आज मंसिर ७ मा गरिएको जनबिद्रोहको रहस्य

इनेप्लिज २०८० मंसिर ७ गते १५:४६ मा प्रकाशित

राजा ज्ञानेन्द्र ठिक भएका कारणले राजा ठिक भनेका होइनन्, प्रमुख नेताहरू भ्रष्ट, हत्याराका संरक्षक र नालायक हुँदै गएका कारण जनतामा विगतप्रतिको आशक्ति बढेको हो । वर्तमान सोचे जस्तो नहुँदा विगत ठिक थियो भन्ने मानवीय स्वभाव राजाका बारेमा पनि प्रकट भएको देखिन्छ ।गलत राजनीतिक सौदाबाजीबाट पदमा आसीन भएका राष्ट्रपति र प्रधानमन्त्रीमा कुनै नैतिकता, इमानदारिता र जवाफदेहिता देखिएको छैन । तिनीहरू आफ्नो र सत्ता स्वार्थमा हालीमुहाली गर्ने गिरोहको फाइदाका लागि देश र जनताका विरुद्धमा देखिएका छन् । अपराधपीडित र निमुखा जनता बालुवाटार र शीतलनिवासबाट डराउनुपर्ने स्थिति बनेको छ । सत्ताको आडमा अपराधीहरूलाई उन्मुक्ति दिइएको छ भने जनताको न्यायलाई निमोठिएको छ । चुनावी गठबन्धनका कारण तत्कालीन सत्ता गठबन्धनले कांग्रेसलाई कांग्रेस जस्तो हुन दिएन । त्यहाँ गएर कम्युनिस्टहरू मिसिए । कम्युनिस्टहरूलाई कम्युनिस्ट जस्तो हुन दिइएन, त्यहाँ गएर कांग्रेस मिसियो । एउटै झण्डामा कांग्रेसको चार तारा र कम्युनिस्टका हँसिया हथौडाका चिह्नहरू टाँसिए । जनतालाई झण्डानै कसको हो, छुट्याउन गाह्रो भयो । चुनावी घोषणापत्र फरक-फरक भए पनि जनताले घोषणापत्रका रूपमा होइन, कागजी चिर्कटाको रूपमा लिए । अर्थात्, यसरी पनि भन्न सकिन्छ कि ती घोषणापत्रहरू दर्शन र सिद्धान्त राजनीति त्यागेर बनाइएका झुटका अनैतिक पुलिन्दाहरू थिए ।पञ्चायत र राजतन्त्रविरुद्ध लडेका दलहरूले सत्ताका लागि आफ्ना विचार परित्याग गरेको सन्देश जनतामा प्रवाहित भयो । सत्ता गठबन्धनका दलहरूले कुनै नयाँ एजेण्डा जनतासमक्ष पेस गर्न सकेनन् । तिनीहरूका सम्पूर्ण गतिविधि जुनसुकै हालतमा चुनाव जित्ने र पुनः सरकार प्राप्त गर्ने भन्नेमै केन्द्रित थिए । जब तिनीहरू चुनावमा गए, त्यसपछि घात- प्रतिघातको शृंखला सुरु भयो । पाँच जना प्रमुख नेताले जारी गरेका फर्मानहरू स्थानीय नेता-कार्यकर्ताले मानेनन् । चुनाव सत्ताको लेनदेनजस्तो मात्रै भयो । नीति, सिद्धान्त, विचार र सिद्धान्तको चुनाव हुन सकेन चुनावी परिणाम यस्तो आयो कि पाँचदलीय गठबन्धनले सामान्य बहुमत पनि ल्याउन सकेन र सत्ता गठबन्धन विघटन भयो र अर्काे गठबन्धनको निर्माण भयो । विघटन भएको गठबन्धनलाई जोगाउन चुनावपछि भएको गठबन्धन भत्काइयो र हत्या प्रमाणित भएका रेशम चौधरीलाई गैरकानुनी तरिकाले जेलबाट निकाल्ने सहमति गरियो । सत्ता गठबन्धनका नेताहरू रेशम चौधरीको पाउ समात्न जेलसम्मै पुगेका थिए । गठबन्धनलाई रेशम