पाँच भाषाका पाँच रामायणको आलोकमाजानकी विवाहमा दहेजको प्रसङ्ग

सञ्जय साह मित्र २०८० मंसिर ३० गते १६:०३ मा प्रकाशित

जानकीको विवाह मर्यादापुरुषोत्तम रामचन्द्रसित भएको पौराणिक सन्दर्भ रहेको छ । रामचन्द्र (राम)को जन्मभूमि अयोध्या (अवध) र जानकी (सीता)को जन्मभूमि जनकपुर रहेको उल्लेख पाइन्छ । रामका पिता पनि राजा र सीताका पिता राजा नै रहेको उल्लेख पाइन्छ । आ–आफ्नो क्षेत्रका अतिविशिष्ट सम्मानित राजाका रुपमा दुवैको परिचय मुख्य गरी विभिन्न लेखकका रामायणहरुमा पाइन्छन् । राम र सीताका कारणले पनि पिताहरुको सम्मानमा वृद्धि भएको भएको देखिन्छ ।

यदि कालको दृष्टिकोणले विचार गर्ने हो भने रामायणकाल आजको भन्दा हजारौँ वर्ष पहिलेको हुनुपर्छ । कपितयले यसलाई साढे सात हजार वर्ष पहिलेको इतिहासको रुपमा अनुमान गर्दछन् । धार्मिक ग्रन्थहरुले गर्ने समयको गणनाले भने केही पृथक अनुमान हुन आउला । यत्ति पुरानो समयमा पनि वर्तमान सामाजिक वैवाहिक परम्पराका कतिपय कुरा मेल खान्छ । अहिले पनि समाजमा दहेज प्रथा चलनमा रहेको छ । यद्यपि दहेज अब कम भइसक्यो र तिलक बढेको छ तर दहेज प्रथा पूरै हराइसकेको छैन । राम र सीताको विवाहमा पनि दहेज दिइएको थियो । यसकारण रामायणहरुमा पनि दहेजको उल्लेख पाइन्छ । विभिन्न परिवेश र भाषामा अनेक लेखकद्वारा रामकथा लेखिएका छन् । राम र सीताको भेट प्रसंग अनि दुवैको रुप तथा गुण सौन्दर्यको वर्णन प्रायः सबै जसो रामायणमा मुक्त कण्ठले गरिएको छ । राम र सीतालाई अलौकिक, दिव्य र अवतारी मानिएको छ । हाम्रो सामाजिक परिवेशमा पनि राम विष्णु र सीता लक्ष्मीका अवतार हुन् ।

अहिले विवाहपञ्चमीको अवसरमा यहाँ पाँच परिवेश, पाँच भाषा र पाँच सम्मानित लेखकद्वारा लेखिएका पाँच प्रतिष्ठित रामायणमा उल्लेख गरिएको जानकी विवाहको दहेज प्रसंगलाई उल्लेख गरिएको छ ।

रामायणहरुमा सबैभन्दा पुरानो वाल्मीकीय रामायणलाई मानिएको छ । यो संस्कृत भाषामा लेखिएको हो । यो रामायण सबैभन्दा विश्वसनीय तथा लोकप्रिय रहेको मानिन्छ । पनि विदेहराज शिरध्वजले आफ्ना पुत्रीद्वय सीता र उर्मिलाको विवाह राम र लक्ष्मणसित गर्दा दहेज दिएको उल्लेख पाइन्छ । रामायणको संस्कृत श्लोकमा दहेजलाई कन्याधन भनिएको छ ।

वाल्मीकीय रामायणको बालकाण्डमा चौहत्तरौँ सर्गमा रहेका केही श्लोकहरुले विवाहोपरान्त शिरध्वजले छोरी र भतिजीहरुको विदाइ गर्दा पर्याप्त द्रव्य, मुद्रा तथा पशुधन कन्याधनको रुपमा प्रदान गरेको उल्लेख छ ।

अथ राजा विदेहानां ददौ कन्याधनं बहु ।
गवां शतसहस्राणि बहूनि मिथिलेश्वरः ।।३।।
कम्बलानां च मुख्यानां क्षौमान् कोट्यम्बराणि च ।
हस्त्यश्वरथपादातं दिव्यरूपं स्वलंकृतम् ।।४।।

