धन्यवाद दिवसमा इनेप्लिज र सबै पाठकहरूलाई  मेरो तर्फबाट धन्यवाद ! 

शशी के.सी २०८० मंसिर ६ गते २३:५० मा प्रकाशित

छ बर्ष अगाडी एक भेटमा , कोरन केही शब्दहरू , इनेप्लिजमा पोष्ट गरिदिन्छौं भनेर शुरूआत भएको मेरो लेखन यात्रा आज झण्डै एक सय तिन लेखसम्म पुगेछ । गज्जबै लाग्यो आफैलाई पनि फर्केर हेर्दा । मैले जति लेखें ईमान्दारीपुर्वक आफुलाई लागेको, भोगेको , देखेको र समाजमा भईरहेका बिषयमा लेखें ।

भन्छन नी हजार कदम हिंडन , पहिलो कदम त चाल्नै पर्छ । हो पहिलो कदम चाल्न गार्हो हुन्छ तर चाल्न थालेपछि आफै रफ्तार बढ्दै जान्छ । मेरो लेखन यात्रा पनि बिस्तारै बढ्दै गयो ।

मैले आफ्नो बिचारहरू मात्र पस्केको थिंए । तर ओहो, कुनै कुनै लेखहरू त १०-१२ हजार पटकसम्म शेयर भएको पाएँ ।

सबै कुरा सबैलाई मन पर्छ भन्ने पनि हुन्न ।त्यसैले सबैले मन पराउलान् भन्ने आशा पनि राखेको त थिईन । मैले आफ्नो बिचारहरू मात्र पस्केको थिंए । तर ओहो, कुनै कुनै लेखहरू त १०-१२ हजार पटकसम्म शेयर भएको पाएँ । त्यसले मलाई अझै लेख्ने हौसला थपिंदै गयो र लेख्दै गंए।

लेख्न शुरूआत गर्दा शुद्ध नेपाली लेख्न कोशिश गर्न तिर लागें । कता लेख्न सक्नु , दुई लाईन पनि लेख्न धौ धौ भयो । अनि सोचें शुद्ध नेपाली त स्कुल कलेजमा राम्रो अंक ल्याएर पास गर्न मात्र त पढेको त हो हामी सबैले । अरूबेला त बोलीचालीको नेपाली भाषा आफ्नै तरीकाले बिच्च बिच्चमा अंग्रेजी शब्द मिसाएर बोल्छौं।

झन् आजकल त नेपाली संसारभर फैलिसक्यौं । बोलीचालीको नेपाली भाषा ठाउँ अनुसार फरक हुँदै गईरहेछ । नेपाल भित्र पनि ठाउँ अनुसार बोल्ने नेपाली भाषा पहिलेदेखि फरक नै छ । पूर्वमा बोलिने नेपाली र सुदुर पश्चिममा बोलिने नेपालीमा आकाश जमिनको फरक हुन्छ । कति कुरा त बुझिन्न पनि ।

शुद्ध लेख्ने चक्करमा त केही लेख्न नसक्ने रहेछु भन्ने लाग्यो । आफ्नो बोलीचालीको नेपाली भाषामा सरल , छोटो, मिठो र धेरैले बुझ्ने तरीकाले ज्यादा भुमिका नबाँधिकन लेख्न ठिक लाग्यो र तेसरी नै लेख्दै गएँ ।

लेख्दै जांदा अर्को के अनुभव भयो भने लेख्न त लेख्ने तर कुन बिषयमा लेख्ने भन्ने अन्योल धेरै पटक महशुस गरें । सोचें, बिषय त आफ्नै वरीपरी रहेछन् । खाली त्यसलाई लयवद्ध तरीकाले लेख्दै, मिलाउॅंदै जानुमात्र पो रहेछ ।

कहिलेकाहीं चाहीं दिमागमा बिषय फुरेपछि , फेसबुकमा स्टाटस लेखेर राखिदिन थालें । साथीहरूको कमेन्टबाट आईडिया लिएर मिलाउॅंदै पनि लेखें ।

मैले लेखेको लेख मध्य सबैभन्दा धेरै शेयर भएको लेख “आमाबुबाले एक्लै ह्विलचेयरमा नेपालबाट बिदेश आउने जाने गर्दा भोग्नु पर्ने पिडाहरू” हो

मैले लेखेको लेख मध्य सबैभन्दा धेरै शेयर भएको लेख “आमाबुबाले एक्लै ह्विलचेयरमा नेपालबाट बिदेश आउने जाने गर्दा भोग्नु पर्ने पिडाहरू” हो । यतिखेर नेपालका कुन घर बाँकी होला र कोही न कोही विदेश नगएको । अझ कतिका त संन्तान सबै विदेशमा नै बसोबास गर्छन् । संन्तानले आमाबुबालाई रहर गरेर एक पटक त जसरी पनि विदेश घुम्न बोलाउँछन् नै ।

म आफु विदेश बस्छु र बेलाबेलामा नेपाल आउने / जाने गर्छु । धेरै पटक यात्रामा संन्तान भेट्न विदेश आउने / जाने आमाबुबाहरूलाई भेटेकोछु । कतिलाई प्लेन भित्र र ट्रान्जिटमा बस्दा औषधी खान , खानेकुरा किन्न र बाथरूम लग्न मद्दत गरेको पनि छु । हो उँहाहरूले भोगेको समस्यालाई त्यो लेखमा लेखेको थिंए । साथै के के परिवर्तन गर्दा यात्रा सहज हुनसक्छ भन्ने केही सुझाव पनि लेखेको थिंए । धेरैले भोगेको पिडा र समस्या हुनाले अत्यधिक मन पराएर शेयर गर्नु भयो होला ।

बिशेष धन्यवाद त इनेप्लिजलाई दिन्छु । इनेप्लिज अमेरिकाको भर्जिनिया राज्यबाट निक्लने अनलाईन पत्रिका हो ।

बिशेष धन्यवाद त इनेप्लिजलाई दिन्छु । इनेप्लिज अमेरिकाको भर्जिनिया राज्यबाट निक्लने अनलाईन पत्रिका हो । यस पत्रिकाले म लगायत अरू भर्खर लेख्न शुरूवात गरेका धेरै लेखक / लेखिकाहरूका लेख, कथा , कविता प्रकाशित गरिदिएको छ । सबैमा केही लेख्ने क्षमता हुन्छ । तर लेखेको अरू समक्ष प्रस्तुत गर्ने ठाउँ नपाईरहेको अवस्था हुन्छ । धन्न इनेप्लिज रहेछ र हामीलाई लेख्ने हौसला मिलिरहेछ ।

अन्त्यमा , फेरी पनि मैले लेखेका लेखहरू आफ्नो अमुल्य समय निकालेर पढिदिनु हुने र केही सल्लाह , सुझाव लेखिदिनु हुने सबै पाठकहरूलाई धन्यवाद । आगामी दिनहरूमा पनि यस्तै माया पाँउने आशा राख्छु ।

धन्यवाद !

शशी के. सी

शशी के.सी

लेखिका

प्रतिक्रिया