एनआरएन सम्मेलनमा रामकुमारी झाँक्रीको अभिव्यक्ति: आफैं झाँक्री आफैं बोक्सी !

मदन बस्नेत, क्यानाडा २०८० कार्तिक २ गते २१:२७ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा चालु ११औं महाधिवेशनका क्रममा नेकपा समाजबादीकी नेत्री रामकुमारी झाँक्रीले दिएको आक्रोशित अभिव्यक्तिले यतिखेर निकै वाहवाही पाईरहेको छ भने समाजिक संजालमा पनि त्यतिकै भाईरल भईरहेको छ। तर उनको त्यो अभिव्यक्ति बाहिरबाट हेर्दा जतिसुकै जोडदार लागेतापनी भित्री रुपमा त्यसको सत्यतालाई नियाल्ने हो भने आफै झाँक्री आफै बोक्सी भन्ने नेपाली लोकउक्ति भन्दा किमार्थ भिन्न देखिन्न।

रामकुमारी झाँक्रीको त्यो भिडियो पोस्ट गर्ने र बिदेशीएका नेपालीलाई काखी बजाएर खुच्चीङ गर्नेहरुमा अरु कोही नभएर स्वदेशमै बसेर खासै उन्नति प्रगति गर्न नसकेका र बारम्बार प्रयास गर्दा पनि बिदेश जान नपाएकाहरुको जमात कै बाहुल्यता बढी छ। आफू बिदेश जान नसकेको कुन्ठा अहिले उनीहरू रामकुमारीको त्यही भिडियो पोस्ट गर्दै र कमेन्ट लेख्दै पोख्दै छ्न्। आफू सरहका साथिभाई र छरछिमेकी बिदेश गएर उन्नति प्रगति गरेको देख्न नसक्ने आह रीस भएकाहरुको मन भित्र गुम्सिएर बसेको भडास रामकुमारी झाँक्रीको अभिव्यक्तिसंगै अहिले निस्किएको मात्र हो।

]त्यसरी बिदेशीएका नेपालीको मानमर्दन हुनेगरी विष बमन गर्ने झाँक्रीको बोलीमा लोली मिलाउने स्वनामधारी स्वघोशीत देशभक्त रास्ट्रबादीहरुका छोराछोरीहरु यतिखेर काठमाडौ बागबजारको ट्युसन सेन्टर तिर टोफेल र आईएल्सको परिक्षाकोलागि तयारी गरीरहेका भेटिए आश्चर्य नमाने हुन्छ। सर्बसाधरण जनताका छोराछोरीका कुरा छाडौं, ठुलाबडा नेता कार्यकर्ता कै छोराछोरी धमाधम बिदेश हानिएको परिवेशमा प्रवासी नेपालीलाई धारे हात लगाउँदै झाँक्रीको जयजयकार गर्ने प्रवृत्ति भनेको आफ्नो आङ्को जुम्रा नदेख्ने अरुको आङमा भैंसी खोज्नेहरुकै जमात हो भन्दा अन्यथा नहोला।

जहाँ सम्म रामकुमारी झाँक्रीले बिदेशमा बस्ने गैरआवासीय नेपालीलाई नेपालको बारेमा किन बोल्छौ ? बिहान आँखाको चिप्रा नझिक्दै किन हामीलाई गाली गर्छौ? नेपालका नेता र दलहरुलाई फेसबूकबाट किन कमेन्ट ठेल्छौ भनेर झ्याँको झारेको सन्दर्भ छ, त्यो भनेको उनले हगे पछी देखेको दैलो मात्र हो। त्यो किनभने बिदेशमा गईसकेका र उतैको स्थाई बसोबासको निस्सा बोकेका, अझ कति त उतैको नागरिकता समेत लिईसकेका नेपालीलाई पार्टीको प्रवास संघ र संगठनमा आबद्ध गर्ने को हो ? यीनै रामकुमारी झाँक्री र यिनी जस्तै नेता र पार्टीहरु हो कि होइन ? प्रवासमा आफै पार्टी संगठन बिस्तार गर्ने, पार्टी नेता र कार्यकर्ता नियुक्ति गर्ने अनि तीनै प्रावासबाट चन्दा र लेवी उठाएर खाने रामकुमारीहरु अहिले लाजै पचाएर तिनै पार्टी कार्यकर्ताको विरुद्ध विष बमन गर्ने ? के रामकुमारी झाँक्रीले आफ्नो आलमारीमा झुन्ड्याएर राखेका कोट, पाईन्ट र सारी झोलीहरु मध्ये के कति त्यही एनआरएनेले दिएको हो ? लाज नमानी बताउन सक्छिन् ? प्रवासमा के उनी आफ्ना हनुमान भक्ती गर्ने द्वारे, ढोके, हुक्के प्रवृत्तिका कार्यकर्ताहरुको संजाललाई आजैका मितिबाट खारेज भयो भनेर घोषणा गर्न सक्छिन् ?

रामकुमारी झाँक्रीमा अलिकती पनि नैतिकता र लाज भन्ने बाँकी छ भने भन्न सक्नु पर्थ्यो कि नेपाल छाडेर जानेहरुलाई हामी हाम्रो पार्टीको कार्यकर्ता बनाउँदैनौ, प्रवासमा हामी पार्टीको भात्री संगठन खोल्दैनौं। तर उनले त्यस्तो बोल्ने त हिम्मतै गरीनन् किनकी उनी र उनी जस्ता अरु धेरै नेतालाई पार्टी निर्माण र संगठन बिस्तारका नाममा फेरि पनि बिदेश घुम्नु छ। फ्री मा प्लेन चढ्नु छ। अनि तीनै कार्यकताको घरमा पाहुना लागेर फ्री को मासुभात खानु छ। बिदेशमा बस्ने कार्यताको पैसामा सपिङ्ग गर्नु छ। अनि नयाँ नयाँ ठाउँ निशुल्क घुमेर फर्कनु छ। त्यति मात्र होईन, चुनाव लड्दा चाहिने पैसाको जोहो पनि तीनै कार्यकर्ताबाट उठाउनु छ। रामकुमारी झाँक्रीले त्यसरी जुन थालमा खाईन् त्यही थालमा थुकेर हिंड्दा पनि चुईक्क बोल्न नसकेर ज्यामिर निचोरेको जस्तो अनुहार लगाएर हिड्ने निम्छरा कार्यकर्ताहरु देखेर भने टिठ लागेको छ।

]एउटा जिम्मेवार पार्टीको नेता त्यसमाथी मन्त्री समेत भईसकेको रामकुमारी झाँक्री जस्तो ब्यक्तिलाई राम्रै हेक्का हुनु पर्ने हो कि, नेपालको नागरिकता चाहिएर होईन, नचाहिएर हो नेपालीले बिदेशको नागरिकता लिएको। केही थान त्यो पनि झाँक्री जस्तै नेता र दलका भरौटेहरुलाई होला, नेपाल गएर राजनीति गर्ने धङधङी भएको, होईन भने बिदेशमा शून्य लिएर आएर साम्राज्य खडा गर्ने नेपाली सबैलाई राम्ररी थाहा छ राजनीति नेपालमा होईन, गर्ने नै हो भने बिदेश मै गर्ने हो। संसारको शक्तिशाली राष्ट्र अमेरिकाको मेरील्याण्ड राज्यमा नेपाली युवा “ह्यारी भण्डारी” (एचबि) सासंदको रुपमा सेवा गरिहेका छ्न् भन्ने ज्ञान रामकुमारीलाई छ कि छैन ?