अर्थात्, त्यत्तिवेला विदेहराज जनकले आफ्ना कन्याहरुको निमित्त दहेजमा निकै धेरै धन दिए । ती मिथिला नरेशले कैयौँ लाख गाई, कैयौँ निकै निकै राम्रा कालीन तथा करोडौँको संख्यामा रेशमी र सूती वस्त्र दिए, अनेक प्रकारको गहनाले सज्जिएको धेरै नै दिव्य हाती, घोडा, रथ तथा पैदल सैनिक पनि भेट दिए ।

ददौ कन्याशतं तासां दासीदासमनुत्तमम् ।

हिरण्यस्य सुवर्णस्य मुक्तानां विद्रुमस्य च ।।५।।

अर्थात्, आफ्ना छोरीहरुको लागि सहेलीको रुपमा उनले सय सय कन्या तथा उत्तम दासदासीहरु अर्पित गरे । यी सबै बाहेक राजाले तिनीहरुका लागि एक करोड स्वर्ण मुद्रा, रजत मुद्रा, मोती तथा मुँगा पनि दिए ।

ददौ राजा सुसंहृष्टः कन्याधनमनुत्तमम् ।
दत्त्वा बहुविधं राजा समनुज्ञाप्य पार्थिवम् ।।६।।

अर्थात्, यस प्रकार मिथिलापति राजा जनकले निकै हर्षका साथ उत्तमोत्तम कन्याधन (दहेज) दिए ।

जनमानसमा तुलसीकृत रामायण पनि निकै लोकप्रिय छ । तुलसीदासले लेखेको रामायणलाई ‘श्रीरामचरितमानस’ भनिएको छ । मधेशमा हुने अष्ठयाममा यही रामायणको पाठ गरिन्छ । भनिन्छ, यो रामायण अवधि भाषामा लेखिएको छ । यस रामायणका अनुसार पनि जानकी विवाहमा दहेजको सन्दर्भ केही श्लोकहरुमा स्पष्ट रुपमा उल्लेख पाइन्छ ।

भरि भरि बसहँ अपार कहारा ।
पठइँ जनक अनेक सुसारा ।।
तुरग लाख रथ सहस पचीसा ।
सकल सँवारे नख अरु सीसा ।।

अर्थात्, अपार सामग्री अगणित गोरुहरु तथा हारमाथि लादेर राजा जनकले पठाए । साथै जनकले सुन्दर पलङ पनि पठाए । फेरि एक लाख घोडा र पच्चीस हजार रथलाई सबैको शिरदेखि खुट्टासम्म सजाएर पठाए ।

मत्त महस दस सिंधुर साजे ।
जिन्हहि देखि दिसिकुंजर लाजे ।।
कनक बसन मनि भरि भरि जाना ।
महिषीं धेनु बस्तु बिधि नाना ।।

अर्थात्, साथै दश हजार मतवाला हात्ती सजाए जसलाई देखेर दिग्गज पनि लज्जित हुन्थे तथा सुवर्ण, मणि, वस्त्रादिले गाडीहरुलाई भरेर तथा गाई, भैँसी तथा अनेक पदार्थ दिए ।

दाइज अमित न सकिअ कहि दीन्ह बिदेहँ बहोरि ।
जो अवलोकत लोकपति लोक संपदा थोरि ।।

अर्थात्, यस प्रकार महाराज जनकले यत्ति अपार दहेज दिए जो भन्न पनि सकिँदैन । त्यसलाई देखेर लोकपतिले पनि आफ्नो लोकको सम्पत्तिलाई थोरै गन्ती गर्न (मान्न) थाले ।

यसै गरी नेपालीका आदिकवि भानुभक्त आचार्यले लेखेको रामायणमा पनि दाइजोको विषयमा केही श्लोक पाइन्छ । आचार्यले लेखेको रामायणलाई ‘भानुभक्तीय रामायण’ भन्ने गरिन्छ । यो नेपाली भाषामा लेखिएको छ । भानुभक्तलाई नेपाली साहित्यको कविता क्षेत्रको प्राथमिक कालमा भक्तिधाराका सर्वोच्च प्रतिभा मानिन्छ । भानुभक्तीय रामायणको बालकाण्डमा ११९ र १२० औँ श्लोकका दुई दुई हरफमा दहेजसम्बन्धी कुरा परेका छन् ।

