आइज युद्ध गरौँ ।’

‘तपाईं मलाई नि:शस्त्र मार्न सक्नुहुन्छ राजन ।’

‘नि:शस्त्र मान्छेलाई मार्न मेरो कुलको मर्यादाले दिँदैन मूर्ख । हतियार उठा ।’

‘म कसैगरी हतियार उठाउँदिनँ ।’

‘त्यसो भए आइज कुस्ती खेलौँ । म तँलाई पछार्छु र यहीँ माटोमा गाडिदिन्छु ।’

‘तर म तपाईंसँग युद्ध गर्दिनँ राजन ।’

‘तँ लम्पट, तँ परस्त्रीगामी, तँ चोर ।’ यति भन्दै शम्बरले रावणलाई एक लात्ती हान्यो । रावण ढुनमुनाउँदै केही पर पुगेर सम्हालियो र उभियो । उसको शिर झुकेको थियो । आँखा हीनताभावले गलेका थिए । रावणको अनुहार देखेर शम्बर अझ क्रोधित भयो र चिच्यायो, ‘रावण, तँ कायर होस् ।’

रावणले झुकेको शिरलाई थोरै माथि उठाएर बिन्ती गर्‍यो, ‘तपाईं मेरो हत्या गर्नुहोस् असुरराज । म मृत्यु स्वीकार गर्छु ।’

‘म तँलाई त्यसै छोड्दिनँ ।’ यति भनेर शम्बरले फेरि रावणको छातीमा अर्को लात्ती बजायो । तर, रावण यो पटक ढलेन । बरु बलियोसँग उभियो र उल्टो कड्किँदै भन्यो, ‘शम्बर, अब अति भयो । छोड यो सब । तिमीले मलाई दुईपटक लात्तीले हान्यौ । अब पुग्यो । अतः मेरो दोष निवारण भयो । तिमीले मसँग लिनुपर्ने बदला लिइसक्यौ । छोड, अब मलाई जान देऊ ।’

‘यति ठूलो अपराध गरेर तँ कसरी वैजयन्तीपुरबाट जिउँदै जान्छन् रावण ?’

‘मैले कुनै अपराध गरेको छैन ।’

‘तैँले मेरी स्त्रीलाई बलात्कार गरेको छस् ।’

‘स्त्री र पृथ्वी वीरभोग्या हुन् शम्बर । फेरि असुरका स्त्रीहरूमाथि कसैको एकाधिकार छैन ।’

रावणको अप्रिय कुरा सुन्न नसकेर शम्बरले अर्को लात्ती पुनः प्रहार गर्‍यो । तर, रावणले शम्बरको खुट्टा समात्यो । उसले शम्बरलाई समातेर फनफनी घुमायो र पर हुत्याइदियो । हुत्तिँदै पर पुगेको शम्बरले तत्काल भाला उठायो र रावणलाई प्रहार गर्‍यो । अन्ततः हानाहान र मारामार सुरु भयो । शम्बरले मौका मिलाएर आफ्नो खड्गले रावणलाई बजायो । त्यसको तोडले रावण धर्तीमा लम्पसार भयो ।

हातखुट्टा बाँधेर शम्बरले रावणलाई अन्धकुपमा थुन्ने आदेश दियो ।

युद्धको समय थियो । त्यसैले मायावतीका बारेमा सोच्न र ध्यान दिन शम्बरसँग समय थिएन । विपक्षी सेना वैजयन्तीपुरको सिमानामा आइसकेको थियो । जुन बिस्तारै गिरिव्रजतिर बढ्दै थियो । युद्ध अवश्यंभावी थियो । त्यसैले बाँकी कुरा युद्धपछि निवारण गर्ने सोच बनाउदै शम्बरले आफूलाई पूर्णतः युद्धमा समर्पित गर्‍यो ।

त्यसपछि, वैजयन्तीपुरमा युद्धको घोषणा भयो ।

चौतर्फी युद्धको शंखनाद बज्न थाल्यो । नगरका चोक र गल्लीमा दुंदुभीको स्वर सुनिन थाल्यो । युद्धाभ्यास दिनरात चल्न थाल्यो । हात्तीहरू तयार भए । घोडा हिनहिनाउन थाले । दश हजार रथ, साठी हजार योद्धाका साथ शम्बरले आफ्नो सेना गिरिव्रजतिर अगाडि बढायो । युद्धमा शम्बरको तर्फबाट सर्वश्रेष्ठ योद्धाहरू हृष्ठरोमा, महाकाम, सिंहदंष्ट्र, प्रकम्पन, तन्तुकच्छ, दुरारोह, सुभाय, वज्रपंजर, धूमकेतु, प्रमथन, विकटाक्षहरू लड्दै थिए । उता पाञ्चालपति दिवोदासका सेना अझ भयंकर थिए । गिरिव्रज उपत्यकामा पुगेर युद्धको प्रतीक्षा गरिरहेको त्यो सेनामा थिए देवता, नाग र गन्धर्वहरू । जहाँ सुबाहु, निर्घात, मुष्टिक, गोहर, प्रलंब, प्रमाथ, कटकपिगलजस्ता एक सहस्र अर्धरथ थिए । साथमा थिए अंकुटी, सोमिल, देवशर्मा, पितृशर्मा, उग्रभट, महाभट, कुमारक, वीरस्वामी, सुराधर, भण्डीर, सिंहदत्त, क्रूरकर्मा, शबरक, हदरत्त आदि अर्धसहस्र पूर्णरथ । अझै थिए यज्ञसेन, इन्द्रवर्मा, विरोचन, कुम्भीर, दर्पित, प्रकंपन, आदि तीन सय द्धिरथ र बाहुंशाल, विशाख, प्रचण्ड आदि सय त्रिरथ । यस्तै, अनेक एक सय पंचरथ । उग्रवर्मा षड्रथ । अनि अनेक महारथ । पाञ्चालनरेश दिवोदासलाई सहयोग गर्न स्वयम्‌ अयोध्यानाथ दशरथ मैदानमा उपस्थित थियो ।

दुवै पक्षका सेनाहरू आमनेसामने भए । र, घनघोर युद्ध सुरु भयो ।

आर्यतर्फको सेनापतिले महाशुची व्युहको रचना गरेर युद्धको सुरुवात गर्‍यो । रणवाद्य बज्न थाल्यो । जयजयकारको ध्वनिले आकाश गुन्जायमान भयो । कतै हाहाकार, कतै जयजयकार । बिस्तारै काटमार बढ्दै गयो र युद्धमैदानमा रक्तनदी बग्न थाल्यो । हेर्दाहेर्दै कसैको शिर जमिनमा ढल्न थाल्यो, कसैको हात । कसैका मुकुट झर्न थाले, कसैका रथ । कसैको झण्डा भुइँमा झर्‍यो, कसैको छत्री । कतै हात्ती ढले, कतै घोडा । युद्ध भीषण र अझ भीषण हुँदै गयो ।

बिस्तारैबिस्तारै असुरहरूको शक्ति कमजोर भयो । युद्धमा आर्यहरू हावी हुँदै गए । हेर्दाहेर्दै असुर सेनाहरू मारिँदै गए । हात्ती र घोडा यति धेरै मरिसकेका थिए कि, लासको पहाड बन्दै थियो । असुरहरूको सत्यानाश देखेर शम्बर क्रुद्ध भयो र दिवोदासतिर हानियो ।

त्यसपछि दुई महावीरहरू आमनेसामने युद्ध गर्न लागे ।

उनीहरूको युद्ध अनुपम थियो । दुवै यसरी लड्दै थिए मानौँ, दुइटा पहाड एकआपसमा ठोकिँदैछन् । हेर्दाहेर्दै दुवैका सारथिहरू मारिए । हेर्दाहेर्दै दुवैका रथ, छियाछिया भए । रथका सुनौला छत्रीहरू ढले । दुवै रथका चक्काहरू खुस्किए । जब रथहरू ढले, शम्बर र दिवोदास हातमा तरबार लिएर आमनेसामने भिड्न थाले । जताततै तरबारको प्रहारले शरीरबाट भलभल्ती रगत बग्न थाल्यो । यस्तैमा सानो मौका पाउनासाथ दिवोदासले शम्बरको शिरमा खड्ग प्रहार गर्‍यो । शम्बर दुई टुक्रा भयो ।

पाञ्चालपति दिवोदासको विजय भयो । युद्ध सकियो ।

युद्धमा जाँदा मायावतीसँग शम्बरले बिदा माग्ने परिस्थिति थिएन । संकोच, आशंका, आक्रोश, अपमान र हीनताभावले दुवैको मन जलेको थियो । न त मायाले आफ्नो पतिलाई विजयको कामना गर्दै बिदा दिएकी थिई, न त शम्बरले बिदा मागेको थियो । न त आफ्नो कर्मका लागि मायाले आफ्नो प्रिय पतिसँग क्षमायाचन गरेकी थिई, न त शम्बरले घटनाको सत्यतथ्य नै बुझ्न चाहेको थियो । खासमा भावुक मायावतीका लागि आफ्नो पतिलाई बिदाइ गर्न नपाएकोमा पीडाबोध थियो । र, युद्धमा जाँदै गर्दा पतिले उसलाई उपेक्षा गरेकोमा मायावती अझ धेरै दुःखी थिई ।

मायावतीले मनमनै पति युद्धबाट फर्किएपछि क्षमायाचना गर्ने संकल्प गरेकी थिई । मायावती सोच्थी कि उसले त्यो दिन रावणसँग प्रतिकार गर्नुपर्थ्यो । तर, ऊ त वशिभुत पो भई । र, यो कुराले मायावतीलाई ठूलो अपराधबोध भएको थियो । त्यसैले ऊ भित्रभित्रै गल्दै थिई । वास्तवमा ऊ शम्बरलाई माया गर्थी र आफ्नो पतिप्रति उसको यथेष्ट सम्मान थियो ।

मायावती चाँडै आफ्नो पति युद्धबाट फर्किने र सबै कुरा ठीकठाक हुनेमा विश्वस्त थिई ।

पति युद्धमा मारिएको खबर सुनेर मायावती विचलित भई । अब उसले पतिको अगाडि उभिएर प्राय:श्चित गर्ने अवस्था पनि रहेन । उसका लागि सम्पूर्ण कुरा अन्धकारमा डुब्यो । उसका लागि वैजयन्तीपुर अँध्यारो भयो । धर्ती अँध्यारो भयो । आकाश अँध्यारो भयो । र, सबैभन्दा अँध्यारो भयो मायावतीको जीवन । यो अकल्पनीय घटनाले मायावती चुरचुर भई गलेकी थिई ।

अर्को दिन युद्धभूमिबाट सम्राट शम्बरको शवलाई वैजयन्तीपुर ल्याइयो । दरबारको प्रांगणमा राजशवको पूजा र प्रतिष्ठा सुरु भयो । लासलाई चन्दन, कस्तुरी, गोलोचनले सिँगारियो । लासको वरिपरि घ्युका हजारौँ बत्तीहरू बालिए । असुर पुरोहितहरू मन्त्रपाठ गर्न थाले । अन्त्येष्टिका लागि असुर राजमहिषी मायावतीसमेत प्रांगणमा उपस्थित भई । उसले आफ्नो प्रिय मदनबाटिकामा दुइटा चिता तयार गर्न आफ्ना सेवकहरूलाई आदेश दिई ।

उता चिताको पूजा सुरु भयो । दुवै चितामा पशुबली दिन थालियो ।

त्यो बेलासम्म रावण अन्धकुपमा बन्दी थियो । बाहिर के भइरहेको छ, उसलाई थोरै पनि थाहा थिएन । मायावतीले उसलाई बन्धनमुक्त गर्ने आदेश दिई । जसै रावण बाहिर निस्कियो, उसले सबै कुरा थाहा पाइनै हाल्यो । ऊ विनम्रभावमा मायावतीको अगाडि उभियो । मायावतीले उसलाई किंचित उदार स्वरमा सम्बोधन गर्दै भनी, ‘राक्षरेन्द्र रावण, अब तिमी स्वतन्त्र भयौ । तिमी जता मन लाग्छ, त्यतै जाऊ । तिम्रो अपराधका लागि म तिमीलाई क्षमा गर्छु । वैजयन्तीपुरमा जे जति रत्न, मणि, माणिक्य, दासदासी छन्, सक्नेजति लिएर जाऊ । तिमी मेरी प्रिय बहिनीको पति हौ र ऊ मेरा लागि अति प्रिय छ । त्यसैले मैले उसको प्रेमका लागि तिमीलाई क्षमा दिने निर्णय गरेकी छु । जाऊ मेरो आशीर्वाद तिमी र मेरी बहिनीलाई सदैव रहनेछ । मेरी प्रिय बैनी मन्दोदरीलाई भनिदिनू– म उसका लागि सदैव सत्यको बाटो हिँड्न प्रेरित गरिरहनेछु । र, तिमीले उसको स्त्री मनलाई कहिल्यै अपमान नगर्नू । मेरा लागि यही नै तिम्रो अपराधको प्राय:श्चित हुनेछ ।’

यति भनेर मायावती मौन भई । उसले एकपटक आफ्नो पतिको मृत शरीरलाई हेरी र अलिक पर मदनबाटिकामा बल्दैगरेका दुईवटै चिताहरूलाई एकाग्रभावले नियालिरही ।

रावण बोल्न सकेन । त्यस्तो अवस्थामा के भन्नुपर्छ भन्ने उसले कुनै विचार गर्न सकेन । उसले मात्र यति भन्यो, ‘देवी मायावती म, मेरो शरीर, मेरो लङ्का, त्यसको सबै वैभव अहिले नै तिमीलाई अर्पण गर्दछु । हुन सक्छ, मलाई घृणा नगर । हुन सक्छ, मलाई माफ गर । हुन सक्छ, तिम्रो मनमा अहिले जुन भयंकर विचार आइरहेको छ, कृपया त्यसलाई छोडिदेऊ । म वाचा गर्छु, म सदैव तिम्रो ऋणी भई स्त्री मर्यादालाई बचाउन लागिपर्नेछु ।’

मायावतीले उसरी नै शान्तभावमा आकाशतिर हेरी र भनी, ‘हे विश्रवा मुनिका सन्तान, तिमीले स्त्रीलाई भोग्या मात्र ठान्यौ । स्त्रीको सुन्दरतालाई तिमीले बासनाको नजरले मात्र हेर्न सिक्यौ । स्त्रीको सुन्दरतालाई तिमीले कहिल्यै सम्मान गरेनौ । स्त्रीहरू प्रेम, समपर्ण र विद्रोहका प्रतिमूर्ति हुन् । यो कुरा सायद तिमीले बुझेनौ र कुनै पनि पुरुषले बुझेन । प्रेम र बासनामा फरक छ, यो कुरा दुनियाँले बुझेन । अतः यो कुरा दुनियाँलाई बुझाउन मैले एउटा विद्रोह गर्ने निर्णय गरेकी छु । मेरो विद्रोह पुरुषहरूको कामबासनामाथिको विद्रोह हो । यसका लागि म अग्नि समाधि लिँदैछु । मेरा पति शम्बर यो समाधिका साक्षी हुनेछन् । वैजयन्तीनगरका नागरिकहरू मेरो विद्रोहका साक्षी हुनेछन् । र, तिमी स्वयम्‌ यो विद्रोहको साक्षी हुनेछौ । लङ्केश्वर सुन, आजका दिनबाट स्त्रीहरूको अनुमतिबिना तिमी उनीहरूलाई छुने छैनौ । यो तिमीमार्फत म सम्पूर्ण पुरुषहरूलाई आह्वान गर्दछु ।’
यति भनेर मायावती मदनबाटिकातिर लागी र आफ्नो लागि तयार गरिएको चितामा चढी । उसले दुवै हात आकाशतिर उठाई र चराचर ब्रह्माण्डलाई नमस्कार गरी । त्यो दृश्य देखेर रावणका आँखाबाट आँसुका धाराहरू बग्न थाले ।

उसले यति मात्र भन्यो, ‘प्रसीदतु, प्रसीदतु ।
मायावतीले आँखा बन्द गरेर भनी, ‘माभुत् माभुत् ।’

रावण श्रद्धासाथ झुक्यो । उसले मायावतीको चितालाई तीनपटक परिक्रमा गर्‍यो र प्रतिज्ञा गर्‍यो, ‘म देवता र मान्छेको रगतले प्रिय शम्बरलाई तर्पण दिएर आफ्नो अपराधको प्राय:श्चित गर्नेछु । र, आजका दिनबाट कुनै पनि स्त्रीको अनुमतिबिना उसलाई कामबासनाको सिकार बनाउने छैन । स्त्रीहरू भोग्या मात्र होइनन् । सहअस्तित्व हुन् । यो कुराका लागि म निरन्तर समर्पित रहनेछु ।’

रावण त्यहाँबाट चुपचाप बिदा भयो । उसले शम्बर र मायावतीको चितामा बलेको आगो देखेन । तर, चिताबाट उठेर आकाशमा फैलिएको धुवाँले भने सबै कुरा देखिरहेको थियो । त्यसपछि रावणले देवता र आर्यहरूसँग जिन्दगीभर युद्ध गर्‍यो । र, अनुमतिबिना कुनै पनि स्त्रीलाई स्पर्श गरेन । ऊ शम्बरको मृत्युको बदला लिन चाहन्थ्यो र मायावतीमाथि आफूले गरेको अपराधको प्राय:श्चित गर्न प्रतिबद्ध थियो । त्यसै कारण माता सीतालाई अपहरण गर्दा पनि उसले छोएन । उसले सधैँसधैँ मायावतीको आत्मासँग आफूले गरेको कृत्यका लागि क्षमा मागिरह्यो र मायावतीको संकल्पलाई सार्थक बनाउन लागिपर्‍यो ।

प्रतिक्रिया