भगवान बुद्ध पनि निरुत्तर बन्नु परेको त्यो पल

रमेश ढकाल झापा, भद्रपुर–७ (हालः दोहा–कतार) २०८० मंसिर १० गते १२:५३ मा प्रकाशित

गौतम बुद्ध घरबाट निस्किएको १२ वर्षपछि बुद्धत्व प्राप्त गरेर घर फर्किएका हुन्छन् । जुन दिन उनी घरबाट निस्कदै थिए, त्यो दिन उनका छोरा राहुल मात्र एक दिनका थिए । फर्कदा उनै छोरा राहुल १२ वर्षको भएका हुन्छन् । १२ वर्ष अघि कसैलाई केही नभनि घरबाट सुटुक्क निस्किएका बुद्धसँग उनकी श्रीमती यशोधरा निक्कै रिसाएकी हुन्छिन् । उनको रिस स्वभाविक पनि थियो । रिसको आवेगमा उनले गौतम बुद्धलाई त्यतिखेर निक्कै कडा प्रश्न गर्छिन् ।

भन्छिन्, म यो भन्दिन कि तिमीले मलाई सम्मान दिएनौ ! तिमीले मलाई अत्यन्तै धेरै माया र सम्मान दियौं । तर के तिमीले मेरो अस्तित्वलाई साँचो अर्थमा जान्यौ ? तिमीमा ममाथि यति पनि भरोसा थिएन कि घर छोडेर जाँदै गर्दा मलाई एक वचन सोध्न पनि सकेनौ !

तिमीले के सोच्यौ ? मलाई सोधेको भए म तिमीलाई रोक्ने थिए ! म पनि एक क्षत्रिय नारी हुँ ! यदि हामी क्षत्राणीहरु लडाईमा निस्कन लागेको आफ्नो पतिलाई गर्वका साथ तिलक र टिका लगाएर विदा गर्ने हिम्मत राख्छौ भने सत्यको खोजीमा निस्कन लागेको आफ्नो पतिलाई म उसै भाँती तिलक र टिका लगाएर पठाउने थिइन होला र ?

तिमीले मेरो ठुलो अपमान गर्यौ । यो अपमान तिमीले मलाई छोडेर गएकाले होइन । मैले अपमानित यस कारण महसुस गरें कि घर छोडेर जाँदै गर्दा तिमीले मलाई एक वचन सोध्नका लागि लायक पनि सम्झन सकेनौ । कमसेकम एक पटक सोधेर त हेर्थ्यौ ! मलाई एउटा मौका त दिएर हेर्थ्यौ ! म तिमीलाई रोक्नका लागि रुने, कराउने, कुनै अवरोध सिर्जना गर्ने कोसिस गर्ने थिए वा तिमीलाई तिलक लगाएर विदा गर्ने थिए !

भनिन्छ, बुद्धलाई अनगिन्ती मान्छेले अनगिन्ती प्रश्नहरू सोधेका छन् । तर उनको सिङ्गो जीवनमा केवल त्यही दिन, त्यही क्षण यस्तो बन्न पुग्यो, जुन दिन, जुन क्षण उनले कुनै जवाफ दिन सकेनन् । उनी निरुत्तर बने ।

यशोधरा यतिमै चुप रहिनन् । उनले फेरि अर्को तर्क राखिन् । सोधिन् – तिमी आफ्नो छातीमा हात राखेर भन, जुन सत्यको प्राप्ति तिमीले जंगलमा बसेर गर्यौ, के त्यो यहीँ घरमै बसेर प्राप्त गर्न सम्भव थिएन र ?

सम्भव थिएन भनेर भगवान बुद्ध कसरी भन्न सक्थे र ! सत्य त सबै तिर हुन्छ – घरमा, बनमा, बजारमा । यो अलग्गै कुरा हो कि, जो घरमा छ, जो बजारमा छ, ऊ सोच्दो होला कि यहाँ बसेर सत्यको प्राप्ति हुन सक्दैन भनेर । तर सत्य प्राप्ति भए पश्चात भने उनी कसरी भन्न सक्थे कि, प्राप्त हुँदैन भनेर । यदि सत्य बनको कुनै रुख मुनि गएर बस्ता बोध भयो भने, घरकै कुनै कोठामा बसेको भए पनि त बोध हुने सक्ने थियो होला । बुद्ध फेरी पनि चुप नै रहे ।

बुद्धको मौनताले यशोधरा भित्रको आवेगलाई अझ धेरै भड्काउँछ । उनी अझ धेरै आक्रामक बन्छिन् । उनले छोरा राहुललाई अगाडि ल्याउछिन् र बुद्धका तर्फ देखाउँदै भन्छिन् – छोरा यी मान्छेलाई हेर ! यी मान्छे, जो आज एउटा भिक्षुको रुपमा भिक्षा पात्र बोकेर तिम्रो अगाडि उभिएका छन् – यी तिम्रा पिता हुन् !

राहुल तिमीलाई थाहा छैन, तिम्रा पिता तिमी जन्मिएकै दिन तिम्रो सुत्केरी आमालाई छोडेर घरबाट सुटुक्क निस्किएर जंगल पसेका थिए र आज १२ वर्ष पछि घर फर्किएका छन् । के थाहा, यिनीसँग फेरि भोली तिम्रो मेरो भेट हुने हो कि होइन ! त्यसैले तिमी यिनलाई आजै सोध – सोध कि आज यिनीसँग तिमीलाई दिनका लागि के छ ?

यशोधराको यो कदम भने गौतम बुद्धलाई साँच्चिकै चोट पुर्याउने खाले थियो । बनमा बसेर तपस्या गरेर फर्केका बुद्धसँग आफ्नो छोरालाई दिनका लागि के नै पो हुन सक्थ्यो होला र ! यो कुरा यशोधराले पनि राम्रोसँग बुझेकी थिइन् । उनि त केवल आफुलाई बाह्र–बाह्र वर्ष सम्म एक्लै छाडेर हिंडेको आफ्नो पतिसँग क्षणिक आत्म सन्तुष्टिका लागि प्रतिशोध लिने प्रयास गर्दै थिइन् । उनको यो आवेग क्षणिक थियो । परन्तु, उनको यो आवेगले यस्तो मोड लियो जसको उनले कहिल्यै कल्पना सम्म पनि गरेकी हुन्नन् ।

यशोधराले त्यसरी राहुललाई बुद्धका सामु उभ्याएसंगै, बुद्धसँग आफ्नो छोराको हातमा आफुले बोकेको भिक्षा पात्र थमाई दिनु बाहेक अर्को विकल्प रहँदैन । उनले राहुलको हातमा भिक्षा पात्र थमाई दिन्छन् र भन्छन् पुत्र यो बाहेक मसँग तिमीलाई दिनका लागि अरु केही पनि छैन । मैले जे प्राप्त गरे त्यो तिमीलाई दिँदैछु । यसको अलावा मैले तिमीलाई दिन सक्ने भनेको ज्ञान हो जुन मैले तपस्या मार्फत प्राप्त गरे भन्दै राहुललाई चार आर्य सत्य (दुःख, दुःखको कारण, दुःखको निवारण र निवारणको मार्ग) का बारेमा सम्झाउँछन् ।

भनिन्छ, आफ्नो पिताको हातबाट भिक्षा पात्र र उपदेश ग्रहण गरेसँगै राहुल गौतम बुद्धको पहिलो औपचारिक शिष्य बन्छन् र संघमा सामेल हुन्छन् । अगाडि उभिएर यो सबै हेरिराखेकी यशोधराका आँखाबाट आँसुका धारा बर्सन थालेका हुन्छन् । केही क्षण अघि सम्म समुन्द्रमा उत्पन्न हुने ज्वारभाटा जसरी उर्लिएको उनको मन भित्रको आवेग विस्तारै सेलाउँदै गएको हुन्छ ।

छोरा राहुल संघमा सामेल भए संगै अब माता यशोधराले पनि पति र पुत्रको पथमा हिँड्ने निर्णय लिन्छिन् र आफ्नो पति गौतम बुद्धका सामु शिर निहुराएर आशिर्वाद लिन्छिन् । योसँगै यशोधरा पनि महिला शिष्यका रुपमा संघमा सामेल हुन्छिन् । यशोधराको यो कदमले उनि साँच्चिकै एउटी बहादुर तथा धर्म र कर्तव्यपरायण नारी रहेको सिद्ध गर्छ ।

आफ्नो पतिको आशिर्वाद लिएर संघमा सामेल भएसँगै यशोधरा सन्न्यासिनीहरुका बिचमा यसरी विलीन हुन्छिन् कि उनले कहिल्यै आफु बुद्धकी पत्नी वा विशिष्ट नारी भएको भनेर अहम् भाव प्रकट गरेको अथवा कुनै प्रकारको सम्मानको माग गरेको वा त्यस्तो कुनै सम्मान उनलाई दिनेगरिएको भनेर कतै उल्लेख गरेको भेट्टिदैन । यो घटना पछि यशोधराका बारेमा बौद्ध धर्मसँग सम्बन्धित पुस्तकहरुमा समेत कतै केही उल्लेख छैन भनेर भनिन्छ । यद्यपि, बुद्धको महापरिनिर्वाण अर्थात देहावसान हुनुभन्दा दुई वर्षअघि ७८ वर्षको उमेरमा उनको देहावसान भएको थियो भनेर विकि लगायतका वेबसाइटहरूमा उल्लेख गरिएको पाइन्छ । स्रोतः ओशो दर्शन

रमेश ढकाल
झापा, भद्रपुर–७ (हालः दोहा–कतार)

प्रतिक्रिया