नेपालको लागि जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री किन ?

इनेप्लिज २०८० मंसिर ९ गते १८:२२ मा प्रकाशित

विश्वमान आङ्गदेम्बे

एटलान्टा, जर्जिया, अमेरिका

नेपाल निरन्तर राजनीतिक बेथितिले जेलिरहेको छ जसले गर्दा जनतामा लोकतान्त्रिक प्रणालीमै विश्वास धर्मराउन थालेको छ I प्रमुख पार्टीका नेतृत्वबर्गको अकर्मन्यता, अदूरदर्शीता, अनि गूट र व्यक्तिगत स्वार्थपरस्त राजनीतिले गर्दा नेपाल राजनीतिक, आर्थिक, अनि सामाजिक रूपले नै गहिरिदो अराजकता अनि संकटतर्फ उन्मुख हुदैछ I लोकतन्त्रभन्दा अर्को राम्रो व्यस्था संसारमा छैन I लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो तर “सुधारिएको” लोकतन्त्र I लोकतन्त्र भित्र धेरै खाले शासकीय प्रणाली छन् I देशको आफ्नो भू-राजनैतिक स्थिति, सामाजिक-संस्कृतिक स्थिति, इतिहास, अनि आर्थिक स्वरूप ले पनि कस्तो खाले शासकीय प्रणाली उचित हुन्छ त्यो कुरा निर्धारण हुन्छ I १२० भन्दा बढी भाषा भएको अनि कुनै पनि जाति २०% भन्दा बढी नभएको अनि विश्वकै दुई ठूला अर्थतन्त्रको विचमा रहेको नेपालको विशिष्ट परिवेशमा नेपाललाई अहिलेको दलदलबाट उठाएर  दिगो राजनीतिक, आर्थिक, अनि सामाजिक विकासमा लान लाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रि आवश्यक छन् I

नेपालमा विगत ३० वर्षमा करिब २५ वटा सरकार बनेका छन् I कुनै पनि देशको विकासको लागि (विशेषत नेपाल जस्तो विकसिल देशको हकमा) “राजनीतिक स्थायित्व” अत्वाश्यक छ I राजीतिक शासकीय प्रणाली जस्तो सुकै होस् तर राजनीतिक स्थायित्व बिना देशको विकास हुन लगभग असम्भव छ I चाहे त्यो एक-पार्टी व्यस्था भएको चिन र रुस होस् या राजतन्त्र भएको साउदी अरब वा लोकतन्त्र भएको भारत होस्, यी सबैमा राजनीतिक स्थायित्व भएर नै यति ठुलो विकासको फड्को मरिरहेका छन् I दक्षिण एसियाका ८ राष्ट्र मध्ये जम्मा ३ वटाले मात्र राम्रो विकास गरिरहेका छन् – भारत, बंगलादेश, र भुटान I भुटान त राजतन्त्र भइ हाल्यो I भारत र बंगलादेशमा विगत १०-१५ वर्ष देखि एउतै सरकार छ र राजनीतिक स्थायित्व छ I 

अब नेपालमा किन भारत र बंगलादेशजस्तो संसद बाट निर्वाचित व्यवस्ता हुँदा हुँदै किन राजनीतिक स्थायित्व भएन? पहिलो त, नेपालमा ४०% समानुपातिक व्यस्था भएकोले कुनै पनि पार्टीको बहुमत आउन एकदम मुश्किल छ I दोश्रो, नेपालको राष्ट्रिय राजनीतिनै विभक्त छ I बंगलादेश र भारतमा जम्मा दुई वटा ठूला पार्टी छन्  राष्ट्रिय स्तरमा I नेपालमा ४-५ वटा प्रमुख पार्टी छन् I तेश्रो, सक्ति र सत्ताको लागि ठूला पार्टी नै फुटाउने प्रवित्तिले कथाम कदाचित कुनै पार्टीको बहुमत आउने स्थिति आयो भने पनि त्यो पार्टीको स्थायी सरकार बन्न गारो छ I  

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अनि प्रदेशमा मुख्यमन्त्री भएको खण्डमा राजनीतिक स्थायित्व संगै तलका दूरगामी फाइदाहरु हुनेछन I

. अब्बल नेतृत्व 

प्रत्यक्ष प्रणालीमा देशभरकै जनताले रुचाएको व्यक्ति (पार्टीको वा स्वतन्त्र) कार्यकारी प्रमुख (प्रधानमन्त्री र मुख्यमन्त्री) बन्न सक्छ I अहिलेको व्यस्थामा जनताबाट तिरष्कृत व्यक्ति बार-बार प्रधानमन्त्री भैरहेको अवस्था छ I देशको प्रधानमन्त्री हैन कि आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री र मुख्यमन्त्री भएको व्यहार पटक पटक देखिएको छ किनकि त्यो व्यक्तिलाई वास्तवमा त्यहाँको जनताले मात्र भोट दिएका हुन् I उसलाई त्यहाँको जनताको मन जसरि पनि जिते पुग्यो I त्यो क्षेत्रको जनताले जिताए पछि त देशको प्रधानमन्त्री वा प्रदेशको मुख्यमन्त्री त राजनीतिक साँठ-गांठले बनिहालिञ्छ I यो कु-चक्र तोड्न र रिटायर्ड हुनुपर्ने वृद्ध नेतृत्वहरुको साटो जनताले रुचाएको युवा नेतृत्वले देश र प्रदेशको नेतृत्व गर्ने दिन आउने छ I देउवा र निधिको साटो गगन थापा र विश्व प्रकाश शर्मा जस्ताको दिन आउन सक्नेछ

. स्थानीयको जस्तै विकास 

आज बालेन शाह र हर्क साम्पान्गले किन काठमान्डू र धरानमा यसरि कुनै पार्टी वा समुहको स्वार्थ नबोकी जनताको लागि विकासको काम भटा-भट गर्न सकेका छन्? किनकि उनीहरु जनताबाट प्रत्यक्ष निर्वाचित हुन् , कुनै पार्टीले जिताएका हैनन् I राजनीतिमा एउटा अहम सत्य छ – जसले जितायो वा जसको समर्थनमा सत्तामा उभिएको छ उसैको स्वार्थ बोक्नु पर्ने हुन्छ, उसको कुरा सुन्नु पर्ने हुन्छ I आजको तमाम राजनीतिक बेथितिहरू रेशम चौधरी देखि रिगल रिहाईको मूल जरो यहि नै हो I देश र प्रदेशमै जनताबाट प्रत्यक्ष निर्वाचित भए पछि सो व्यक्तिले मुलत जनताप्रति जवाफदेही हुनु पर्छ I पार्टीकै व्यक्ति निर्वाचित भएपनि पार्टीको कुरो भन्दा पार्टीले उसको कुरो सुन्नु पर्ने हुन्छ I कमसेकम कसैको निहित स्वार्थ पुरा नगर्दा सरकार ढल्ने सम्भावना एकदम कम हुन्छ जसको लागि संसदमा दुई-तिहाइ बहुमत चाहिन्छ र दुवै सदनबाट पार्टी हुनु पर्छ I कुनै रोकतोक जनताको लागि प्रधानमन्त्री र मुख्यमन्त्रीले काम गर्न पाउनेछन आफ्नो पूरा कार्यकाल ! अहिले देखिएको केहि स्थानीय तहको जस्तो विकास देश र प्रदेश तहमा पनि देखिन सकिने छ

. संसदको काम 

नेपालमा अहिले सम्म संसद सरकार ढाल्ने र बनाउने थलो बनेको छ I संसद भनेको वास्तवमा प्रदेश र देश निर्माणको लागि नियम-कानून र योजनाहरु बनाउने थलो हो I तर नेपालमा अधिकांश (सायद ८०% समय जति) सरकार बनाउने र ढाल्ने अनि मन्त्रि परिषद र अन्य निकायमा हेरफेर मै समय बिताइरहेको हुन्छ I फेरी केन्द्रमा एउटा पार्टीको मन्त्रि मात्रै फेरियो भने एउटा प्रदेशमा पुरै सरकार ढल्ने डर छ I प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित भएमा उनीहरुले पार्टी (हरु)  बाट वा स्वतन्त्र बिज्ञा लाइ मन्त्रिपरिषदमा राखेर सरकार चलाउने छन् I केन्द्रमा सरकार नै ढल्यो भनेपनि प्रदेशमा तेस्को असर न्यून हुनेछ I केन्द्र सरकार आफ्नै बाटोमा, प्रदेश सरकार आफ्नै बाटोमा I तेस्तै संसदले अब आफ्नो वास्तविक काममा ध्यान र समय खर्च गर्न पाउनेछ I संसद सरकार बनाउने र ढाल्ने थलो हुनेछैन I

. दीगो विकास र शुसाशनको सुरुवात

यस्तो व्यस्थामा प्रधामन्त्री र मुख्यमन्त्री जनताप्रति उत्तरदायी हुनेछन I कुनै पार्टी वा गूटले सरकार ढाल्न वा हल्लाउन सक्ने परको कुरो हुनेछ I प्रधानमन्त्रीले देशको लागि र मुख्यमन्त्रीले प्रदेशको लागि ५-वर्ष कार्यकालको लागि आर्थिक र सामाजिक विकासका योजना बने निर्धक्क संग काम गर्न पाउने छन् I कर्मचारीतन्त्रले पनि अनि प्रधानमन्त्री, मुख्यमन्त्री अनि मन्त्रीहरुको कुरो गम्भीर रुपमा लिनेछन र सांचिकै सुन्नेछन र कार्यन्वयन गर्नेछन किनकि उनीहरुलाई थाहा छ कि यो सरकार पूरा ५ वर्ष टिक्ने छ, कसैले ढाल्न सक्ने छैन I सरकार बलियो छ I यसले गर्दा सांचिकै सिंगापूर बनाउने जस्तो विकासको हावादारी सपन बाँड्ने हैन कि वास्तविक काम भई नेपाल भारत र बंगलादेशको जस्तो दीगो विकासको बाटोमा हिड्ने छ I विकास संगै रोजगारी, शिक्षा, सीप, व्यापार, इत्यादि पूरा अर्थतन्त्र नै फड्को मार्ने छ I कुनै पार्टी र गुटको कुरो सुन्नु नपर्दा कुनै अपराधी लाई राष्ट्रपतिबता छुट दिनुपर्ने देखि कुनै भ्रष्टाचारको मुद्दामा कसैलाई जोगाउन पर्ने अवस्था हुन्न I सुशासन आफै त्यहि बाट सुरु हुनेछ I

प्रतिक्रिया