राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार विदेश भ्रमणमा जान लागेका छन् । सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहोरालाई लिएर रास्वपा सभापति लामिछाने मलेसिया भ्रमणमा जान लागेका हुन् ।
विभिन्न कार्यक्रममा सहभागी हुनका लागि लामिछाने तीनदिनका लागि मलेसिया भ्रमणमा जान लागेको पार्टी सहप्रवक्ता तथा सभापतिको सचिवालय संयोजक प्रतिभा रावलले जानकारी दिए । शनिबार राति १०:२० बजे मलेसिया जान लागेका लामिछाने त्यहाँ रहेका नेपालीसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
रावलकाअनुसार आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ । त्यस्तै, सोमबार मलेसियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।
सभापति लामिछाने विदेश भ्रमणमा रहेका बेला कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई र संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठलाई संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी तोकिएको सहप्रवक्ता रावलले जानकारी दिइन् ।
लामिछाने मंसिर १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
प्रतिक्रिया