विश : डिज्नी को दर्शनीय एनिमेसन सिनेमा

नवीन रायमाझी २०८० मंसिर २० गते ०:०५ मा प्रकाशित

मिक्की माउस, डोनाल्ड डक, सिन्ड्रेला, गुफी जस्ता लोकप्रिय कार्टुन चरित्र का परिकल्पनाकार तथा सिनेमा निर्माता तथा कार्टुनिस्ट वाल्टर इलिअस अर्थात् वाल्ट डिज्नी (सन् १९०१-१९६६) को द वाल्ट डिज्नी कम्पनीले आफ्नो स्थापनाको एक सय बर्ष पुरा भएको अबसरमा “विश” नामक सिनेमा लिएर दर्शक समक्ष आएको छ जो गत हफ्ता रिलिज भएको हो। चलन चल्तीको भाषामा कार्टुन भनिने एनिमेसन सिनेमाका जन्मदाता वाल्ट डिज्नी र उनको निर्माण संस्था द वाल्ट डिज्नी कम्पनीले निर्माण गरेको सिनेमा हरुले मुख्यत बालबालिका हरुलाई मनोरन्जन गर्दै आएको छ।

सिनेमा को कथा अनुसार राजा मैग्निफिको( क्रिस पाइन) र उनकी पत्नी रानी अमाया (एन्जेलिक काब्राल) रोसेस नामक काल्पनिक राज्य मा साशन गर्छन। राजा मैग्निफिकोले एक अदृश्य शक्तिको सहयोगमा जादुको शिक्षा हासिल गरेर सम्पूर्ण प्रजा हरुको इच्छा पुरा गर्न सक्ने क्षमता राख्छन। यो राज्यमा कुनै पनि नागरिकको उमेर जब १८ बर्ष पुग्छ त्यो राजा समक्ष गएर आफ्नो भित्रि इच्छा बताउनु पर्ने नियम छ र राजाले त्यो सबैको इच्छा एउटा गोप्य स्थानमा लगेर राख्छन। नागरिक हरुको इच्छा पुरा गर्ने समारोहको आयोजना हुने समारोहमा एक १७ बर्षिय बालिका आशा (अरियाना डेबोस) आफ्नो एक सय बर्षिय हजुर बुवा सबिनो (भिक्टर गार्बर) को इच्छा पुरा भएको हेर्न आएकी हुन्छिन। त्यसै समय उनलाई राजा बास्तबमा धुर्त र बदमास भएको र नागरिक हरुको इच्छा पुरा हुने समयमा आफुले सबै बिर्सेको नाटक गर्ने गरेको र नागरिक हरुको इच्छा पुरा गर्ने कुनै मनसाय नभएको रहस्य पता लाग्छ। त्यसपछि के कस्ता घटना घट्न पुग्छ र राजाको अन्त कसरी हुन्छ भन्ने थाहा पाउन सिनेमा हेर्दा नै रोचक हुन्छ।

सिनेमा पूर्ण रुपमा एनिमेसन भएको कारण अभिनय भन्दा पनि चरित्र हरुको आवाज दिने कलाकार हरुको आवाजको तारिफ गर्दा फरक पर्दैन। लोकप्रिय र चर्चित कलाकार हरुको आवाजले सिनेमा लाइ दर्शनीय बनाएको छ। सिनेमाको कथा जेनिफर ली र एलिनसन मूर ले लेखेका छन् र सिनेमा को निर्देशन क्रिस बक र फन वीरासनथर्नले गरेका छन्, जो तारिफयोग्य छ। डिज्नीको सिनेमाको अर्को आकर्षण सङ्गीत पनि हो जसलाई सङ्गीतकार डेभ मेट्जरले सुमधुर धुनले सजाएका छन्। एडम ग्रिनले आफ्ना ७५ जना सहयोगी सँग मिलेर गरेको एनिमेसन लाइ टु डि र थ्री डि दुबैलाई मिलाएर निर्माण गरेका छन् र सम्पादक जेफ डेरिमले पनि सिनेमाको चुस्त सम्पादन गरेर सिनेमा को गति लाइ मर्न दिएका छैनन्।

अँग्रेजी भाषा मा दखल भएका र एनिमेसन सिनेमा का पारखी अर्थात डिज्नीका कार्टुन चरित्र हरुको बारेमा जानकारी भएका हरुले एक घन्टा ३५ मिनेट को यो सिनेमा हेरेर पूर्ण मनोरन्जन लिने कुरामा दुइ मत छैन तर यी कुराहरुको जानकारी नभएका दर्शक हरुलाई सिनेमा हेरेको भनेर कसैले सोध्यो भने मैले हेरेको छु भन्नु बाहेक अरु कुनै फाइदा हुँदैन।

@twitter#naviinr

नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया