“समय र प्रसंगले अर्कों अर्थ नलागेमा”

इनेप्लिज २०८० मंसिर १८ गते २२:५५ मा प्रकाशित

लक्ष्मी श्रेष्ठ । बिहान देखि धुम्म परेर धरधरी आकाश रोईरहेकोछ। डिसेम्बर महिनाको ३ दिन पनि बित्नै आँटेको छ।साँच्चै भन्ने हो भने ओछ्यानबाट उठ्न मन पनि छैन। हुनत उठेर पनि कहाँ नै पुग्नु छ र? गएको नोभेम्बर २८ तारीख देखि रुघा खोकीले त्यत्तिकै झुम्म पारीरहेकैछ। टेबलभरी रुघा खोकीका औषधिहरु लाईन लागेका छन्। शरिरले उछार पाएको छैन। यो औषधि खाएर छिट्टो ठिक हुन्छ कि त्यो खाएर? शरिर पनि कमजोर महशुस भैरहेछ। कोरोना लाग्नु अघि रुघा लागेर म कहिल्यै ओछ्यानमा ढलेको याद छैन। रुघाले जति थलाउन खोजे पनि पेलेर काममा जान्थें। तर यसपाली त २ दिन ओछ्यानमा मजाले ढलें काममा जान नसक्ने गरी। के गर्नु सब समय समयको खेल रहेछ।

कुखुराको सुप, अदुवा र जीराको पानी पिउँदा पिउँदै मुखका छालहरु पनि सेतै पाछीसकेका छन्। बास्नादार मैन बत्ति बाल्दा पनि कुखुरा र जीराको बास्नाले घरका कुना कुना नै ठसक्क बास्नादार बनिसकेकोछ। आ लज्जा, जे पर्ला पर्ला! उठेर पर्दा बाँध्दै घरको भएभरको सबै झ्यालहरु खोलिदिएँ।

अकस्मात् एउटा अमेरीकामा नै बसोबास गर्नुहुने हाम्रो नेपाली लेखकको फेसबुक स्ट्याटसले झसक्क झस्कायो।

सिरानीमा अडेस लगाएर श्रीमान् ले तयार पार्नु भएको मह राखेको तातो पानी पिउँदै एउटा साहित्यिक खुराक पल्टाउँदै थिएँ अकस्मात् एउटा अमेरीकामा नै बसोबास गर्नुहुने हाम्रो नेपाली लेखकको फेसबुक स्ट्याटसले झसक्क झस्कायो। त्यसमा लेखिएको थियो “ अमेरीकामा बस्ने लेखकहरुको कृति छेउ न टुप्पाको”। या नि कि स्तर बिहीन। हुनत उहाँले कसैको नाम किटान गरेर लेख्नु भएको थिएन तर म पनि अमेरीकामानै बसोबास गर्ने, लेख्न रुचि राख्ने र आफ्नो सानै देखिको सपना पूरा गर्दै नेपाली साहित्यमा २/४ वटा ईंटा थप्ने पबित्र उद्धेष्यले ४ वटा कृती र ५/६ वटा नेपाली गितहरु युट्यबमा निकालिसकेको साहित्य प्रेमी भएर होला त्यो उहाँको स्ट्याटसले मलाई नराम्रोसंग घोचेको थियो। आखिर म पनि त मान्छे नै हुँ नि!

पहिला-पहिला नेपालका मैं हुँ भन्ने साहित्यकारहरुले प्रबासमा बस्ने लेखकहरुले पैसाको तुजुकमा साहित्य सृजना गर्छन् भन्ने कुरा त सुनेकै हो तर अमेरीकामा नै बसोबास गर्ने लेखकले अमेरीकामा बसेर कृति निकाल्ने लेखकहरुलाई यसरी होच्याएर लेखेको चाहीं मैले पढेको थिईंन। म बडो सोचमग्न भएँ। हो उहाँ लेखकको लेख्ने शैली राम्रो छ। मलाई मनपर्छ र उहाँको प्रायः लेखहरु पढेर म राम्रो लागेको कुरा प्रतिकृया दिंदै आएकोछु। तर उहाँको यो स्ट्याटससंग भने म पटक्कै सहमत हुन सकिन र प्रतिकृया नलेखि बस्न पनि सकिन। आफुलाई चित्त बुझेको या नबुझेको कुरामा आफ्नो विचार पोख्नु मेरो नानी देखिको बानी पनि हो। त्यो बानी मेरो आजसम्म यथावत् नै छ। पढाउँदा नबुझेको कुरा अनि आफुलाई मनमा खट्केका कुराहरु आफ्नो शिक्षक शिक्षिकाहरुसंग पनि नलजाईकन निडर भएर प्रश्न सोध्ने बानीले गर्दा स्कुलमा पढ्दा मेरा साथीहरुले “ हाकिम साब” भनेर उपनाम राखेको सम्झेर अझै पनि बेला बेला हास उठ्छ।

“ एउटा लेखक/ साहित्यकार जसले म राम्रो लेख्छु भनेर आफैंमा गर्व गर्नु राम्रो कुरा हो तर यसो भन्दैमा “ अमेरीकामा बसोबास गर्ने सम्पूर्ण लेखक र साहित्यकारहरुलाई नै मुछेर अमेरीकाका लेखक/साहित्यकारहरुको कृति स्तर बिहीन र लेखहरु/ साहित्यहरु छेउ न टुप्पोको” भन्नु कत्ति न्यायोचित??

