तिहारसँग जोडिएको अन्तरवस्तु र उत्सव 

सीता ओझा २०८० कार्तिक २५ गते १६:४३ मा प्रकाशित

तिहार विशेषगरी हिन्दू, हिन्दूधर्मभित्र जोडिएका बौद्ध धर्मावलम्बीहरूको विशेष चाड हो । दशैको लगत्तै आउने यो पर्व दशैंपछिको महत्त्वपूर्ण र ठूलो पर्व मानिन्छ । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीको दिन सुचनाबहाक पन्छी कागको पुजा गर्दै सुरू हुनेगर्दछ र कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका गरेपछि सकिन्छ। तिहार पर्वको समय पाँच दिन भएको कारण यसलाई यमपञ्चक भनेर नामाकरण गरिएको हो ।

यी पाँच दिन मनाइने पर्वले जम्वुदिप क्षेत्रका सिन्धु सव्यतासँग जोडिएका मानिसहरू कृषि,पशु पन्छी र मानवको सम्बन्ध,आवश्यकता,पर्यावरणीय चक्रको महत्वको प्रतीक हो।रक्त सम्बन्धभित्र विवाहित दिदीबहिनी र दाजुभाइविच प्रगाढ सम्बन्धको महत्त्व जोड्न खोजेको छ ।

दिप,फुलले उज्यालो बनाएर लक्ष्मी ( धन) पुजाका लागि चाहिने कृषि जन्य ( कमलको फुल,अदुवा,फलफुल,कपडा ,पैसा,नयाँ भाँडाकुँडा अन्न लगायतको जोहो गर्न पर्ने,सरसफाइलाई विशेष ख्याल गर्नु पर्ने जस्ता कुरा पनि जोडिन्छन् ।

विशेष परिकारभित्रका सेल,अनरसा,अर्सा,फिनी,फलफुल ,मखमली,सयपत्री,गोदावरी,दुवो,शीत,तेल,सात रङ्ग,गोवर,दही,कपडा,मिठाईसहित अनेकौं मसलाको प्रयोग तिहारमा हुने गर्छ ।

यो परम्पराले स्वस्थ्य जीवन र आफ्नो उत्पादित कृषिजन्य वस्तुको प्रयोगसँग दिप र पर्यावरणीय पक्षसहितको मानवीय सम्बन्धले मात्रै सुख,शान्ति,ऐश्वर्य र सम्पुर्णताको प्राप्ति गर्न सकिन्छ भन्ने सन्देश दिपावली पर्वले जोडि दिएको छ।

तिहार हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।विशेषगरी भारतीयहरूले यसलाई दीपावली/ दिवाली भन्ने गर्छन् ।

धार्मिक ऐतिहासिकताभित्र कहलाएको कथन अनुसार – यमराजले विवाहित आफ्नी बहिनी यमुनाको घरमै गएरर टीका ग्रहण गरेको विषयको कथाले भाइटिकाको महत्त्व जोडिएको छ । यस्तो विषयले विवाहित सम्बन्धको कारण दिदीबहिनी, दाजुभाइविचको रक्त सम्बन्धको महत्त्व,पारिवारिक सम्बन्ध दिदीबहिनीको विवाहित घरको अवस्था र स्थान,मान सहितको सम्मानको विषयलाई पनि तिहार पर्वले जोडिदिएको छ।

दिदीबहिनी र दाजुभाइको आवतजावतले रक्त र भावनात्मक दुबै सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ भन्ने सामाजिक सन्देश दिन खोजेको देखिन्छ ।

