सर्लाहीमा चार सम्मानित

इनेप्लिज २०८० पुष १७ गते १९:३५ मा प्रकाशित

रौतहट

सामुदायिक सिकाइमा योगदान दिएको भन्दै सर्लाहीमा चार जनालाई सम्मानित गरिएको छ । सिकारु सामुदायिक सिकाइ केन्द्रले आफ्नो पाँचौ महाधिवेशनको अवसरमा सामुदायिक शिक्षामा योगदान दिने सर्लाहीका चार जनालाई सम्मानित गरेको हो ।

सर्लाहीको बागमती नगरपालिका ८ मा कार्यालय रहेको केन्द्रले अभियान नेपाल सामुदायिक सिकाइ केन्द्र गोडैताका अध्यक्ष रामचन्द्र महतो, काका सामुदायिक सिकाइ केन्द्र बलराका अध्यक्ष डा. कमलेश्वर कुमार सिन्हा, बागमती नगरपालिकाकी उपप्रमुख लीला मोक्तान र प्रदेश साँसद जवाहरलाल कुशवाहालाई सम्मानित गरेको हो ।

सिकारु सामुदायिक केन्द्रको स्थापना र सञ्चालनमा सहयोग गरेको भन्दै आफूलाई सम्मानित गरिएको सम्मानित व्यक्तित्व रामचन्द्र महतो कुशवाहाले बताएका छन् । जिल्लाको सामुदायिक सिकाइमा आफ्नो भूमिका रहेको र यस्तै भूमिका खेल्नेलाई केन्द्रले सम्मानित गरेको कुशवाहाको भनाइ छ ।

जिल्लाको शिक्षामा विशेष भूमिका खेल्ने र केन्द्रलाई सहयोग गर्ने व्यक्तित्वलाई सम्मानित गरिएको केन्द्रका अध्यक्ष जंगबहादुर महतोले जानकारी गराएका छन् ।

प्रतिक्रिया