आफ्नै हातका औंलाहरु त सबै बराबर छैनन भने? हो पक्कै पनि कसैका राम्रा होलान्, कसैका नहोलान्। त्यसमा दुईमत छैनन्। एउटी आमाको कोखबाट सबल, दुर्बल सबैखाले सन्तान जन्मन सक्छन्। दुर्बल जन्म्यो भन्दैमा सबलले हेला गर्ने? होच्याएर कुरा गर्ने? सबैको एउटै उस्तै दिमाग़ हुन्छ? सकेसम्म आफ्नो कृति कस्ले पो नराम्रो होस् भनेर सोच्छ र?

जान्ने मान्छे, राम्रो लेख्ने मान्छे या समिक्षकले कहाँनिर खुराक पुगेन के गर्दा राम्रो हुन्छ? उचित सुझाव र सल्लाह दिंदा अमेरीकाका लेखकको लेखहरु पनि स्तरीय बन्न सक्ला नि! न कि कसैको कमी र कमजोरी माथि धज्जि उडाउनु। कि कसो त प्रियजनहरु?

अमेरीकामा बस्ने कमाउने भन्दैमा रुखबाट डलर बर्संदैन क्यारे। आफ्नो चोखो पसिनाको कमाई खाएर महिनाको सबै विलहरु तिर्दा, छोरा-छोरीको कलेजको खर्च भर्दा, फर्माईस पुरा गर्दा पैसा बचाउन कहाँ सजिलो छ र?

आफुलाई चित्त बुझेको या नबुझेको कुरामा आफ्नो विचार पोख्नु मेरो नानी देखिको बानी पनि हो। त्यो बानी मेरो आजसम्म यथावत् नै छ।

तर “जहाँ ईच्छा त्यहाँ उपाए” भने झैं आ-आफ्नै सौखको कुरा हो आफ्नो कृति निकाल्न सजिलै पैसाको जोहो भने गरिन्छ।
अमेरीकामा लेख्ने फुर्सद नै कहाँ हुन्छ र हामी जस्ता साहित्य प्रेमीहरुलाई ?

आफ्नो काम, घर परिवार, सामाजिक उत्तरदायित्व निभाएर बचेखुचेको समयमा पनि परिवारसंग चोरेको समयमा साहित्यको सृजना गर्नु पर्ने हुन्छ। नाच्नु, गाउनु जस्तै लेख्नु पनि एक किसिमको मानसिक थेरापी नै हो भन्दा फरक नपर्ला।

“मनले सलाम यो कलमलाई ! अमेरिकाको जागिर जहां एक मिनट व्यक्तिगत काम गर्न मिल्दैन , बरोबरको सामाजिक संलग्नता अनि घर परिवारको उत्तरदायित्व ! अब लेखपढको समय कहां छ ? तर ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल ..हो नि ! लगातार सलल्ल बगेका भाषामा सृजनाहरु आइरहेकै छन् ! परदेशको जीवनका कथा व्यथाहरु समेटिएका अनेकौं सृजनाहरु आइरहू्न प्रतिभाशाली छोरीका कलमबाट ..”

अरु ठुला लेखक र साहित्यकारहरुले पनि हामी जस्ता साहित्य प्रेमी लेखकहरुको लेख पढेर मेरी आदरणिय ठुली आमा साहित्यकार “सृजना काफ्ले” ले दिनु भएको जस्तो प्रतिक्रिया दिन सक्यो भने हामी जस्ता लेखकहरुलाई स्तरीय लेख लेख्ने हौसला र प्रेरणा मिल्छ।

अमेरीकाका लेखक र कृतिहरुले नेपालमा थोरै मात्रामा भएपनि प्रतक्ष्य-अप्रत्यक्ष रुपमा आर्थिक टेवा पुगेको कुरा कसैले नकार्न सक्दैन।

यस पक्षलाई भुसुक्कै बिर्सेर अमेरीका या बिदेशमा बस्ने लेखक/साहित्यकारहरुले प्रकाशन गरेका कृति लेख/साहित्यको धज्जी उडाउनु र लेखकहरुको खिल्लि उडाउनुको साटो ठुल-ठुला लेखक र साहित्यकारहरुले उनीहरुलाई हौसला दिंदै, आबश्यक सहयोग गर्दै कृतिहरुको स्वच्छ समिक्षा/आलोचना गर्नुपर्ने कुरामा कसैको दुईमत नहोला। कि कसो त प्रियजनहरु??

लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्यूयोर्क, यु. एस. ए.

प्रतिक्रिया