छठ पर्व नेपाल र भारतको उक्तरीय क्षेत्रमा बसोबास गर्ने हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो र थियोे ।तर अहिले यो पर्व मान्नेहरूको प्रभाव क्षेत्र रहेको स्थान अनुसार फैलिएर जाँदै छ।
यो पर्वमा षष्ठी माताको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालमा विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्थ्यो अहिले नेपालका प्रमुख शहरहरूमा पनि मनाइन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन,कीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिईसकेपछि पूजा विसर्जन गरिन्छ ।
पछिल्लो समय,यो पर्वमा मुस्लिम समुदायको पनि सहभागीता बढ्दै गएको पाइन्छ । यो पर्व मनाउने निश्चित र कठिन विधि छन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
मानव सव्यताको अवस्था, सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा जोडिएको भेटिन्छ ,यो भक्ति र शक्तिसँग जोडिएको मानव जीवनको एउटा कथा हो।
सन्तान सुख नभएको समयमा त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको कथा पनि यो वर्तसँग जोडिएको छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ र चैतको षष्ठी पर्वलाई सानो छठ भनिएको भेटिन्छ ।
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्ने गर्छन । यो प्रकृयालाई खर्ना भनिन्छ ।
षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइन्छ भन्ने धर्मावलम्बीहरूको विश्वास छ । यो पर्वले मनले शुद्ध,व्यवहारमा शुद्धता र व्रतसँग जोडिएका वस्तु,स्थान र खानपिनको शुद्धतालाई महत्त्व दिएको छ।
षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्त्व आज पनि त्यत्तिकै छ ।
परिवार तथा समाजले समाजमा उदाउँदै गरेको वा प्रतिष्ठीत व्यक्तीलाई सबैले मान्ने,ढोग्छन् सम्मान गर्ने गर्दछन,कम्जोर र गरिबलाई वास्ता नगर्ने परिपाटी छ तर डुब्न लागेको घामको दर्शन गर्ने परम्परा रहेको यो पर्वले परिवारको जेष्ठ सदस्यको नेतृत्व स्विकार्दै सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएको छ।साथै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ,सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिएको भेटिन्छ । यो पर्व विधि अनुसार मनाएमा छाला सम्वन्धी रोग निदान, पुत्र प्राप्ति र आफ्नु दुखमा अदृश्य शक्तिसँग माग गर्दा यस्तो वस्तु दिन्छु भनी सम्झना र समर्पण गरेको (भाकल ) कल्पना पूरा हुन्छ भन्ने ठानेर मानिसहरू भक्ति पुर्वक नजीकैको पोखरी जलाशय कुण्डमा गई , छठ पूजा गर्दछन् ।छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गर्ने गरिन्छ ।
छठ पर्वको सबैलाई हार्दिक शुभकामना
सीता ओझा
२०८०/०८/०३
प्रतिक्रिया