पारिवारिक महत्त्वको हिसाबले विवाह अनिवार्य गरिएको छ। विवाह नगर्नेले वैराग्य रोज्ने र विवाह गर्नेले गृहस्थको सुख र दुखको कारण व्यहोर्नु पर्ने व्यवस्था गरिएको छ। एकै पेटका सन्तान लिङ्गको हिसाबले छोरो पैत्रिक सम्पत्तिमा राज गर्ने छोरी दाइजोमा एकदुई जोर लुगा र दुई चार सेट भाँडाकुँडा,आफुलाई सुत्ने विस्तारा सहित गाईको पुच्छर समातेर पुन्यको लागि दान गर्ने परिपाटीको बाध्यता नै जीवन र जगतको रस हो भन्ने देखाउन खोजिएको छ। त्यो समाजले लिङ्गको आधारमा सुरु गरेको भेदको मार अहिले पनि दिदीबहिनीले व्यहोरिरहेका छन् । पारिवारिक बनाउन गरिएको विभेदकारी व्यवस्थापनभित्र दाजुभाइले दिदीबहिनी विर्सनु हुन्न भन्ने संकेत स्वरूप – यमराज आफ्नी बहिनीको घरमा गएर तिहारका पाँचै दिन बसेको कारण यी पाँच दिनलाई यमपञ्चक भनिएको देखाइएको छ ।

कुनै समय यही दिन धन्वन्तरीको जन्म भएको र उसले समाजमा धन अथवा कुनै वस्तुको प्राप्तिको विषयलाई अर्थतन्त्र मानवीय आवश्यकता र वस्तुको विनिमयसँग जोडिएको महत्त्वलाई जोडेको देखाइएको छ।धन्वन्तरी जयन्ती वा धनतेरस उत्सव मनाउने प्रचलन पनि यसैमा जोडिएको देखिन्छ ।

धन्वन्तरीको जन्मदिनको साँझ घरको मूलद्वारको सामु यमराज सम्झना गर्दै दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने सामाजिक विश्वास जोडिएको छ । यो पर्वहरूको सुरूवातले त्यो समाजको सामाजिक,आर्थिक व्यवस्थापन जोडेको थियोे । कालान्तरमा कतिपय विषयहरू पछिल्लो समाजलाई आवश्यक भएनन् तर विश्लेषण नगर्दा / वैज्ञानिक कारण नखोज्दा अन्धविश्वास जोडियो र सामाजिक विकासमा बाधा बन्न पुग्यो ।

यमपञ्चकमा क्रमशः काग,धनतेसर कुकुर,गाई,लक्ष्मी, गोवर्धन,स्वयम्, दाजुभाइ र दिदीबहिनीको पुजा,भेटघाटलाई रमाइलो बनाउन पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी लगायतका परिकार पकाउने, खुवाउने र रमाइलो गर्ने पर्वको रुपमा तिहारलाई मनिन्छ । तिहार पर्वको ऐतिहासिक सन्दर्भले ” हरेकको घरमा कहिलै अपमृत्यु वा अल्पमृत्यु नहोस् भन्ने चाहाना र मान्यता झल्काउन खोजेको छ !”

तिहारमा खेलिने भैली र देउसीका सन्दर्भमा धेरै किंवदन्ती छन्-ती मध्ये दानवराज र बलिसँग,देउसी भनेको देउता शिरमा राख्नु हो पनि भनिन्छ ।


देउसीभैली गाउने र पाए नगद नपाए अन्न र खाने कुराको दान लिएर फर्कने प्रसङ्गको विषयको थालनी विशेषगरी पौरत्स्य ( हिन्दु र कृषिसँग जोडिएको ) मिथक पनि हुनसक्छ ।यहि मिथक कालान्तरमा जुम्ली राजा बलि र मगर राजा बलिहाङसँग जोडिएको जस्तो देखिन्छ।देउसीको प्रसङ्ग जुम्लाको खस राज्यकालकामा भएको आर्थिक संकटको समाधानसँग आर्थिक जोडिएर आएको परम्परा पनि भनिन्छ । यो प्रसङ्गसँग जुम्ली राजा बलिराज कल्याल,तैमुरको र त्यो समयका छिमेकी मुसलमान शाशकहरूको आक्रमणसँग जोडिएको इतिहास पढ्न पाइन्छ ।

