भ्रामक समाचारहरु बाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं

रमेश ढकाल झापा, भद्रपुर–७ (हालः दोहा–कतार) २०८० असोज २७ गते १६:०८ मा प्रकाशित

महाभारतको युद्धमा आफ्नो कुटनीतिक कौशलको भरपुर प्रयोग गर्दै भीष्म पितामहलाई त युद्ध मैदानबाट हटाउन श्रीकृष्ण सफल बन्छन् तर पनि उनलाई लाग्छ कि जबसम्म गुरु द्रोणाचार्यको अन्त्य हुँदैन तबसम्म पाण्डवको जित सुनिश्चित बन्न सक्दैन । तर समस्या के थियो भने, सिधा–सिधा लडाई लडेर गुरु द्रोणाचार्यको अन्त्य गर्न सम्भव थिएन । त्यसले कृष्णले फेरि एउटा कुटनीतिक चाल चाल्छन् । उनको उक्त चाल अन्तर्गत एउटा अश्वत्थामा नाम गरेको हात्तीलाई मार्न लगाउँछन् र भिमलाई मैले अश्वत्थामाको वध गरिदिए भनेर द्रोणाचार्यको कानमा पुग्ने गरेर हल्ला फैलाउन लगाउँछन् ।

अश्वत्थामा द्रोणाचार्यको छोराको नाम हुन्छ । यस्तो हल्ला सुनेर द्रोणाचार्य अत्यन्तै हतास बन्छन् र उक्त हल्लाको पुष्टि गर्न उनी कहिल्यै झुट नबोल्ने धर्मराज युधिष्ठिरको अगाडि पुगेर के साँच्चिकै मेरो छोरा अश्वत्थामाको वध भएको हल्ला सत्य हो भनेर स्पष्ट पार्न आग्रह गर्छन् । जवाफमा युधिष्ठिर भन्छन्, ’अश्वत्थामा हतो, नरो वा–कुंजरो वा ।’ यसको मतलब अश्वत्थामाको बध भएको हो, मान्छे हो या हात्ती ।

युधिष्ठिरले ’अश्वत्थामा हतो’ भनि नसक्दै कृष्णले अत्यन्तै जोरसँग शंख बजाउँछन्, जसले गर्दा द्रोणाचार्यले पछाडिको लाइन राम्रोसंग सुन्न पाउँदैनन् । उनले केवल ’अश्वत्थामा हतो’ भनेको मात्र सुन्छन् । युधिष्ठिर मार्फत यति सुन्नसाथ द्रोणाचार्य आफ्नो हतियार बिसाउँछन् र त्यहीँ युद्ध मैदानमा भुईँमा बस्छन् । यही मौका छोपेर धृष्टद्युम्नले उत्तिखेरै द्रोणाचार्यको हत्या गरिदिन्छ ।

महाभारत युद्धको यो प्रसङ्ग उल्लेख गरेर पङ्क्तिकारले यहाँ महाभारत युद्ध वा उक्त युद्धमा श्रीकृष्णको भूमिकाका बारेमा कुनै प्रकारको टिप्पणी गर्न खोजेको भने हैन र यसो गर्ने हैसियत पनि राख्दैन । यो प्रसङ्ग कोट्याउनुको उदेश्य यति मात्र हो, त्यो जमानामा पनि द्रोणाचार्य जस्तो विशिष्ट विद्वान् व्यक्तिलाई कुशलता पूर्वक भ्रामक सूचना प्रसारण गराएर, त्यसमा विश्वस्त पार्न सम्भव हुँदोरहेछ ।

अब अहिले त झन् सोशल मिडियाको जमाना छ । आजको दुनियाँमा जताततै हरेक क्षेत्रमा विभिन्न खाले सञ्चार माध्यमहरूबाट फैलने गरेका कयौँ भ्रामक सूचनाहरुको ठुलो प्रभाव रहने गरेको छ । यस्तो अवस्थामा, यदि हामी होसियार बनेनौँ भने, सम्बन्धित सूचनाका बारेमा थोरै अनुसन्धान गर्ने बानी बसालेनौँ भने – तपाईं हामी जोकोही पनि सामाजिक सञ्जालमा हिजोआज नियोजित ढङ्गले आउने कतिपय भ्रामक समाचार तथा सूचनाहरुको सजिलैसँग सिकार बन्न सक्छौँ ।

