“अक्षरका बीउहरू” उम्रेर फुलेको छ काव्यको फूल

ऋषभदेव घिमिरे २०८० पुष १९ गते २२:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सास, डालसले एउटा सुन्दर साहित्यिक अनुष्ठान गर्यो। जसका लागि प्रथमतः अनेसास डालसका संस्थापक अध्यक्ष एवं वर्तमान अध्यक्ष क्रमशः भीम कार्की र निर्मला राई तथा अनेसास डालस परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

अमेरिकाका विभिन्न राज्यमा चलिरहेको साहित्यिक एवं काव्यिक यात्राका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कवि भूपाल राई, प्राज्ञ बाबा बस्नेत र म कोलोराडोको डेनवरबाट डालस आएका थियौं। पशुपति बौद्ध मन्दिर (नेपाली मन्दिर) मा आयोजित स्रष्टा सम्मान तथा काव्य वाचन कार्यक्रम सुन्दर र अविस्मरणीय रह्यो हाम्रा लागि। भाषा, साहित्य, कला र संस्कृतिका चर्चा परिचर्चा भए, काव्य पाठ भयो । समसामयिक साहित्य तथा सिर्जनशील लेखनका बारेमा अन्तक्रिया भए, साहित्यकारका रचना वाचनबाट धेरै लाभान्वित हुने अवसर प्राप्त भयो डालसमा।

औपचारिक कार्यक्रमको समापन पश्चात् हाम्रो तीन सदस्यीय टोली (भूपाल,बाबा र म) कवि तथा अनेसासका संस्थापक अध्यक्ष भीम कार्कीको निवास पुग्यौं । त्यहाँको काव्य साझ अझ स्मरण योग्य बन्यो हामी सबैका लागि। गीत गजल,कविता तथा सांगीतिक वातावरणमा हामी अौधी रमायौं। भाउजू रोहिणीको हातको स्वादिष्ट परिकारसगै कवि सुमन कार्की भाइको रमाइलो कार्यक्रम संचालनमा गीत बज्यो। कविता गुञ्जियो। अलिखित कथाका पात्र र अंश सुनियो । गीतकार निलु गुरुङको जीवनका आरोह अवरोह सुनियो। धेरै त उहाँ आफैले मादल ठोकेर गाएका लोकगीतको तालमा रमाइयो ।

कार्यक्रम साहित्य र साँस्कृतिक रुपमा चलि रहेकै थियोे। कवि भगवती पौडेलले आफ्नो कविता कृतिअक्षरका बीउहरू हामीलाई उपहार स्वरुप प्रदान गर्दै आफ्ना कविताका रचना गर्भ, परिवेश, कविताका श्रोत आदिको चर्चा गर्दै अरुणको कोकाकोला शिर्षकको कविता सुनाउनु भयो । अरु पनि कविता सुनियो । भगवतीका कविता, बाबा बस्नेतका कविता, ससमन भाइका कविताले चढ्दै थियो काव्यको उकालो। छिप्पिदै थियोे रात। हामी एक एक थान “अक्षरका बीउहरू” काखी च्यापेर सुत्यौ।

बिहानको चियासँगै कवि भगवती पौडेलका कविताहरू म‌ैले सर्सर्ती हेरे। उनका कवितामा प्रकृति चित्रण, भोगाइ, अनुभूति भेटियो सबैका कवितामा हुने जस्तै। स्रष्टा साँझ, अमेरिका द्वारा प्रकाशित “अक्षरका बीउहरू” डालस बसाइको मेरो खुराक बन्यो। सबै कविता आध्योपान्त पढे। कविता राम्रा छन। सरल,सरस र विचारोपयोगी कविताहरू पाए मैले। यात्राका क्रममा देखेका, भोगेका र यात्रानुभूतीलाई कवितामा उतारेका कवितादेखि विविध परिवेशका कविता उनको सङ्ग्रहमा भेटियो । ४२ थान कविताको सङ्ग्रह “अक्षरका बीउहरू” भित्र सन्देशात्मक, विचार, भाव, चेतना सहित सुबोध शैलीले सजिएका कवितहरू छन् ।

आवरणमा अक्षरका बीउहरू उम्रेर ढकमक्क फुलेको छ। फूलको आलोकले क्षितिज तर्फ प्रकाश फ्याँकी रहेको छ। भगवती पौडेलको “अक्षरका बीउहरू” सदैव नेपाली साहित्याकाशमा फुलि रहोस् । हार्दिक शुभकामना। पिता बुद्धिराज पौडेल र ममतामयी माता बिष्णुमाया पौडेलमा समर्पित सङ्ग्रह सबैको साझा सङ्ग्रह भएको छ। विद्वान् साहित्यकार तथा विश्लेषक पुरुषोत्तम दाहाल तथा कवि श्रीहरी फुँयालको स्पष्ट दुई भूमिका रहेको भगवतीको कविता सङ्ग्रहले डायस्पोरिक साहित्यलाई समेत प्रतिनिधित्व गरेको मैले पाएँ । नेपाली साहित्यका लागि भगवतीले ठुलो गुण लगाएकी छिन भन्ने लाग्छ। भगवतीको कविता लेखनको कालखण्ड खासै लामो नहुँदा नहुँदै पनि सङ्ग्रहको हिसाबले प्रस्तुत कृतिभित्र राम्रो कोटीका कविता छन् । केही कविता कविले अझै परिमार्जन गर्न सकेको भए अझ बेस हुने थियोे भन्ने सुझाव हो मेरो । अझ बढि त पाठकले भन्ने विषय हो। सङ्ग्रहको मूल सुझावक भनेका पाठक नै हुन ।

कविता विधा लेखनका हिसाबले स्थापित विधा हो र धेरै लेखिने विधा पनि हो। यसैले पनि कवि भगवती कवि बनिन्। धेरै लेखिएका कारण कवितामाथि भगवतीको पनि रुचि हुन पुग्यो भन्ने लाग्छ । आफ्ना भावना अभिव्यक्त गर्ने सरल तर जटिल कार्यलाई कवि भगवतीले सरल ढंगले कृति तयार गरेको देखिन्छ। सामान्य भाषिक त्रुटिलाई मुद्रा राक्षस भन्दै ठिक हुन्छ । कविले भविष्यमा सम्पादित र परिमार्जन गर्ने नै छिन। आउने कृतिहरू राम्रो र परिस्कृत बनेर आउन्।

उनका रचनाहरू पढने क्रममा परम्परागत शैली छन् । भाव प्रधान कविता छ। जीवनका रङहरू छन। भोगाइ छ। अनुभूतिले रङ्गिएका कविता छन। प्रकृति छ । जीवनका अनगिन्ती भोगाइलाई टिपेर कवितामा सजाइएको छ। उनका कवितामा समाज छ, संस्कृति छ।वर्णन छ, बिम्ब छ ।अलङ्कारले युक्त कविताहरू छन। कताकति आञ्चलिकताको सुगन्ध छ। कवितामा आमा छिन। लोकबोली छ। लोकछन्दको छनक छ । प्रवास तथा प्रवासी जीवनको कथा छ । अनेकौं कथा-व्यथाको कविता छ ।

भगवती पौडेलको “अक्षरका बीउहरू” सङ्ग्रह भित्र भावगत, शिल्पगत तथा मानवीय सम्वेदनशीलता जाहेर गरेका कविताहरू पनि छन्। कवितलाई अझ कलात्मक बनाउन कविले अझ बढी मिहेनत गरेको भए सुनमा सुगन्ध थपिने थियोे, र पनि प्रस्तुत सङ्ग्रहमा रहेका धेरै कविता पठनीय छन् । समसामयिक राजनीतिले आम कविलाई जस्तै कवि भगवतीलाई बिथोल्ने काम गरेको छ। कमरेडको घेराभित्र शिर्षक कविता यसको उदाहरण हो। वर्तमान वितृष्णा र विसंगति प्रतिको बिम्बात्मक व्यङ्ग्य छ । पीडा छ। धेरैजसो कविता साहित्यिक कार्यक्रममा वाचन गरेका, पुरस्कृत भएका पनि कविता छन । “अक्षरका बीउहरू” ४२ जातका फूल भएर पुष्पित र पल्लवीत भएको यो सङ्ग्रह सरल भाव प्रस्तुत भएको काव्यिक दस्तावेज पनि हो भन्ने लाग्छ । सबै स्रष्टाले जस्तै समयबोधको गतिलाई कविले पछ्याएको भेटिन्छन् कविताका शैलीहरू। उनको कविता सिर्जनामा देखेका कुरालाई मनोबैज्ञानिक ढंगले प्रस्तुत गर्ने क्षमता प्रचुर पाए मैले। भूकम्पको विनाश , समय समवेदना, आशा, भरोसा र जीवनलाई विशालतम बनाउन कविताले थुप्रै सन्देश प्रवाह गरेको छ। फेरि पनि शुभकामना ।

समाजमा रहेका विद्यमान छुवाछूत, भेदभाव,शोषण जस्ता कुराहरू कवितामा विषय र बिम्ब बनेर प्रस्तुत भएका छन । नेपाली कविताका पाठकलाई “अक्षरका बीउहरू” कविता सङ्ग्रहले रसमय बनाउनेछ भन्ने मेरो ठम्याइ हो। आगामी दिनमा कवि भगवतीका कविता कृति अझ राम्रा र सशक्त बनेर आउन सकोस् । मन र मौसम, कौसीका फूलहरू, तावाश्रीका लाशहरू, देवीथान र छाउ, कमरेडको घेराभित्र, आशिर्वाद, अरुणको कोकाकोला, मैले पनि राखेँ जमरा, चन्द्रमामा आमा देखेँ लगायतका कविता पठनीय छन। आगामी दिनमा कविले कविताको अध्ययनलाई बढाउने, बिश्व कविता तर्फ ध्यानाकृष्ठ गर्ने र स्वयंले पनि नवीन र फरक शैली अवलम्बन गर्ने हो भने कवि भगवती पौडेलको कवित्वमा अझ निखार आउने आशाहरू प्रशस्त देखिन्छ।

प्रतिक्रिया