१४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास बलिराज जुम्लाका राजा बनेका थिए भन्नेछ । यिनकै शासनकालमा जुम्लाको खस राज्यले एक कुख्यात मुसलमान लडाकुको फौजसँग सामना गर्न परेको थियो । युद्धपछि जनताबाट कर उठाउन बलिराजले देउसी भैलो खेल्न लगाएको कुरा केही इतिहासविद्धहरूले लेखेको प्रसङ्ग यहाँ जोडिन पुग्छ।ती आक्रमणहरू (१४ औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास) बलिराज जुम्लाका राजा बनेपछि भएका थिए भन्ने विषयको तथ्यमा इतिहासविद्धहरू सहमत छन् । युद्धसँग जोडिएको एउटा प्रसङ्ग यस्तो छ-

” युद्धमा हारेर जसरी म भुइँमा पुगेको छु,त्यसरी नै म पनि उसलाई भुइँमा पुर्याउन / भुइँमा पुगेको हेर्न चाहान्छु ! उसलाई भुइँमा पुर्याउँदा म मारिन्छु भन्ने मलाई चिन्ता छैन ! म सँग युद्ध गर्न उ एक्लैले सक्दैन भने उसका साथमा अरू दश जना लिएर आए पनि हुन्छ ” भनेर कसैले कुरा सुनायो !

उनको कुरा सुनेर आक्रमणकारी राजा नै छक्क पर्‍यो । प्रस्तुतिको प्रभावले उसलाई निकै बहादुर ठान्यो।राजा घोडाबाट ओर्लियो । अंकमाल गर्यो र मीत लगायो ।

त्यो समय मुसलमान शासकहरूको आक्रमणले देशको अर्थ व्यवस्था थिलथलो भएको समय थियो । राजाको वाक चातुर्यताले युद्ध त रोकियो रआक्रमण गर्न आएको शत्रु मित्र बन्यो । मीत लगाएपछि मितको सम्बन्धसँग जोडिएको खानपिन र भलाकुसारी त भयो तर विदाइको खर्च व्यवस्थापन गर्न कठिनाइ परेकोले बलिराजले आफ्ना सेना र नागरिकलाई राज्यभर देउसी खेलेर पैसा जम्मा गर्न लगाए । यसरी जम्मा भएको नगदसहित मीतज्यूलाई विदा गरेको प्रसङ्ग निकै महत्त्वपूर्ण तथ्यको रूपमा इतिहासमा पढ्न पाइन्छ ।

तैमुरसँग जोडिएको जफरनामा’ मा आधारित पुस्तकका लेखिएको विषयका अनुवादकले यस्तो लेखेको भेटिन्छ – “शिवालिक पहाडको मुनि ठूलो संख्यामा अधर्मीहरू जम्मा भएका छन् भन्ने मैले सुनें । “

“… मैले आफ्ना सैनिकलाई त्यतैतिर लाग्ने आदेश दिएँ ।” तीमध्ये एउटा पहाडी उपत्यकामा बहरूज नामका एकजना राई थिए । उनको सेनाको संख्या र साँघुरो उपत्यकामा बलियो भू-बनोटका कारण हिन्दुस्थानमै उत्कृष्ट थिए ।

इतिहासको तथ्यलाई आधार बनाउदा उत्तरी भारतमा तैमूरले गरेको आक्रमणलाई जुम्लाको खस राज्य समेतले सामना गरेको र त्यसकै लागि खर्च उठाउन नै ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने देउसी गाएर नगद उठाएको प्रसङ्ग पनि देउसीमा जोडिन्छ ।

भैली गाउने प्रचलन अर्घाखाँचीका मगरहरूले चलाएको तथ्य भेटिन्छ । भैली एक रातमा नसकिने गायन हो । यसले सामाजिक,आर्थिक संरचनासँग जोडिएको महिलाको जनजिवन र आर्थिक सामाजिक संकट हल गर्दै दाजुभाइसँगको भेटमा किन्नुपर्ने सरसामान,मसला आदिको व्यवस्थापनका लागि सहयोगी हुने संस्कृति हो । भैली गाउदा घरैपिच्छेका प्रसङ्गका कथा बुन्नु पर्ने,लय यति र गति मिलाएर वाचन गर्नुपर्ने प्रसङ्ग जोडिएको छ । यसरी हेर्दा मनोरञ्जन,आर्थिक व्यवस्थापन र सामाजिक सम्बन्धको संस्कृतिसँगै भैलीको उत्पत्ति र विकास भएको मान्न सकिन्छ ।

देउसी र भैली दुबैसँग बालन,सोरठी,मारूनी लगायत स्थानीय लोकलयका गायन गाउन र चरित्र अभिनय गर्ने परम्परा पनि जोडिएको भेटिन्छ ।भैलीको विषयमा अध्ययन गर्ने अध्ययता प्रकाश बेल्बासेको सोधले भैलीको विषय अझै बुझ्न सजिलो हुन्छ ।

उनका अनुसार,अर्घाखाँचीमा प्रायः सबै समुदायले भैली खेले पनि विशेषगरी मगर समुदायसँग भैलीको महत्त्व जोडिएको बताउछन् ।

संस्कृतमा “गौ ” को अर्थ माता/ गाई हुन्छ । गौ,गोवर्धन, गोकुल, गोपाल यी शव्दमाही बेलाको समाजमा गाईलाई माता र पशु चौपायालाई धनको रूपमा हेरिन्थ्यो । आफुलाई कल्याण गरेको कारणले पशु मध्ये मानिसको बहुहितसँग जोडिएका पशुलाई पुज्ने संस्कृतिको विकास भयो । मानव समुदायको विकास घुमन्ते, शिकारी,पशुपालन,कृषि हुदै मानव बस्तीको विकास सव्यताको विकाससँग जोडिएको छ । विस्तारै मानिसको विकासले सूचनाको महत्त्व बुझ्यो।अनुभव र भोगाइका कारण चराहरूको आवाजबाट सुचनाको सहयोग लिन र दिन,शुभ र अशुभ संकेतको पहिचान गर्ने प्रचलन विकास गरे । त्यसैको अवशेषको रूपमा रुखमा बसेर कागले कराउने ध्वनिको आधारमा शुभ र अशुभ समाचार मान्ने सामाजिक मान्यता/ परम्परा अहिलेसम्म छदैछ । काग काराएपछि शभबोल शुभबोल,भन्ने प्रचलन पनि समाजमा अझै छ । काग बहुपक्षबाट चलाख र पन्छीहरूमा हङ्गामा मचाएर काम सिद्ध गर्ने चरा हो।काग सर्वभक्षी भएकोले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरु खाइदिने पन्छी र यमराजको दुतको (यमदूत पालकको) रूपमा पनि लिने गरिन्छ ।

यस्ता अनेकौं प्रशङ्गहरूको विश्लेषण गर्दा काग यमराजको अति प्रिय भक्तको रूपमा चिनिन्छ । कागलाई यमराजक‍ भक्त भएको कारण पनि पुज्य बन्न पुग्यो ।

शिकारी युगमा शिकार खेल्नका लागि मानिसले कुकुरको प्रयोग गर्थे । कुकुरको सुन्ने शक्ति बढी र निदाउँदा पनि सुन्ने शक्ति तेज हुन्छ । कुकुरलाई आज्ञाकारी जनावारको मोति मानिन्छ । मानिसको शिकारी जीवनदेखि नै कुकुरले मानिसलाई सुँघेर धेरै कुरा पत्ता लगाइदिन्थ्यो । त्यो बेलाका युद्धमा कुकुरकै सहारा लिने गरिन्थ्यो ।त्यहीँ कारण युद्ध कला र अपराध पत्ता लगाउने सहायकका रूपमा कुकुर मानिससँग नजिक भयो र पुजनीय बन्यो ।