यतिखेर अमेरिकाको उपराष्ट्रपतिमा इन्डियन-जमैकन मूलकी कमला ह्यारिस छिन्। त्यसैगरी बेलायतामा भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन् भने भोली त्यो र त्यो जस्तै अन्य ठाँउहरुमा कुनै नेपाली मूलको मानिस पनि हुनसक्छ भन्ने हेक्का रामकुमारी झाँक्रीलाई किन नभएको ? उनले खाईपाई आएको राजनीतिक सुभलाभमा उनकै पार्टी भित्रका केही हाईनाहरुले लुछाचुँडी गर्न खोजे भन्दैमा बिदेशमा बस्ने सबै प्रवासी नेपालीलाई उनले त्यसरी गिद्दे नजरले हेर्न मिल्छ ?

के प्रवासी सबै नेपाली रेस्टुरेन्टमा मात्रै काम गर्छ्न्? कलेजमा पढाउने, अनुसन्धानमा खटिने, बिज्ञान प्रविधिको क्षेत्रमा जुट्ने, डाक्टर, नर्स, ईन्जिनियरलाई रामकुमारीले बिदेश आउँदा भेटिनन् कि देखिनन् ? के होटल रेस्टुरेन्टमा काम गर्नु अपमानित हुनु हो ? गाडी चलाउनु, व्यापार गर्नु, ब्यबसाय खोल्नु के अपराध हो ? कुन मानसिकता र कस्तो सोच बोकेर हिंड्दैछिन् देश बनाउँछु भनेर डंका पिट्ने रामकुमारी ? युवा पुस्ताका नेता भनाउँदाहरुको यस्तै घटिया सोच र बौद्धिक दिवालियापनले गर्दा नै हो देश छाड्नेहरुको लर्को लागेको।

एनआरएन भन्ने जुन संस्था छ त्यसले बिदेश बस्ने सबै नेपालीको प्रतिनिधित्व गर्छ भन्ने यदी रामकुमारीलाई लागेको हो भने त्यो नै उनको सबैभन्दा ठूलो भ्रम हो। किनभने संसारभर छरीएर रहेका नेपाली कति छ्न् र त्यसमध्ये एनआरएन भन्ने संस्थामा आबद्ध कति छ्न् भन्ने तथ्यांक नै नकेलाई एकोहोरो बर्बराउने झाँक्रीको कम्पन ढ्याग्रो ठटाउने झाँक्रीको जति पनि शोभाएमान देखिएन। एनआरएन भन्दा बाहिर एनआरएन भन्दा पनि धेरै ठूलो प्रवासी नेपाली समूहको जमात छ भन्ने चेत झाँक्री जि ले राख्न जरुरी छ।

एनआरएनलाई आम प्रवासी नेपालीको साझा संगठन बनाउन नदिने के आखिर यिनै रामकुमारी जस्तै र उनकै जस्तै स्वार्थ केन्द्रित दलहरु होईनन् ? यतिखेर एउटा होईन दुईटा एनआरएन छ्न् र त्यस भित्र पनि सबै दलका भात्री संगठन जस्ता निकाय, कार्यकर्ता र प्यानलहरु छ्न्। के एनआरएन काठमाडौ सम्मेलनमा त्यो सबै छ्ताछुल्ल भएको छैन र ? अनि काठमाडौंको होटेलमा एकाध एनआएरएनका प्रतिनिधिले उठाएको सवाल र अभिव्यक्त गरेको धारणालाई रामकुमारीले त्यसरी आधिकारिक माग जस्तो ठानेर रोईलो गर्नुको के अर्थ ?

फेरी, के नेपाल छाडेका र बिदेशको नागरिकता लिएका प्रवासी नेपालीले नेपालको दोहोरो नागरिकता चाहियो भनेर रामकुमारी झाँक्रीसंग दरखास्त हालेका छ्न् र ? बिदेशमा नागरिकता लिईसकेका, उतैतिर घरजम, व्यापार ब्यबसाय गरेका, छोराछोरीले समेत उतै उच्च शिक्षा हाँसिल गरेर योग्यता अनुसारको रोजगारीमा लागेका कुन चाहिँ नेपाली नेपाल फर्केर आउँछन् भन्ने कल्पना गर्दैछिन् रामकुमारी झाँक्री ? उल्टै नेपालमा आएर बसीदिनुस्, नागरिकता लिईदिनुस् भनेर रामकुमारीले अनुरोध गरेर मात्र होईन सुनकै किस्तीमा नेपालको नागरिकता हालेर टक्र्याउँदा पनि मुन्टो बटार्ने प्रवासी नेपाली लाखौंको संख्यामा हुनेछ्न्। झाँक्री जि एकपटक आँखामा चिसो पानी छ्म्कनुस्, निद्राबाट ब्युँझनुस्।

हुनत सधैं बिदेशीको कुरा सुन्ने र उनीहरुले सिकाए अर्हाए अनुसार मात्रै काम कारवाही गर्ने बानी परेका रामकुमारीहरुलाई त्यसरी बिदेशमा बसेका नेपालीहरुले बोलेको मन नपर्नु कुनै नौलो कुरा होईन। भर्खरै संसदबाट पारित नागरिकता बिधेयक र एमसीसीमा रामकुमारीहरुले नेपालीका कुरा नसुनेर बिदेशीका कुरा सुनेको के तपाईं हामी सबैले देखेका छैनौं र ? अहिले एनआरएनेलाई सत्तोसराप गरेर आम नेपाली सामु साखुल्य पल्टिनु भनेको लाटो देशमा गाँडो तन्नेरी भने जस्तै मात्र हो। झाँक्रीको हैसियत भनेको चुनाबमा कसैसंग गठबन्धन नगरी एक्लाएक्लै चुनाब लड्ने हो भने सांसद होईन एउटा वडा पनि जित्न नसक्ने नै हो। त्यसैले उनको चुरिफुरीको कुनै तुक छैन।

बिदेशमा बस्ने नेपालीका आफ्ना परिवार, नातागोता, ईस्टमित्र सबै नेपाल मै छ्न्। उनीहरूका सम्पत्ति र लगानी पनि उतै छ। त्यस्तो अबस्थामा घरखर्च बापत जाने रेमिटेन्स, सम्पत्ति कर, व्यापार ब्यबसाय कर बिदेश बसेरै भएपनी बेहोरीरहेकै छ्न्। त्यसरी बिदेशमा कमाएको पैसा चल्ने तर उनीहरुको बोली नचल्ने भन्न के नेपाल भन्ने देश रामकुमारी झाँक्रीले बिहेमा पाएको पेवा हो र ? उनले मात्र बोल्न पाउने, अरुले बोल्न नपाउनलाई ? नेपाली भएर जसरी युक्रेन रसीयाको बारेमा बोल्न पाईन्छ, जसरी ईजराईल र प्यालेस्टाईनको बारेमा बोल्न पाईन्छ, ठिक त्यसै गरि के नेपाली मूलका मानिसले नेपालको बारेमा बोल्न पाईदैन र ?

एनआरएनले बीस बर्षको अनवरत प्रयासपछि प्रवासी नेपाली भनेर छुट्टै पहिचान सहितको नागरिकता लिन सफल भएको छ। अव त्यो रामकुमारी वा अन्य कुनै राजकुमारले चाहँदैमा परिवर्तन हुँदैन। एनआरएनलाई प्राप्त त्यो अधिकारलाई रामकुमारी प्रवृत्तिले न त हटाउन सक्छ न त पल्टाउन नै। त्यसैले एनआरएनेले दिएको सुगन्धित पर्फ्युम लगाएर उनीहरुलाई नै दुर्घन्धित बताउँदै हिंड्ने रामकुमारी झाँक्रीले सबैभन्दा पहिले आफ्नो आँखाको चिप्रा सफा गर्दा बेस।

-मदन बस्नेत, क्यानाडा

प्रतिक्रिया