दाईजो सय कोटि दौलत सहित् बेस् बेस् अयुत् रथ दिया ।
घोडा ता सय लाख दिया छ सय त खुप मत्त हात्ती थिया ।।

अर्थात्, दाइँजोमा सय करोडको सम्पत्तिसहित दश हजार रथ दिए । घोडा त सय लाख दिए । निकै मत्त छय सय हात्ती दिए ।

पैदल लस्कर एक लाख र सय तिन् केटी दियाध्या जसै ।
पूजा फेरि वशिष्ठको पनि गर्या भारी डबल्ले तसै ।।

अर्थात्, पैदल लस्कर एक लाख दिए । तीन सय केटी पनि दिएर पठाए । सम्भवतः, एक लाख सेवकहरु तथा तीन सय सेविकाहरु दिएर पठाए भनिएको हुनुपर्छ ।

बज्जिका रामायणमा पनि थोरै भए पनि भानुभक्तीय रामायणमा जस्तै दहेजको बारेमा केही शब्द खर्च गरिएका छन् । बज्जिका रामायणलाई ‘रामाएन’ भनिएको छ । यस रामायणका लेखक हुन् – अवधेश्वर अरुण । यिनी मुजफ्फरपुरका विद्वान् हुन् । गत वर्ष मात्र देहान्त भएका अरुण औपचारिक शिक्षामा डि.लिट्. उपाधि प्राप्त छन् । प्रा.डा. अरुण कैयौँलाई पि.एचडी. उपाधि दिने विशिष्ट विद्वान् हुन् । उनको रामायण अत्यन्त चर्चित छ । विभिन्न मठमा तथा अष्टयाममा पनि बज्जिका रामायणको पाठ गरिन्छ । यस रामायणको दुई श्लोकका केही सन्दर्भमा जानकी विवाहपश्चात् दहेज पठाइएको सन्दर्भ पाइन्छ ।

राजा दसरथ जब बिदाई लेल जोर कएलन
होए लागल बिध बेहबार ।
सजे लागल डाला–दउरा, दानऽ आ दहेज लेल
दास–दासी भेल तइआर ।

अर्थात्, राम–जानकीको विवाहपछि राजा दशरथले जब बिदाइको लागि जोर दिन थाले तब बिदाइको विधि व्यवहार सुरु भयो । दान दहेजको लागि विभिन्न सामग्रीहरु तयार हुन थाले । दास र दासीहरु पनि तयार भए ।

दान दहेज बिदाई से खुस सब्भे बरिआत ।
कनिया बिदा करा चलल कोसलपति के साथ ।।

अर्थात्, जानकी विवाहमा विदेहराजले दिएको दान तथा दहेज र बिदाईले सम्पूर्ण बरियाती (जन्ती) खुसी छन् । दुलहीलाई बिदा गराई सबै जना कोशलपति दशरथका साथ हिँडे ।

सत्यराम वत्सले लेखेको गद्यरामायण नितान्त फरक किसिमको रहेको छ । जहाँ रामायण भन्नासाथ मनमा पद्यात्मकतामा रामाख्यान बुझिन्छ त्यहीँ यसलाई औपन्यासिक शैली दिइएको छ तर यसमा गज्जब तर्कहरु दिइएका छन् । यो हिन्दी भाषामा लेखिएको छ । शीर्षक चाहिँ रामायण नै रहेको छ । यस रामायणको आफ्नै मूल्य रहेको छ । यस हिन्दी रामायणमा जानकी विवाहको सन्दर्भमा दहेजको विषयमा एक सानो अनुच्छेद रहेको छ ।

“महाराज दशरथ भी अयोध्या लौटने की तैयारी करने लगे । राजा जनक ने पुत्रियों को दहेज के रुप मे गौएँ, कम्बल, कालीन तथा रेशमी और सूती वस्त्र दिये । सजे हुने हाथी, घोडें, रथ और पालिकियाँ तथा दास–दासियां भी दी गई । इसके अतिरिक्त एक करोड सोनें की मोहरें, हीरे–मोती तथा अन्य बहुमूल्य वस्तुएं प्रदान कीं ।”