तिहारको आर्थिक,सामाजिक महत्त्व :
तिहारको सांस्कृतिक पक्ष जस्तै सामाजिक,आर्थिक पक्ष पनि निकै महत्वपुर्ण छ ।मोहनजोदाडो, हरपा र सिन्दु सव्यताबाट छरिएका मानिसहरू मध्ये नेपाल र भारत,भुटान,बर्मा लगायत दक्षिण एसियाका अधिकाँस मानिस कृषिसँग जोडिएका छन् । कृषिसँग जोडिएका देशहरू, नेपाल,भारत,बर्मा,बङ्गलादेश आदि देशहरू बहु- ईश्वरवादी देखिन्छन् । यहाँका मानिसहरू आध्यात्मिकतासँग जोडिएर धर्म र सम्प्रदायमा बाँडिएको देखिन्छ ।हिन्दु होस या बौद्ध,विस्तारै मानिसहरू धर्मसँग जोडिँदै आउँदा आधुनिक समाज बन्न पुग्यो । सुचना र प्रविधिले आधुनिक समाज विश्वव्यापी हुन पुग्यो। विश्वव्यापी करणले सबै पर्वहरू सांस्कृतिक कम व्यवसायीक बढी हुन पुगे ।

प्रायः सव्यताको विकास नदी र नदीको किनारसँग जोडिएको छ र हुन्छ ।त्यसरी जोडिनुसँग मानविय जीवनको दैनिकी साँझ विहानको खानपिन र उत्पादनसँग जोडिएको छ र हो पनि । हिजोको समाज कृषि, पशुपालनसँग जोडिएको थियो ।अहिलेसम्म पनि कृषि नै छ । आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँने समय भएपछि कृषकको खुशी एवम् उमङ्गको सीमा नाप्न सकिन्न। त्यो खुशीको अवसरमा ऊ आफ्नो उत्पादन र प्राप्तिलाई भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ।

केही समय अघि दशैं, त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवैमा महिलाको शक्तिका विभिन्न रुपहरूको पूजा-आराधना गर्दै मातृशक्तिको रूपमा महिलाको यौनिकता,पराक्रमको अस्तित्व र धनधान्यसँग जोडिदिएर महिलालाई सम्मान र भक्ति देखाउन खोजेको छ । यसभित्र अन्य प्रसङ्गहरू पनि जोडिन्छन ।

वैज्ञानिक आधारहरू
तिहार पर्व मानव विकास र विस्तारसँग जोडिएको सांस्कृतिक पर्व हो । यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्त्व देखिन्छन त्यो भन्दा बढी वैज्ञानिक महत्त्व जोडिएको छ । जस्तै चराहरू वातावरण सन्तुलनका प्रतीक हुन्। बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउछन्।अप्रत्यक्षरूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्दछ भन्ने विषयसँग जोडछ।त्यस्तै कुकुरको स्वामिभक्ति र बफादारीता संसारमा प्रसिद्ध छ । यहाँ आफूलाई संरक्षण दिनेप्रति सबैले कुकुरले जत्तिकै इमानदार हुनु पर्दछ भन्ने सन्देश छर्न खोजेको छ । मातृशक्तिको रूपमा गाईबाट दूधदेखि मलमूत्र र हलो तान्ने वहर दिएर मानिसको जीवन बचाउने कारण पुजा गरिएको हुनु पर्दछ ।

पहाड,पर्वतले हरियाली,औषधी, जीउन चाहिने आवश्यक अक्सिजन दिएर सम्पुर्ण प्रा‍णीको प्राण बचाउने काम गरेको देखिन्छ। गाई,गोरु र गोवर्द्धन पर्वतको पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्दछ भन्ने सिकाउन गरेको हुनुपर्दछ ।

