द्धापर युगमा पाँच पाण्वहरूकी ममतामयी माता कुन्तीसँग एउटा मन चिन्ते भाँडो थियो रे । मनले चिताएको कुरा त्यस भाँडोमा पाक्थ्यो रे । चामल सामल नभए पनि जे चितायो त्यही पाक्ने । त्यस भाँडोमा भात, खीर, खीचडी, हलुवा आदि मिष्टान्न भोजनहरू खै केके पाके । मनचिन्ते भाँडाले पाण्डवहरूलाई सन्तुष्ट बनाएर राख्यो । सायद यो काल्पनिकमात्र थियो की । तर अहिले यथार्थरुपमा चर्चीत मनचिन्ते भाँडो छ । त्यो मनचिन्ते भाँडोको नाम एनआरएन राखिएको छ ।कसैकसैले यसलाई ए नारान् पनि भन्छन् ।
यो भाँडोले बिभिन्न देशमा पुगेर सानो नेपाल बनाएको छ । ती देशहरूमा नेपालका कला, सँस्कृति, साहित्य, भाषा जस्ता सम्पदाहरूलाई पनि पुर्याएको छ । त्यो भन्दा ठूलो यसले नेपालको राजनिती पुर्याएको छ । नेपालको रूख पुर्याएको छ । सूर्य पुर्याएको छ । हँसिया र हथौडा पुर्याएको छ । कतै कतै गाई र हलो समेत पुर्याएको छ । बिस्तारै घण्टी पनि पुग्यो भने मन्दिरको घण्टी र चर्चको घण्टीको प्रतिष्पर्धानै नहोला भन्न सकिन्न ।
समय र परिस्थितिसँगै परिवर्तन भएर अरूदेशहरू चन्द्रमा र मंगलग्रहमा पुगी सके । उत्पादन र निर्यातलेमात्र सम्बृद्ध देश बन्छ भन्ने थाहा पाउनेहरू आत्मनिर्भर बनीसके । बिज्ञान र प्रविधिमा लगानी गर्नेहरू सन्सारकै धनाड्य देशका पँङतीमा उभिएर संसार हाँक्न थालिसके । नेपाल भने बेरोजगारका बेर्ना लगाउने । सूर्य र गाछीका मुन्ना उमार्ने र विदेश पैठारी गर्ने धन्दामा लाग्यो । अनि सन्सारभरी नै एनारन भन्ने मनचिन्ते भाँडो जन्मायो । यूवा नेता भिजन भएका नेताहरू भारतसँग खरबखरब माग्ने । अनि चिनसँग गएर भारतले त एती खरब दियो भनेर माग्ने योजना बनाउँछन् । विकाशका लागि अमेरिकालाई भित्र्याउनु पर्छ भनेर अनसन बस्छन् ।
आफूले हुर्काएर पैठारी गरेका बेर्नाहरूले पठाएको रिमिट्यान्सबाट देश चल्छ । बेर्नाले पठाएको लेवी र चन्दाले पार्टी चल्छ । बिनारोजगारी, विना व्यापारव्यवशाय महल बन्छन् । गाडी र सुविधाहरू जोडिन्छन् । हल्का र फोस्रा गफमा मान्छे हँसाएर दर्शन बाँड्छन् । मेचीकालीका रेलका गफबाँड्छन् । पानीजहाज र उत्तरदक्षिणका रेलका कुराहुन्छन् । तुइनबाट खोला तर्दा बिधार्थी झरेरमर्छन् । भोकमारीले लाखौँ मान्छे मर्छन् । राष्ट्रपतिले खाएनखाएकोमा नेता चिन्तित बन्छन् । गाँसबास नपाएर मानिस सडकमा हुन्छन् । सरकार साँम्सदहरूलाई क्वाटर बनाउन अरबौको बजेट बिनियोजन गर्छ ।
चुनाब आउनु भन्दा अगाडि सबै पार्टीहरूले यो गर्ने र त्यो गर्ने भन्दै काल्पनिक मनचिन्ते भाँडोको प्रयोग गर्छन् । सरकारलाई मनचिन्ते भाँडो सम्झन्छन् । त्यहाँ पुगेपछी सबै फटाफट हुन्छ भन्ने कल्पना गर्दछन् । तर विजयी भएर अविर र मालामा सरिक हुनासाथ भष्मासुर बन्छन् । सबै बाचा र योजनाहरु बिर्षिएर अरूका टाउकोमा हात राखेर भष्म बनाउन तम्सिन्छन् । एनारन् भन्ने भाँडोमा पनि विकशित र सम्बृद्ध देशमा रहँदा अनुशासनमा बस्दा सकारात्मक सोच जन्मदैन । जञ्जिरमा राखिएको सिँहले बदलाको भाव जन्माए जस्तै ज्ञान आर्जन गर्दछ । जती खर्च गरेर पनि त्यो ठाउँमा पुग्न पाए हुन्छ । क्षमता र दक्षता र बिज्ञताको जरूरत पर्दैन । आशिर्वाद प्राप्ती र गोडामोलाईको उसको विज्ञतालाई अधिक प्रयोग गर्दछ । अग्रजबाट सिकेको पनि त्यही छ । अग्रजले गरेका राम्राकामबाट उसलाई प्रभाव पर्दैन ।
जसरी पनि मनचिन्ते भाँडो हत्याउनु उसको उधेश्य हुन्छ । आफुले जसरी पद प्राप्त गर्यो आफ्ना भक्तहरूलाई पनि मनचिन्तेमा सहकर्मी बनाउन पाए मनमौजी गर्न पाइएला भन्ने विश्वास बोक्छ । कसैसँग जातको साइनो लगाउँछ । कसैसँग क्षेत्र र गाउँको नाता गाँस्छ । कतै गोडामोल्ने ठाउँ त एउटै होनी भनेर झोलाको सम्बन्ध तेर्स्याउँछ । उधेश्य मात्र मनचिन्ते भाँडो आर्जन गर्नु हो । उसलाई ख्याति कमाउनु छ । सबैबाट हाइहाइ बटुल्नुछ । मातृभूमिको मनचिन्ते भाँडो कव्जा जमाउनेहरूबाट बधाई थाप्नु छ र फेसबुकमा फोटो पोस्ट्याउनु छ । सबैबाट उठाएको श्रमको शुल्क मनपरी खर्चे र सदैब पूजिनु छ । आफुसँग असहमत हुनेहरूलाई भष्मासुर बनेर शीरमा हात राखेर नष्ट गर्नु छ ।
-सुरेन उप्रेती पाँचथर हाल क्यानडा
प्रतिक्रिया