शुभकामना र आशीर्वाद भन्दा ठूलो कुनै उपहार छैन

रमेश ढकाल भद्रपुर, झापा (हाल, दोहा-कतार) २०८० कार्तिक २५ गते १६:२८ मा प्रकाशित

हाम्रो घर आँगनमा तिहार सुरु भैसकेको छ । पाँच दिनसम्म मनाइने तिहारका सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भन्ने गरिएको भनेर भनिन्छ । यसरी रहँदा–बस्दा बहिनी यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले ’हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागिन् ।

यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्ध चित्तले यस प्रकारसँग भ्रातृ पूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको हो भनेर विकि लगायतका साइटमा उल्लेख गरिएकोे पाईन्छ । जे होस्, तिहारले एकातिर मानव तथा पशु बीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

तिहारमा दिदीबहिनी तथा दाजुभाइहरूका बिचमा उपहार आदानप्रदान पनि हुने गर्छ । तर जानी नजानी उपहार दिने कार्य हिजो आज निक्कै बोझिलो अथवा खर्चिलो पनि बन्दै आएको छ । यसो सोचौँ त उपहार किन दिइन्छ ? वास्तवमा उपहार दिनु भनेको आशीर्वाद दिनु हो, हैन र ? शुभकामना, आशीर्वाद तथा सकारात्मक ऊर्जा भन्दा मूल्यवान अर्को के उपहार हुन सक्छ होला र ?

तर समय बित्दै जाँदा सम्भवत हामीलाई लाग्यो, आशीर्वाद मात्र हैन, योसँग अरु पनि केही दिनु पर्छ । त्यसैले हामी रोटी मिठाई तयार गर्न थाल्यौं । यसरी तयार गरिने रोटी मिठाईहरू अत्यन्तै धेरै माया, सद्भावका साथ पकाउने बनाउने गरिन्थ्यो । ती रोटी तथा मिठाईहरूमा दिदी बहिनीहरूको माया, सद्भाव र सकारात्मक ऊर्जा मिसिएको हुने गर्थ्यो ।

हिजो आज रोटी तथा मिठाई तयार गर्न हामी धेरैलाई गाह्रो हुन्छ अथवा आउँदैन । त्यसैले हामीले यी चिजहरु बजारबाट किन्न पनि थालेका छौँ । स्वास्थ्यका कारण कतिलाई रोटी मिठाई खान नमिल्ने हुँदा फलफुल पनि दिने गरियो । यसैगरेर मिठाई वा फलफुल मात्र के दिनु भनेर बिस्तारै रुमाल टोपी लगायतका सानातिना उपहार पनि किनेर दिने गरियो ।

तर दुःखको कुरा हिजोआज हाम्रो ध्यान बिस्तारै शुभकामना तथा सकारात्मक उर्जाको आदनप्रदान भन्दा पनि उपहारमा केन्द्रित हुन थालेको छ । उपहारको मुल्य, उपहारको आकार, प्रकार र ब्रान्डमा केन्द्रित हुन थालेको छ । यसरी यो उपहार दिने संस्कार नजानिँदो पाराले अब एक प्रकारले तनावको कारण पनि बन्न सुरु गरेको छ ।

हिजोआज उपहार दिनु कति अवस्थामा बाध्यता बन्ने गरेको छ भने कति अवस्थामा एक अर्काका स्वार्थ पूर्तिका लागि वा कसैलाई प्रभावित गर्ने उदेश्यले पनि महङ्गा उपहार किन्न र दिन थालिएको छ । यसरी दिने लिने उपहारमा माया, प्रेम, सद्भाव तथा सकारात्मक उर्जा भन्दा पनि कसैको बाध्यता, विवशता वा स्वार्थ जोडिन थालेको छ ।

कहिलेकाहीँ हामीलाई लाग्छ, गएको वर्ष मलाई महँगो उपहार प्राप्त भयो, त्यसैले मैले पनि यो वर्ष त महँगो नै उपहार दिनु पर्छ । तर त्यसरी दिन खोजिएको उपहार मेरो क्षमता वा बजेट भन्दा बाहिरको पनि हुनसक्छ । तर पनि म महँगो उपहार दिन वाध्य छु, किनकि मलाई अघिल्लो वर्ष महँगो उपहार प्राप्त भएको थियो । अर्कोतिर, सबैले महँगो उपहार दिइरहेका छन्, म कसरी अरुको भन्दा सस्तो उपहार दिन सक्छु ? मैले दिने उपहार पनि महँगो नै हुनुपर्छ । यसरी हिजो आज उपहार लिने दिने प्रचलन कति अवस्थामा व्यापार, एक प्रकारको लेनदेन जस्तो पनि बन्न थालेको छ ।

त्यसैले हिजो आजका चाडपर्वहरु माया, प्रेम, सद्भाव, शुभकामना, आशीर्वाद भन्दा पनि कतै वस्तुहरूको आदानप्रदानमा मात्र सीमित बन्दै गएका त छैनन् ? थोरै गहिरिएर सोचौँ त ! उपहारका नाममा एकआपसमा हामी कतै हिजोआज तनाव, चिन्ता, प्रभाव, बाध्यता, आडम्बर, अहमता, आदि त बाँडिराखेका छैनौँ ?

त्यसैले अब चाडपर्वलाई हामी सबै मिलेर जति सक्दो सरल र सहज बनाउने तिर लाग्नु पर्छ । ताकि हाम्रो प्राथमिकता महँगा उपहार भन्दा पनि सद्भाव, शुभकामना, आशीर्वाद तथा सकारात्मक ऊर्जा लिने दिनेमा केन्द्रित हुनसकोस् ।

अतःः यो तिहार उपहार भन्दा पनि आपसमा माया, प्रेम तथा सकारात्मक ऊर्जा र आशीर्वाद बाँड्ने तर्फ केन्द्रित हुन सकोस् । सबै प्रति सधैं शुद्ध विचार, शुद्ध भाव रहोस् । मन भित्रका तीता तथा मन नपरेका विगतहरू मेटिएर जाउन् । सबै प्रति मन एकदम सफा रहोस् ।

अरुले कस्तो सोच्छन् वा अरुले के भन्छन् लगायतका कुराले कसैको पनि मन भारी नहोस् । कसले के दिए, कसले कस्तो व्यवहार गरे, यसको पनि हिसाब नरहोस् । चाडपर्व लेनदेनको व्यापार नबनुन् । यो तिहार सबैका लागि माया, प्रेम, सद्भाव, शुभकामना र आशीर्वाद आदानप्रदानको एउटा नौलो अनुभव बन्न सकोस् । यहाँहरु सबैमा तिहार तथा छठपर्वको हार्दिक शुभकामना !

प्रतिक्रिया