नेपाल बाहिर तिहार
भारत : तिहारलाई भारतमा दीपावलीको नामले मनाइन्छ । वत्ति र पटक्काको उत्सवको रूपमा भारतका विभिन्न स्थानहरूमा मेला लाग्छ। भारतमा पनि दीपावली एक दिनको पर्व होइन, पर्वहरूको समूह हो। तिहारमा दिप जलाउने,फुलमालाले घर,मन्दिर र व्यवसायिक स्थान सजाउने,पटका पड्काउने आदि गरिन्छ ।

प्रायः दशैं पछि दीपावलीको तैयारी सुरू हुन्छ। दीपावलीको दुइ दिन (पहिला त्रयोदशीका दिन) धनतेरस मनाइन्छ। तिहारमा किन्ने भाँडा/ गहना धनतेरसका दिन नै किनिन्छ ।धनतेरस भन्ने नजाने पनि त्यसदिन भाँडाहरू किन्नु शुभ मानिन्छ र किन्ने गर्छन् ।

बेलायत : नेपाल र भारत बाहिर सबैभन्दा धूमधामले तिहार बनाउने देश बेलायत हो । बेलायतको लेचेस्टर सहरमा हिन्दुको बाक्लो उपस्थिति छ । त्यहाँ हिन्दू, सिख र अन्य धर्मका मानिसहरू मिलेर तिहार मनाउने गर्छन् ।तिहारमा मानिसहरू दियो र पटका पट्काएर रमाइलो गर्ने गर्छन् । तिहारको दिन मानिसहरू पार्क र बाटोमा समूह बनाएर पटका पट्काउने गर्छन । साथै,आफन्त र साथीभाईबीच मिठाइ पनि बाँढिन्छ ।

थाइल्याण्ड: थाइल्याण्डमा तिहारलाई लाम क्रियोग्घको नामबाट मनाइने गरिन्छ। केराको पातबाट निर्मित बत्ति र धूप रातको समयमा बालिन्छ।बलिरहेको बत्तिमा पैसा राखेर नदीमा बगाइन्छ र रमाइलो गरिन्छ ।

स्कटल्याण्ड : प्रत्यक वर्ष जनवरीको अन्तिम मंगलबार लेर्विकमा एक प्रकाशोत्सवको आयोजना गरिन्छ। त्यो प्रकाशोत्सवलाई हेली आ भनिन्छ । यो वास्तवमा तिहारकै एक रुप हो । यो कार्यक्रममा मानिसहरू प्राचिन समुन्द्री लडाकु जस्तै कपडा लगाएर हातमा मसाल लिएर जुलूस निकाल्छन्।त्यो समय पूरा सहर उज्यालोमय हुन्छ ।

जापान : प्रत्यक वर्षको जनवरी महिनामा जापानमा ओनियो फेयर फेस्टिवल मनाइने गरिन्छ । फुकुओका सहरमा तिहारको जस्तै प्रकाशमय वातावरणमा चाड मनाइन्छ । सो अवसरमा कठिन परिस्थितिको अन्त्यको प्रतिकको रूपमा मसाल जलाईन्छ।खास गरी सेतो कपडा पहिरेर जापनीजहरूले मसाल र्याली मन्दिरबाट सुरु गर्छन ।

क्यानडा : क्यानडाको न्यूफाउन्ड ल्याण्डमा नोभेम्बर ५ का दिन तिहारको जस्तै एक चाड मनाइन्छ । अंग्रेज र आइरिस सुखद जीवनको खोजीमा क्यानडा आएको सम्झनामा आताशवाजी गर्ने गरिन्छ।साथै सहरको घर तथा पसलहरूमा रंग रोधनगरि चिटिक्क पारिन्छ ।
तिहारसँग जोडिएका धेरै प्रसङ्गहरू छन् तर सारमा माथिका विषयको प्रसङ्ग अध्ययनमा परेको र इतिहाससँग जोडिएको देखिन्छ ।

सीता ओझा [email protected]

प्रतिक्रिया