चौधरीले नपुगेर सीके राउतहरूलाई पनि मिसाउनुपर्‍यो । तिनीहरूका लागि सत्ता मात्रै सबै थोक थियो । सत्ताका लागि जुनसुकै हर्कत गर्न थालिएपछि त्यसको दोष गणतन्त्रमाथि थोपर्ने प्रयास भइरहेको छ । जबकि बदमासी गणतन्त्रले नभई सत्ताधारी दलका नेताहरूले गरेका थिए कारण जेसुकै भए पनि दुर्गा प्रसाईं जन्माएको दाहाल र ओलीले हो । यसमा धेरथोर योगदान शेरबहादुर देउवाको पनि मिसिएको छ । प्रसाईंलाई जन्माउने पूर्वराजा ज्ञानेन्द्र शाह होइनन् । माओवादी र एमालेले प्रसाईंसँग करोडौँ रुपैयाँ लिएका छन् । करोडौँ पैसा लिएर बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएनन् । पार्टीका टाउकेहरू मिलेर प्रसाईंको अर्बौंको लगानी डुबाइदिए । आफ्नो लगानी डुबेर घाइते बनेका उनी आफ्नो काम बन्ने लोभमा माओवादी र एमाले बनेका थिए ।
माओवादी, एमालेबाट पार नलाग्ने देखिएपछि तिनी राजावादी, राष्ट्रवादी, आन्दोलनकारी सबै थोक बन्दै गए । माओवादी र एमालेको केन्द्रीय नेता भइसकेको व्यक्तिलाई रातारात राजावादी बन्न बाध्य कसले बनायो ? केपी शर्मा ओली र पुष्पकमल दाहालले बाध्य बनाएका हुन् भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । एउटा विरालोलाई कोठामा थुनेर कुट्न थालेपछि के गर्छ ? बिरालोसँग अन्तिम विकल्प हुन्छ, कुट्ने मान्छेको घाँटीमा झम्टिने । ओली र दाहालले दुर्गा प्रसाईंको अर्बौं रुपैयाँ डुबाइदिएपछि तिनलाई कोठामा थुनेर कुटियो । अहिले प्रसाईं माओवादी र एमालेविरुद्धमा झम्टिएका छन् ।मेडिकल कलेज खोल्न सहमतिपत्र दिने, त्यही सहमतिपत्रका आधारमा भौतिक संरचना बनाउन लगाएर सञ्चालन अनुमति नदिएर अर्बौं रकम डुबाइदिएपछि कोही चुप लागेर बस्दैन । दुर्गा प्रसाईं पनि चुप लागेर बसेनन् । उनले विद्रोहका अनेकौँ उपायहरूको खोजी गर्न थालेको उनका विगतदेखिका गतिविधिबाट देखिन्छ । दुर्गा प्रसाईंलाई ठेगान लगाउने हो भने झापाको बीएन्डसी अस्पताल र मेडिकल कलेज सञ्चालन गर्न दिने वा राज्यले किनेर चलाउनेबाहेक अर्को विकल्प छैन । अन्यथा प्रसाईंको उदयलाई कसैले रोक्न सक्दैन । दुर्गा प्रसाईंले हिसाबकिताब गर्न देश दौडाहा गरिरहेका थिय । प्रसाईंको आन्दोलन मंसिर ७ गते आज काठमाडौंमा प्रदर्शन गरेर रोकिनेवाला छैन । यसले अझै ठूलो आयतन लिन सक्छ । रामचन्द्र पौडेल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी ओलीलगायतले देशमा चलाइरहेको राजनीतिक सिन्डिकेट र भ्रष्टाचारका चक्रब्युहलाई तोडेर धुजाधुजा पार्नु आजको प्राथमिक आवश्यकता हो । यो एकै दिन वा रातमा हुन सक्ने कुरा होइन ।

-बेद प्रसाद घिमिरे

प्रतिक्रिया