अर्थात्, महाराज दशरथ पनि घर (अयोध्या) फर्किने तयारी गर्न थाले । राजा जनकले पुत्रीहरु अर्थात् विवाहिता छोरीहरुलाई दहेजको रुपमा गाईहरु, कम्बल, कालीन तथा रेशमी र सूती कपडाहरु दिए । सजाइएको हात्ती, घोडा तथा रथ र पालकहरु तथा दास–दासीहरु पनि दिइए । यसका अतिरिक्त एक करोड सुनको मोहर, हीरा, मोती तथा अन्य बहुमूल्य वस्तुहरु प्रदान गरे ।

यसरी विभिन्न परिवेशमा लेखिएका संस्कृत, हिन्दी, नेपाली, अवधि र बज्जिका रामायणमा दहेजको कुरा स्पष्टसित लेखिएको पाइएको छ । यी रामायणहरुको अध्ययन गर्दा दहेजको विषयमा विचारणीय सन्दर्भमा भने एक रुपता देखिन्छ ।

माथि वर्णित र सन्दर्भमा आएका रामायणहरु एकै समयमा लेखिएका होइनन्, जहाँ बसेर कृति लेखियो ती ठाउँहरु पनि निकै टाढा टाढा रहेका छन् । युग फरक, लेखक फरक, शैली र आयाम फरक, भूगोल फरक तर सबैमा लगभग एक भाव देखिन्छ दहेजको सन्दर्भमा । भानुभक्तीय रामायणमा दहेजको ठाउँमा दाईजो शब्दको प्रयोग गरिएको छ । नेपाली संस्कृतिमा तिलक, दहेज, दाइँजो एउटै होला तर मधेशी संस्कृतिमा भने यी तिनै शब्दले सांस्कृतिक पार्थक्यको अर्थ र भाव ग्रहण गर्दछन् । विवाहोपरान्त दुलही पक्षले स्वेच्छाले दिने दान दहेज हो । अरुणको बज्जिका रामायणमा यसैले दान दहेज शब्दको उपयोग गरिएको छ ।

दुलहा पक्षका प्रमुख अयोध्यापति राजा दशरथले कुनै पनि सामान नगद वा जिन्सी कतै मागेको प्रसंग पाइन्न । मिथिलाधीश शिरध्वज (जनक)लाई कतै पनि दहेज दिनु कर वा बाध्यता रहेको जस्तो अर्थ लाग्ने शब्द वा भाव कतै पनि उल्लेख पाइन्न । साथै शिरध्वजले आफ्ना छोरीहरु (संकाश्या नरेश भाइ कुशध्वजका छोरीहरु माण्डवी र श्रुतकीर्तिसमेत)को विवाहमा जुन दहेज दिएका छन्, आफूखुसी दिएका छन् । दहेज दिएपछि राजा सन्तुष्ट भएको उल्लेख गरिएको छ । अर्थात् अनेक रत्न, धन, दासदासी प्रदान गरेर राजा शिरध्वज जनक सन्तुष्ट बनेका छन् । सम्भवतः यसै सन्तुष्टिमा राजा कुशध्वजको पनि उत्कर्ष रहेको छ । यसबाट यो सिद्ध हुन आउँछ कि त्यसवेलासम्म दहेजप्रथा स्वैच्छिक थियो ।

हाम्रो सामाजिक परम्परामा आज पनि विवाहपञ्चमीको सन्दर्भ आउँदा अत्यन्त श्रद्धाले राम–जानकीको विवाह र जनक शिरध्वजले दिएका दहेजहरुको बारेमा स्वादले चर्चा हुन्छ । विभिन्न लोकगीतहरुमा पनि जानकीको विवाहमा तिलकोत्सव आयोजन गरिएको चर्चा पाइन्छ । पहिले तिलकोत्सवको परम्परा थियो र अझै पनि यो पूरा लोप भइसकेको छैन ।

शुक्रवार, २९ मङ्सिर २०८०
मित्रनगर, गरुडा ४, रौतहट

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया