स्त्री शक्तिसँग जोडिएको छ नौरथा

सीता ओझा २०८० कार्तिक ५ गते १५:११ मा प्रकाशित

सीता ओझा । नौरथा/ नवरात्र अथवा नवरात्रि प्रतिपदादेखि नवमीसम्म नौवटी महिला मातृशक्तिको पूजाआराधना / श्रद्धापुर्वक सम्झना गर्ने प्रचलन छ । दशै पर्वले समाजको विकाससँग जोड्न खोजेका आयामहरू यस्ता छन् :

१, मानवजीवनको सामूहिक र सामाजिक अस्तित्व विकासको आधार विकास गर्ने पर्व
२, मानवजाजी,पर्यावरण र कृषिसँगको सम्बन्धको थलनी भएको
३,लैङ्गिक दृष्टिकोणबाट मातृशक्तिको समान अस्तित्व बोध भएको प्रतीक पर्वको रूपमा
४, सामाजिक विश्लेषण गर्दा
५,पारिवारिक संरचनासँग जोड्दा द्वन्द्व र द्वेष अन्त्य गर्ने पर्व
६,राज्य,शक्ति र सत्तासँगको तुलना गर्दा पितृशक्तिको एकात्मक सोच पराजयसँग मातृशक्तिको सहकार्य, सजातीय समुहविच शक्ति र सत्ताको संरक्षणमा आपसी सहयोग बोध गम्य पर्व नवरात्रिसँग जोडिएको र मातृशक्तिको रुप मानिएका महिलाहरूको नाम यस्तो छ :

शैलपुत्री,व्रह्मचारणी,चन्द्रघन्टा, कुशमन्दा,स्कन्दमाता,कात्यायनी, कालरात्री,महागौरी र सिद्धिदात्री नामले परिचित छन् । विजया दशमीको नौ दिन यीनै महिलाहरू नौ दुर्गाको नामले पुकारिन्छन्।

गण,कविलाको समाजमा पुरुषहरूले सजातीयको पक्षमा/संरक्षणको लागि युद्ध गर्न उभ्याएका नौजना महिलाहरूको विभिन्न मुद्रार रुप भनेर बुझ्यो भने दृष्टिकोण बनाउन सजिलो हुन्छ ।

प्रतिपदा / पहिलोदिन श्रद्धा भक्ति गरिने शक्तिस्वरूपको पहिलो नाम शैलपुत्री हो।

शास्त्रीय अध्ययनले उनलाई पर्वतराज हिमालयको पुत्रीका रूपमा स्थापित शक्ति (चौपाया ) साँढेमा बसेकी महिलाले दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल धारण गरेको देखिन्छ । मानव जीवनको आवश्यकतासँग जोडिएका साँडे र त्रिशूल पर्यावरण र सत्ताको शक्ति सन्तुलनको प्रतिकको रुपमा वहान र हतियार शिवले दिएर युद्धमा जोडेको देखिन्छ ।

यिनी हिमालय पर्वतकी छोरी हुनु पुर्व दक्ष प्रजापतिकी छोरी सतिको नामले चिनिएकी,दक्षप्रजापतिको इच्छा विरुद्ध शिवसँग विवाह गरेकी विद्रोही महिला थिइन । दक्षले शिवको शक्तिलाई अस्विकार गर्दा सतीले पतिको अपमान सहन नसकेर अग्नि कुण्डमा आत्मदाह गरेको कल्पनाको विम्ब जोडिएको भेटिन्छ ।

यिनी हिमालय पर्वतकी छोरी हुनु पुर्व दक्ष प्रजापतिकी छोरी सतिको नामले चिनिएकी,दक्षप्रजापतिको इच्छा विरुद्ध शिवसँग विवाह गरेकी विद्रोही महिला थिइन ।

ब्रहृमचारिणीको नाम स्त्री शक्तिको दोस्रो स्वरूप हो। ब्रह्रमा शब्दको अर्थ तपस्या हुन्छ। मानवीय जीवनमा ध्यान,ज्ञान,तप र जपको आराधना र साधना गर्न महिलाले पनि सक्छन् भन्ने संकेत ब्रह्रम्माचारिणी नामसँग जोडिएको छ। यो स्वरूपले महिलालाई पूर्ण ज्योतिरमय एव शक्तिशाली भएको अवस्थामा पुर्याएको छ

यी महिलाको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु देखिन्छ । जपको माला ध्यान र ज्ञानसँग जोडिन्छ भने कमण्डलु बैराग्यको प्रतीक मानिएको छ।

मानविय जीवनमा उपासना,तप, त्याग,वैराग्य,सदाचार,संयम विकास र वृद्धि सबै भयो भने मात्रै सर्वत्र सिद्धि एवं विजय हात लाग्दछ भन्ने विषयलाई हजार वर्षसम्म पानी नपिइकन तपस्या गरेपछि पितामह ब्रहृमाले आकाशवाणीद्वारा ब्राम्हणीको उपनाम दिएको कथा जोडिएको छ ।

दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो।सुवर्णमय चन्द्रघण्टा रूप परम शान्तिदायक एवं कल्याणकारी भावनासँग जोडिएको रुप हो । यिनको दस हातमा खड्ग शस्त्र तथा वाण आदि अस्त्र देखाइएको छ । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र देखिन्छ । यही चिन्हले यिनीलाई चन्द्रघण्टा भनेर जानिन्छ। यिनको शरीर स्वर्ण सामान चम्किलो देखिन्छ। शास्त्रानुसार हातको घण्टाको आवाजले (राक्षसहरू ) फरकमत राख्नेहरू डराउने,पुरुषले मात्रै लड्न नसक्ने अवस्थामा नयाँ शक्ति स्थापना गरि जङ्गली जनावर सिहंको वाहनमा चडाएर युद्धमा पठाएको देखिइएको छ । महिलाहरुमा सिंह साधना गर्नसक्ने क्षमता,युद्धकला सहित युद्ध स्थलमा एक्लै पुगेको सामर्थ्य देखाउन खोजिएको छ ।

शास्त्रानुसार हातको घण्टाको आवाजले (राक्षसहरू ) फरकमत राख्नेहरू डराउने,पुरुषले मात्रै लड्न नसक्ने अवस्थामा नयाँ शक्ति स्थापना गरि जङ्गली जनावर सिहंको वाहनमा चडाएर युद्धमा पठाएको देखिइएको छ ।

कुष्माण्डा नामसँग सूर्यको जस्तो तेज जोडिएको हुन्छ । अट्टहासमा ब्रहृमाण्डको सृष्टि,विकास र विनाससँगको प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो।मृदु मुस्कानद्वारा ब्रहृमाण्डको अस्तित्व र अन्धकारलाई जोगाउन कृष्माण्डलाई उत्पन्न गरिएको मानिन्छ । यिनका आठ हात भएको स्वरुपलाई अष्टभुजा भनिन्छ ।

यिनको हातमा कमण्डलु, धनुष,वाण,कमलपुष्प,अमृतपूर्ण कलश,चक्र तथा गधा देखिन्छ । उनको रुपले सिद्धि र निधि दिन सक्ने क्षमता र शक्ति देखाउन खोजिएको छ।

पञ्चम महिला शक्तिको नाम स्कन्द हो । उनी कमलको फूल आसन भएकी,सेतो वर्ण, चार हात भएकी स्कन्दकुमारकी माता भएको कारण स्कन्दमाता भनिएको हो। यिनको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले बसेका छन् । सूर्यमण्डलकी अधिष्ठात्री भएको र सन्तान सहित युद्ध गर्न सकिने साथै प्रजननभित्रैबाट अलौकिक तेज र कान्ति छर्ने विश्वासले यिनको स्वरुपको स्थापना गरेको देखिन्छ ।

नौरथाको षष्ठीका दिन पूजा गरिने महिलालाई कात्यायनी भनिन्छ। चार हात भएकी यी महिलाको वाहन सिंह हो। कत नाम गरेका एक ऋषिकापुत्र ऋषि कात्य भए। कात्यको गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यानको जन्म भयो । त्यसबेला देव शक्ति र ऋषिमुनिको विरुद्ध रहेको दावन शक्तिको प्रभाव बढ्दो थियो । ब्रहृमा, विष्णु र शिव तीनै शक्तिले दानव शक्तिलाई परस्त गर्न नसक्ने अवस्था सृजना भएकोले तीन शक्ति मिलेर आफ्नो सत्ता र शक्तिको रक्षाको लागि एक महिलालाई सृजना गरि दानवको विरुद्ध उभ्याइयो । संकटको बेला यसरी नयाँ महिला शक्ति स्थापना गर्दा युद्धको रुप बदलियो । दानवलाई परस्त गर्ने देव पक्षको यो रणनीतिक योजना थियोे। यसरी निर्माण गरिएको शक्तिलाई पूजा गर्ने पहिलो ऋषि नै कात्यायन थिए। पुजक कात्यानको नामबाट राखिएको छैटौं महिलाको नाम कात्यायनी बनाइयो ।

नौरथाका नौ दिनलाई स्त्री शक्तिको भुमिकाले विजय,शान्ति र सद्भाव प्राप्त गर्न सक्ने आधारहरू सहितको विशेषता जोडेर देखाइएको छ।

सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा महिलालाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी,गधा वाहन गरेकी,तीन आँखा,चार हात भएकी, तरबार,मसाल,वरमुद्रा र अभयमुद्रा लिएकी महिला कालरात्रिको उपनामले चिनिएकी शक्तिशाली महिलाको पहिचान देखाउन खोजिएको छ । उनको डरलाग्दो स्वरुपभित्र झाँक्रो फिजाएको नाङ्गो स्वरुप हेर्दै भयानक देखिन्छिन्। घाँटीमा बिजुली सरह झल्कने माला,श्वास फेर्दा आगोको राँको निस्केको जस्तो देखिने स्वरुपले दुर्जनहरूको उछित्व गर्ने, दानव, दैत्य,राक्षस,भूतप्रेत भागाउने शक्ति सहितको परिकल्पना गरिएको छ ।

महाष्टमीका दिन पूजा गरिने शक्तिको रूप भन्ने विषय निकै महत्त्वपूर्ण छ। हातहतियारको प्रयोग,बन्यजन्तुको संरक्षणसँग जोडिएको मानव जीवन र प्रकृतिको सम्बन्धको उत्सवका रुपमा जोडिएका हरेक पर्वहरू मानवजातीको विकासको विषयको सार्थकतासँग गाँसिएको छ साथै यो मानव जीवनको अस्तित्व र पहिचान जोडिएको लौकिक उत्सव हो । मानव समाजले समाजमा रहेका सबै वर्ग,वर्ण,क्षेत्र,लिङ्गको मानविय अस्तित्वको संरक्षण र संवर्धन गर्नु पर्दछ । मानविय अस्तित्वको अस्विकार, निन्दा र दम्भले वैभव समाप्त हुने निश्चित हुन्छ भन्ने सन्देश दिन खोजेको छ । नौरथाका नौ दिनलाई स्त्री शक्तिको भुमिकाले विजय,शान्ति र सद्भाव प्राप्त गर्न सक्ने आधारहरू सहितको विशेषता जोडेर देखाइएको छ।

कृषि उत्पादनको सम्मान स्वरुप अक्षता ,जमरा र युद्ध विजयको रातो रङ्गको प्रयोग गरि उत्सव मनाउने परम्पराले मनमा उत्साह आउने र सकारात्मक सोचको विकास हुने देखिन्छ । यो पर्वलाई महिलाको अस्तित्व,भुमिका,स्थान, मान,सम्मान र पहिचानसँग जोडिएको पर्व हो भनेर बुझ्न सक्यो भने सामाजमा न्याय स्थापित गर्न सजिलो हुने देखिन्छ ।

सीता ओझा
२०८०/०७/०४

प्रतिक्रिया