जस्तै, यदि त्यतिखेर द्रोणाचार्यले त्यो अन्तिम लाइन ’नरो वा–कुंजरो वा’ पनि राम्रोसंग सुन्न पाएका भए, वा उक्त सूचना सुन्ने क्रममा सुनियोजित रुपमा अवरोध सिर्जना नगरिएको भए – द्रोणाचार्यले त्यतिखेर त्यस्तो निर्णय नै लिने थिएनन् होला अथवा उनको त्यो वेलाको निर्णय अर्कै पनि हुन सक्ने थियो होला । त्यतिखेर द्रोणाचार्यले त्यस्तो निर्णय नलिएका भए, युद्ध मैदानमा आफ्ना हतियारहरु बिसाउने पनि थिएनन् होला । हतियार बिसाएर युद्ध मैदानमा नबसेका भए, उनको त्यतिवेला हत्या पनि हुने थिएन होला । उनको त्यतिबेला हत्या नभएको भए, महाभारतको युद्ध कथा नै पनि फरक बन्ने सम्भावना हुन्थ्यो होला । जे होस्, यो त एउटा अलग्गै पाटो भयो ।

तर यो प्रसङ्ग जोडेर यहाँ के मात्र बुझाउन खोजिएको हो भने, आजको सोशल मिडियाबाट अत्यन्तै प्रभावित यो युगमा, सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा कतिपय समाचार तथा सूचनाहरु यसरी नियोजित ढङ्गले सम्प्रेषण गरिएका हुन्छन्, यदि तिनै समाचार÷सूचनालाई मात्र आधार बनाएर आफ्नो कुनै मत प्रकट गरेको वा कुनै प्रकारको निर्णय लिएको खण्डमा, तपाईं हामी जोकोही पनि महाभारतका गुरु द्रोणाचार्य झै भ्रामक सूचनाको सिकार बन्न सक्ने प्रबल सम्भावना रहन सक्छ ।

नियोजित रुपमा गलत सन्देश प्रवाह हुने गरेर अथवा ठिक सूचनालाई पनि हेरफेर गरेर वा वास्तविक सन्दर्भलाई ओझेल पार्ने गरेर विभिन्न समाजिक सञ्जालका प्लेटफर्महरूमा राखिने सूचनाहरूले समाजका तपाईं हामी जस्ता आम मान्छेहरुलाई मात्रै नभएर आफुलाई निक्कै योग्य र ज्ञानी ठान्ने मान्छेहरुलाई पनि सजिलैसँग सिकार बनाउने गरेको हामी धेरैले देख्दै भोग्दै आएका छौँ ।

हिजो आज कुनै प्रकारको विपद् वा घटनालगत्तै सम्बन्धित बहसलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्ने उदेश्यले सामाजिक सञ्जाललगायत अनलाइन प्लाटफर्मको दुरुपयोग तीव्र रुपमा हुने गरेको छ । यस सम्बन्धमा, केही समय अघि पूर्वको धरान लगायतका कतिपय ठाउँहरुमा तथा भर्खरै नेपालगन्जमा घटेको घटनाका बारेमा थरी थरीका स्वार्थ समूहहरुले सामाजिक सञ्जाललगायत अनलाइन प्लाटफर्महरुको प्रयोग गर्दै पोखेका छरपस्ट प्रतिक्रियाहरूलाई हामी उदाहरणका रुपमा लिन सक्छौँ ।

