सुदुर पश्चिम लगानी सम्मेलनका लागि प्रदेशका मुख्यमन्त्रीले गरे एनआरएन पुर्वअध्यक्षहरुसंग  परामर्श 

इनेप्लिज २०८० मंसिर ३० गते १३:२८ मा प्रकाशित

काठमाडौं । 

सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन – २०८० को तयारीमा जुटेको सुदुर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसंग भेटघाट र छलफल तिब्र पारेको छ ।

शनिवार काठमाण्डौंमा मुख्यमन्त्री कमल बहादुर शाह र गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा.  उपेन्द्र महतोबीचमा लगानी तथा विकास सम्मेलनमा विषयमा छलफल भयो ।

छलफलका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एनआरएनएका पूर्व अध्यक्षद्धय लामिछाने र महतोसंग आग्रह गरे ।

प्रदेश सरकारले लगानीका लागि आवश्यक नीति र वातावरण बनाउने आश्वस्त पार्दै मुख्यमन्त्री शाहले सुदूर पश्चिममा लगानी गर्न आग्रह गरे ।

उनले पूर्व अध्यक्षद्धय लामिछाने र महतोलाई फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलनमा सहभागी हुन आग्रह गरे ।

एनआरएनएका पूर्व अध्यक्ष एवं सानिमा ग्रुपका अध्यक्ष लामिछानेले सुदूरपश्चिममा आफ्नो समूह लगानी गर्न तयार रहेको र त्यसका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकारसंग आग्रह गरे ।

एनआरएनएका संस्थापक अध्यक्ष तथा मेडसिटी अस्पतालका अध्यक्ष  डा. महतोले पनि सुदूरपश्चिममा लगानी गर्ने प्रतिबद्धता गरे ।

मुख्यमन्त्रीको निमन्त्रणा स्वीकार गर्दै पूर्व अध्यक्षद्धय लामिछाने र महतोले लगानी तथा विकास सम्मेलनमा सहभागी हुने जानकारी गराए ।

लगानी तथा विकास सम्मेलनका लागि अन्तर्राष्ट्रिय संयोजक हिक्मत थापाको संयोजनमा आयोजित छलफलमा सुदुर पश्चिम सरकारका भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाही समेत सहभागी थिए ।

यसअघि मुख्यमन्त्री र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेबीच पनि लगानी तथा विकास सम्मेलनका सम्बन्धमा छलफल भएको थियो । छलफलमा डा. घलेले सहभागीताका लागि निमन्त्रणा स्वीकार गर्दै उपयुक्त प्रोजेक्टहरु पहिचान गर्दै लगानीकर्ता बिच प्रस्तुत गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया