मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जना (आमा, बाबु र छोरी)को मृत्यु भएको छ।
प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजेतिर मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा दुर्घटना भएको थियो। मोटरसाइकल चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका थिए। उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको थियो।
गम्भीर घाइते भएका भीमबहादुरको पनि थप उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए। गम्भीर घाइते भएका भीमबहादुरको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो।
सुकौराबाट कान्ति लोकपथतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो।
प्रतिक्रिया