सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौला सम्मानित हुने

इनेप्लिज २०८० मंसिर २५ गते १०:५८ मा प्रकाशित

२०८० असोज १५, सिलगढी, दार्जिलिङ ।


युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको छ ।

सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

सम्मानित हुनुहुने सर्जक कृष्ण प्रधान साहित्य सिर्जना र पत्रकारितामा लामो समयदेखि योगदान गर्दै आउनु भएको छ । पेशाले अध्यापन गर्नु हुने प्रधानका कविता, (लामो कविता), गीत, हास्यव्यङ्ग्य निबन्ध र समालोचनाका चालिस कृतिहरु प्रकाशित रहेका छन् । सर्जक प्रधानले विभिन्न संस्थाबाट ११२ भन्दा बढी सम्मान र पुरस्कार पाउनु भएको छ ।

प्रधान आकाशवाणी खरसाङको अनुमोदित गीतकार र फुटबल कमेण्टेटर पनि हुनुहुन्छ ।

यसैगरी अर्का सम्मानित पत्रकार एवं सर्जक चन्द्र भण्डारी लामो समयदेखि पत्रकारिता गर्दै गीत, कविता, कथा, संस्मरणमा कलम चलाउँदै आउनु भएको छ । भण्डारी गीत सिर्जनामात्र गर्नु हुन्न आफै गीत गाउनु पनि हुन्छ ।

वि. सं. २०२४ देखि साहित्य सिर्जनामा लाग्नु भएका भण्डारीका ४०० बढी कविता, ३०० बढी गीत, २५ कथा,३ ओटा गीति एल्बम रहेका छन् । भण्डारीका जेल संस्मरणलगायतका कृतिहरु प्रकाशोन्मुख रहेका छन् ।

भण्डारीले आँखो, देवानछाप, स्मारक, मेचीनगर, साराँश, प्रकाश, युगज्ञान, सुगन्ध जस्ता पुस्तक पत्रपत्रिकाको सम्पादन पनि गर्नु भएको छ । उहाँ विभिन्न एक दर्जनबढी संघसंस्थाबाट सम्मानित र पुरस्कृत हुनुभएको छ । बिगत ३० बर्षदेखि पत्रकारितामा गर्दै आउनु भएका भण्डारीले २०बर्ष अघिबाट रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण पनि गर्दै आउनु भएको छ ।

सम्मानित हुनुहुने अर्का विश्वकीर्तिमानी सर्जक डा. डी. आर. उपाध्याय उपन्यास, कविता, गीत, कथा, विभिन्न विषयमा लेख रचना लेख्नु हुन्छ । डा. उपाध्यायले १४ उपन्यास, २०० बढी गीत सिर्जना, सङ्गीत र गायन पनि गर्नु भएको छ । ३३ बढी म्युजिक एल्बम निकाल्नु भएका डा. उपाध्यायले १३२ बढी विश्वकीर्तिमानी अवार्ड र अन्य थुप्रै सम्मान र पुरस्कार पाउनु भएको छ । उहाँका ३ ओटा गीत सङ्ग्रह पनि प्रकाशित रहेका छन् ।

डा. उपाध्याय नेपालका लागि America book of recods usa, European record books hungary र The british world records
London को Brand ambassador हुनुहुन्छ ।

यस्तै अर्का सम्मानित सर्जक अनिता निरौलाले लघुकथा, नाटक, जीवनी, निबन्ध, अनुवाद, पत्रकारितामा योगदान गर्दै आउनु भएको छ । उहाँका Black n White सिक्किममा सङ्गीतभित्रकाहरु र साहित्यकार सानुभाई शर्माको मोनोग्राफ कृतिहरु प्रकाशित रहेका छन् ।

विगत ४५ बर्षदेखि आकाशवाणीलगायतमा पत्रकारितामा योगदान गर्दै फेसबुक र युट्युब पेजमा “वाणी” को संचालन गर्नु हुने निरौलाको वृत्तचित्र निर्माण पनि योगदान रहेको छ । उहाँका हिन्दी कविता र लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशीत रहेका छन् । शिक्षण पेशामा समेत रहिसक्नु भएकी निरौलाले नेपाली साङ्गीतिक कार्यक्रममा प्रत्यक्ष पाश्व उद्घोषक भएर पनि योगदान गर्नु भएको छ ।

इन्डिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल सर्जक निरौलाले शोभा राई खोजी पत्रकारिता पुरस्कार, प्रेस क्लब अफ सिक्किम र W factor बाट Woman achiever सम्मानलगायतका सम्मान र पुरस्कार पाउनु भएको छ ।

स्मरण रहोस गुठीले यसअगि जसयोन्जन प्यासीलाई सम्मान गरिसकेको छ भने प्रा. डा. गोविन्दराज भट्टराई र जीवन नाम्दुङलाई पुरस्कृत गरिसकेको छ । यसैगरी आगामी जनवरीमा प्रदान गरिने युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार डा. अभि सुवेदीलाई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार गोकुल सिन्हालाई प्रदान गरिने घोषणा पनि गरिसकेको छ ।

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो ।

प्रतिक्रिया