बेद प्रसाद घिमिरे : युवाहरू बडो गर्वका साथ भनिरहेका भेटिन्छन्—राजनीति फोहोरी खेल हो । मलाई राजनीतिको मतलब छैन । म राजनीतिबारे धेरै सोच्दिनँ ।
विचार गरौँ त के यस्तो भन्नु ठीक हो ? योसँगै अर्को प्रश्न आउँछ, किन नसोच्ने राजनीतिबारे ? वस्तुत: यदि कोही राजनीतिबारे नसोची नै जीवनका बारेमा सोच्छु भन्छ भने त्यो आफैँमा अज्ञानी कुरा हो । किनभने ‘जीवनको बारेमा सोच्नु राजनीतिका बारेमा सोच्नु हो, राजनीतिका बारेमा सोच्नु जीवनका बारेमा सोच्नु हो ।’ । विचार गरौँ त के कोही आफ्नै जीवनका बारेमा पनि नसोची बस्न सक्छ ?
जो निरपेक्ष देखिन्छन् उनीहरू ठान्दछन्, ‘राजनीति बेराजगारहरूको काम हो । ज्ञानी मान्छेहरू राजनीतिमा जान हुँदैन ।’ किन ज्ञानी मान्छेहरू राजनीतिमा नजाने ? के आफूमाथि शासन गर्न अज्ञानीहरूलाई नै छोडिदिने ? के देश यसरी चल्छ ? देश बनाउनुपर्छ भन्नेहरूले देश बिगार्नेलाई सत्ताको ताला चाबी छोडिदिने हो भने, देश बनाउँछ कसले ?
आधुनिक सभ्यतामा राजनीति र जीवन अभिभाज्य छन् । राजनीति बिनाजीवन हुँदैन र जीवन बिना राजनीति हुँदैन । जस्तो सूर्य र प्रकाश । सूर्य छ उज्यालो हुन्छ, सूर्य छैन अध्याँरोको राज चल्छ । अतः कसैले राजनीतिका बारेमा सोच्दिनँ भन्नुको अर्थ हुन्छ, म मेरो जीवनको बारेमा पनि सोच्दिनँ । के जीवनको बारेमा नसोचेर पनि हामीलाई काम चल्छ ? चल्दैन । त्यसोभए राजनीतिका बारेमा नसोची हाम्रो जीवन चल्छ कसरी ?
राजनीति के हो ? किन सोच्नुपर्छ राजनीतिका बारेमा ? किनभने राजनीति हाम्रो जीवन धारा हो । देश बुझ्ने, समाज बुझ्ने, समाजलाई बदल्ने विषय राजनीति हो । जस्तो कि हामी किन गरिब छौँ ? हामी किन बेरोजगार छौँ ? हाम्रा देशमा किन अवसरहरू कम छन् ? हामी किन अमेरिका वा युरोप जस्तो भएनौँ ? यी प्रश्न भित्र छ राजनीति । जवाफ पनि राजनीतिले मात्र दिनसक्छ ।
यदि कोही शिक्षक बन्न चाहन्छ भने त्यहाँ पनि राजनीति छ । यदि कोही व्यवसायी बन्न चाहन्छ भने त्यहाँ पनि राजनीति छ । अर्थात् आफ्नै सपनालाई बुझ्न पनि मान्छेले राजनीति बुझ्नुपर्छ । आफ्नै जीवनलाई बुझ्न पनि मान्छेले राजनीति बुझनुपर्छ । यदि राजनीति कुरूप छ भने मान्छेको जीवन कुरूप हुन्छ । यदि राजनीति सुन्दर छ भने मान्छेको जीवन स्वयम् स्वर्ग बन्छ राजनीति प्रत्येक पल हामीसँगै हुन्छ । जस्तो की बिहान उठेपछि हामीले खाने चिया वा कफी कहाँबाट आउँछ ? त्यसको मूल्य कस्तो छ ? त्यो राजनीतिले निर्धारण गर्छ । अण्डाको मूल्य कति हुनुपर्छ ? त्यो राजनीतिले निर्धारण गर्छ । सहर कस्तो छ ? सडक कस्तो छ ? पसलमा के कस्ता सामान पाइन्छन् ? र, त्यसको मूल्य कसरी तय हुन्छ ? यो सबै राजनीतिले निर्धारण गर्छ ।
विचार गरौँ न तपाईंको गोजीमा भएको पैसाको हैसियत कसले निर्धारण गर्छ ? विदेश जाने पासपोर्टको रंग कसले छान्छ ? राजनीतिले । अर्थात् लेखन राजनीति हो । कविता राजनीति हो । समाज राजनीति हो । देश राजनीति हो । देश प्रेम राजनीति हो । हामी भित्र जन्मिने भावुकताहरू राजनीति हुन् ।
जब हाम्रो सारा जीवनलाई राजनीतिले प्रभावित गर्छ भने हामी राजनीति भन्दा भिन्न कसरी हुनसक्छौँ ? राजनीतिले हामीलाई यति धेरै प्रभाव पारिरहन्छ भने हामी राजनीतिलाई प्रभावित गर्न किन प्रयत्न गर्दैनौँ ?
