कविता — विश्वास 

इनेप्लिज २०८० कार्तिक १३ गते १:२९ मा प्रकाशित

विश्वास धागो
अर्थात डोरो हो
जसले वस्तु संगठित गर्न
सेतु जस्तै काम गर्छ ।

विश्वास आड हो
नजिकिएर अरुसँग
जोड्न सहजिकरण गर्दै
मानिसको मन च्याप्ने
काममा सहयोग गर्छ ।

विश्वास ! भावना हो
जसले अलगिएको मनलाई
सहृदयी बनाउँछ
सम्बन्धको दुरी घटाउँछ

विश्वास भरोसा हो
एकअर्काको
अन्तरद्वन्द्व घटाउने
आत्मियता बढाउने
सम्बन्धको आधार बनाउने

विश्वास आफ्नोपन हो
आफुभित्रको मन बढाउन
अर्कोको मन सजाउन
नाताको जुइनो बाँधिदिन

विश्वासको त्यान्द्रो
रगतको नातामा भन्दा
भावना र विचारमा आत्मिय
मन पखाल्न र आँखा ओभाउन
पलपलमा सहयोग गर्ने
साथी विश्वास रहेछ ।

विश्वास जीउने कला रहेछ,
मानिसलाई जोडिदिने
कर्म र मर्म चिनाउने
रोगबाट जोगाउने
मृत्युबाट बचाउने
आड, भरोसा र साहस दिने
माध्यम रहेछ ।

विश्वासको मानवता
कला र सृजनाको साधनमा
रङ्गमञ्च सजाउने
कला र गला हाउभाउ रहेछ ।

विश्वास नामको धागो
सुन्दा सामान्य
बुझ्दा गहिरो
र महत्त्वपुर्ण रहेछ ।

मातापिता,पतिपत्नी
भातृत्व,बन्धुत्व,मातृत्व
सबैलाई जुटाउन,
फुटाउन,गुल्ट्याउन र
सुकाउन सक्ने शक्ति भएको
भावनाको त्यान्द्रो भन्दा हुनेरहेछ ।

सीता ओझा
२०७८/०७/१२

प्रतिक्रिया