अष्टमीको त्यो निख्खर कालो बोका ! संम्झना

इनेप्लिज २०८० कार्तिक ५ गते १७:०२ मा प्रकाशित

ओहो ! आज त अष्टमी रहेछ । एकाबिहानै मलाई त झट्ट आज भन्दा तिन चार दशक अगाडीको दशैंतिरको त्यो “ निख्खर कालो बोका “ पो याद आयो । उ बेला, हामी केटाकेटी हुंदा हाम्रो घरमा पनि दशैंको अष्टमीमा बिभिन्न देवीको मंन्दिरमा कालो बोका पूजा गर्न लग्ने चलन थियो । आजकल त बोकाको मासु खाने सबै केटाकेटी भुरूरू हवाईजहाज चडेर टाढा सात समुन्द्र पारी उडि हाल्यौं । छैन नेपाल घरमा त्यो दशैंको चहलपहल र त्यो पुरानो रमाईलो केही ।

खै थाहा छैन ? कहिले जुटिएला दशैंमा नेपालमा सबै एकैठाउॅंमा । दशैं त आजकल नेपालतिर घरघरमा एकादेशको कहानी नै पो हुन लाग्यो ।

कालो बोका किन्न जाने दिन निक्कै चटारो हुन्थ्यो । राख्ने ठाउॅंको अभाव, चराउन कता लग्नु, कराउने , फोहोर गर्ने साथै बोका बिरामी पर्ला कि भन्ने पीरले प्राय: अष्टमीको एक दुई दिन अगाडी मात्र बोका किन्ने गरिन्थ्यो ।

दशैं त आजकल नेपालतिर घरघरमा एकादेशको कहानी नै पो हुन लाग्यो ।

त्योबेला काठमाडौंको भृकुटीमण्डप पछाडी “ खसी बोका बजार “ लाग्थ्यो । बुबा, काका, मामाहरूसबै त्यही भेटेर किनमेल गर्नु हुन्थ्यो। घरमा रहेका सहयोगीहरू दाईहरू पनि साथै जान्थे र बोका, खसी डोर्र्याएर ल्याउथे ।

बोका निख्खर कालो नै नल्याई नहुने । कहिले काही भाईहरू साथ लागेर गएका पनि हुन्थे । उनीहरूले बोका किन्दाको किस्सा सुनाउॅंथे । मोलतोल निक्कै गर्नु पर्ने र कालो बोका महंगो पर्ने हुन्थ्यो भन्थे । जेहोस घरमा खसी बोका ल्याएपछि दशैंको चहल पहल शुरू हुन्थ्यो ।

हाम्रो घरबाट नजिक देवीको मंन्दिर मैतीदेवी वा गुजेश्वरी पर्ने , धेरै जसो त्यहाँ नै पुजा गर्न लगिन्थ्यो । मंन्दिरमा लामो लाईन हुने तर बोका पुजा गर्नेहरूको छुट्टै लाईन हुन्थ्यो । आजकल त बोका मंन्दिर भित्रकाट्न दिंदैनन् । उ बेला त बोका भित्रै काट्ने चलन थियो । पुजा गरेर निक्लॅंदा जिउ भरी रगतै रगतलाग्ने । मंन्दिर वरीपरी पनि जताततै रगत हुन्थ्यो ।

जेहोस घरमा खसी बोका ल्याएपछि दशैंको चहल पहल शुरू हुन्थ्यो ।

बोका पुजा गरेर ट्याक्सी, टेम्पो वा त्यो नपांउॅंदा सहयोगी दाईहरूले बोकेर ल्याउॅंथे । अफिस साईकलमा जाने दाईहरू घरमा हुंदा त साईकलमा राखेर पनि ल्याउॅंथे । घर ल्याएपछि , पछाडी बारीमा ईट्टाको चुलो बनाएर , ठुलो खट्कुलोमा पानी तताएर , टिनको पातामा बोका सफा गरेर मासु काट्ने चलन थियो । तातोपानीले रौं सफा गरेपछि , त्यसमा बेसार र तेल दल्ने गर्थें ।

एक साल त बोका सफा गर्न तातो पानी हाल्दा त बोकाबाट कालो झोल पो निक्लियो । मम्मीले थाहा पाउनु होला भनेर सबै मिलेर हतार हतार सफा गर्नुभयो । एक त बोका कालो रहेनछ भन्ने चुकचुक साथै उल्टै राम्रोसॅंग नहेरी ल्याएको भनेर मम्मीको गाली सुन्न कसलाई रहर र ! खासमा सबै “ निख्खर कालोबोका “ नै खोज्ने देवीलाई चढाउन व्यापारी बाठा, खैरो ,सेतो रौंलाई कालो व्याट्रीको धुलो तेलमा मिसाएर दलेर कालो पारेर बेच्ने रहेछन् ।

३-४ दिन पछि चाहीं मम्मीलाई भनेर सबै जना पेट मिची मिची हांस्यौं । अहिले पनि सबै परिवार भेट हुंदा पुराना प्रसंग निक्लॅंदा त्यो बोकाको कुरा बेलाबेलामा निक्लिन्छ । एकदुई पटक जिज्ञासा लागेर अष्टमीमा किन “ निख्खर कालै बोका पुजा “ गर्नु पर्ने भनेर सोधेको पनि हो घरका ठुलाबडाहरूसॅंग , उॅंहाहरूले हाम्रो कुल घरको सदिऔं देखि चल्दै आएको चलन यस्तै हो भन्नुभयो । आफ्नो परम्परा धान्नलाई पो यसरी पुजा गर्ने गरिरहेको रहेछ भनेपछि अरू धेरै सोध्ने र सोच्नकुरा पनि भएन ।

एक साल त बोका सफा गर्न तातो पानी हाल्दा त बोकाबाट कालो झोल पो निक्लियो ।

तर आजकल हाम्रो घरमा चाहीं अष्टमीको पुजामा कुनै पशु बली दिंदैनौ । शायद हाम्रो पुस्ता नेपालमा भएको भए परम्परा कायम गर्न त्यसै गरिन्थ्यो पनि होला ।

आजकल सबै विदेशमा छौं । बरू नरीवल, फलफूल चडाउने गरिन्छ । परम्परा समय र ठाउॅं अनुसार बदलिंदै जान्छ । हाम्रो घरमा बदलियो ।

अन्त्यमा, आफ्नो कुल र मुल धर्म संसारमा जॅंहा पुगे पनि बिर्सनु हुन्न । “ देश गुना भेष “ भने जस्तैआफुलाई जे जस्तो अनुकुल मिल्छ त्यही अनुसार आफ्नो चाडपर्व मनाउनु पर्छ ।

दशैंको शुभकामना !

शशी के.सी

प्रतिक्रिया