राजनीति भनेको पार्टी खोल्नु र चुनाव लड्नु मात्र होइन । राजनीति भनेको स्वयम् आफैँलाई हेर्नु, आफ्नो जीवनलाई हेर्नु, आफ्नो इतिहासलाई हेर्नु र भविष्यलाई हेर्नु पनि हो । राजनीति भनेको के भइरहेको छ देख्नु, बुझ्नु, खोजी गर्नु र चित्त बुझ्दैन भने प्रश्न र आलोचना गर्नु हो । अथवा खराब परिस्थितीलाई बदल्न स्वयम्ले प्रयत्न गर्नु हो ।
किन आउनपर्छ ज्ञानीहरू राजनीतिमा ? अथवा तपाईं स्वयम् राजनीतिमा किन आउनुपर्छ ? यो निकै महत्त्वपूर्ण प्रश्न हो । तपाईं आफ्नो जीवनलाई कस्तो बनाउन चाहनुहुन्छ ? तपाईं आफ्ना सन्तानलाई कस्तो बनाउन चाहनुहुन्छ ? तपाईं उत्तर कोरियाजस्तो नेपाल चाहनुहुन्छ कि युरोपजस्तो ?
यी र यस्ता प्रश्न हुन्, जसको जवाफ राजनीतिले मात्र दिन सक्छ । यसकारण तपाईं आफ्नै जीवनलाई कस्तो बनाउन चाहनुहुन्छ ? यो प्रश्नको जवाफ खोज्न पनि राजनीतिमा आउनुपर्छ ।
किन आउनुपर्छ युवाहरू राजनीतिमा ? आफ्ना सपनाहरूमाथी स्वयम्को नियन्त्रण सुनिश्चित गर्न युवाहरू राजनीतिमा आउनुपर्छ । अन्यथा हाम्रो जीवन अरुको नियन्त्रणमा हुन्छ । हाम्रो जीवनको निर्णय अरुले गर्दछन् । आफ्नो जीवन स्वयम् आफ्नै नियन्त्रणभन्दा बाहिर हुनु जति गम्भीर सङ्कट के हुन्छ ?
यदि हामी राजनीति गर्दैनौँ या बुझ्दैनौँ भने हाम्रो जीवन र यसले भोगिरहेका सङ्कट बुझ्न सक्दैनौँ । जब सङ्कटहरू बुझ्न सकिँदैन, त्यसको समाधानबारे सोच्न सकिँदैन । जब ठीक ढङ्गले सोच्न सकिँदैन, समाधान असम्भव छ ।
विचार गरौँ त समाधानबिनाको जीवन कस्तो होला ? अतः राजनीति बुझ्न आवश्यक छ । राजनीतिमा भाग लिन आवश्यक छ । आफ्नो लागि आफैँले राजनीति गर्न आवश्यक छ ।
राजनीति र दलीय राजनीतिमा के फरक छ ? राजनीति सर्वत्र छ । तर, दलीय राजनीति, राजनीतिको विशाल संसार भित्रको एक भाग मात्र हो । जब मान्छेसँग शासनसत्ता जोडिन्छ, त्यससँग दुई हिसाबले हामी जोडिन सक्छौँ । एउटा स्वतन्त्र नागरिकको रूपमा प्रश्न, आलोचना र सहकार्य गरेर । दोश्रो सङ्गठित राजनीतिक प्रयत्नबाट । यस्तो सङ्गठित प्रयत्न; जसले स्वयम् सत्ता सञ्चालनको उद्देश्य राख्दछ ।
राजनीति र राज्यसत्ता कस्तो बनाउने भन्ने प्रश्नमा स्वतः राजनीतिक व्यवस्था जोडिन्छ । जब व्यवस्था जोडिन्छ, स्वभावतः लोकतन्त्र आउँछ, गणतन्त्र आउँछ, पार्टीहरू आउँछन्, तिनका विचार र मुद्दाहरू आउँछन् । जब हामी कुनै विचार, एजेण्डाहरूको पक्षमा उभिन्छौँ, त्यहाँबाट पार्टी राजनीति सुरू हुन्छ ।
हामी आम स्वतन्त्र र खुला राजनीति गरौँ या पार्टी राजनीति दुवैमा कुनै खराबी छैन । मुख्य कुरा हो, परिवर्तन । मुख्य कुरा हो, जीवन र जगत्मा बदलाव । अथवा सभ्यताको उन्नयन र प्रगति ।
यो अर्थमा पार्टीमा होस् वा पार्टी बाहिर जहाँ भएपनि राजनीति हामीसँग अभिभाज्य छ । राजनीति प्रत्येक व्यक्तिले स्वयम्लाई समाज, सत्ता र समयसँग जोड्ने एउटा आम प्रकृया हो । यसबाट कोही पनि भिन्न छैन । भिन्न हुँदैन।
प्रतिक्रिया