एनआरएनए अध्यक्ष शर्माद्वारा रु  १० करोडको राहत कोष बनाउने घोषणा, पहिलो बैठकमै उठ्यो झन्डै एक करोड

इनेप्लिज २०८० कार्तिक १८ गते २०:०७ मा प्रकाशित

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष आर के शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेका छन्।  

उनले  उक्त कोषमा आफ्नो व्यक्तिगत तर्फबाट रु २१ लाख प्रदान गर्ने घोषणा पनि गरेका छन्।

शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ।

जूम माध्यमद्वारा शनिबार आयोजित बैठकमा बोल्दै  अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे।  

उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए।

उक्त कोषका लागि संघका महासचिव बुद्धि सागर सुवेदीले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ, उपाध्यक्ष  गोविन्द श्रेष्ठ ‘रोविन्द’ ले ३ लाख, कृष्णजीवि पन्थले रु २ लाख १११, टंक गैरेले रु २ लाख  सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।  

त्यस्तै उपाध्यक्ष डा केशव  पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव  दयानिधि सापकोटा तथा हरि खत्रीले जनही एक लाख रुपियाँ प्रदान गर्ने जनाए।

एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबारसम्ममा बैंक खाता खोली सबै एनसीसीहरुलाई जानकारी गराउने बताए।  

प्रतिक्रिया