यस्तै सन्दर्भमा, विभिन्न भिडियो गेम, सिनेमा लगायतका हिंसात्मक तस्बिर तथा भिडियोहरूलाई अहिले जारी इजरायल–प्यालेस्टाइन युद्धसँग जोडेर भ्रामक सूचनाहरु फैलाउन ट्वीटर प्रयोग भएको भन्दै, निक्कै गम्भीर बहस सुरु भएको छ । समाचारमा आएअनुसार, यस सम्बन्धमा ट्वीटरका मालिकलाई ट्वीटरमा सेयर हुने गरेका यस्ता भ्रामक गतिविधिलाई तत्काल रोक्नका लागि चेतावनी दिदै युरोपेली संघ (ईयू) ले पत्र पनि लेखिसकेको छ ।

त्यसैले विभिन्न सोशल मिडिया मार्फत हाम्रो समाजमा समय–समयमा फैलिरहने कतिपय सूचना वा जानकारीहरु खास गरेर ती सूचनाहरु जुन फरक–फरक समुदाय वा सम्प्रदायका मान्छेहरुको भावनासँग जोडिएका हुन्छन् । यस्ता खाले विषयका बारेमा आफ्नो कुनै धारणा बनाउदै गर्दा वा सम्बन्धित सूचनालाई कुनै पनि प्लेटफर्ममा आफुले सेयर गर्दै गर्दा, अब भने हामी निक्कै नै सचेत तथा होसियार बन्नै पर्ने भएको छ । ताकि नियोजित रुपमा सेयर गरिने भ्रामक सूचनाहरुको सिकार बन्नबाट आफु पनि बाँच्न सकियोस् र अरुलाई पनि बचाउन सकियोस् ।

यसो भन्दै गर्दा एउटा सत्य फेरि के पनि हो भने, जतिसुकै सचेत र होसियार बन्ने कोसिस गरे पनि कहीँ न कहीँ कुनै न कुनै निर्णयमा हामी चिप्लिराखेका हुन्छौँ । को होला र त्यस्तो जसले कहिल्यै गल्ती नै नगरेको होस् ! गल्ती त सबैबाट हुन्छ । मबाट पनि हुन्छ, तपाईँबाट पनि हुन्छ ।

तर पनि जब हामी सामाजिक सञ्जालमा आएका जल्दा बल्दा समसामयिक मुद्दाहरूका बारेमा आफ्नो धारणा बनाउँछौँ – त्यतिखेर धेरै हतारो नगरौँ । तथष्ट र निष्पक्ष भावका साथ सम्बन्धित विषयका बारेमा थोरै अनुसन्धान अर्थात सम्भव भए सम्मको चेकजाँच गर्ने बानी बसालौँ । यस्तो गर्ने अभ्यासले, सम्बन्धित विषयका बिरुद्धमा प्रकट गरिएको हाम्रो मत या लिएको कुनै निर्णयमा गल्ती हुने सम्भावना अत्यन्तै न्युन रहन्छ । र यति गर्दा गर्दै पनि कुनै गल्ती भएछ भने, त्यस्तो गल्ती आफु स्वयम् र समाजका लागि कम हानिकारक बन्न सक्छ ।

एक जना पश्चिमी दार्शनिकले भनेका छन्, हाम्रो जीवनको कथा हामी आफै लेख्ने गर्छौँ । र यो कथा जीवनमा आइपर्ने विभिन्न समसामयिक परिस्थिति लगायत हाम्रो जीवनका कयौँ मोड, घुम्ती र कुहिनेटोहरुमा हामीले प्रकट गर्ने हाम्रो मत, हामीले गर्ने फैसला तथा लिने निर्णयहरूद्वारा लेखिने गर्छ । यसको मतलब, हामी कुन परिस्थितिमा कस्तो निर्णय लिन्छौँ वा आफ्नो मत कसरी प्रकट गर्छौँ, यसैका आधारमा हाम्रो आफ्नो जीवनको मात्र नभएर, हाम्रो गाउँ, टोल, समाज तथा सिङ्गो देशको अगाडिको कथा लेखिने छ ।

रमेश ढकाल
झापा, भद्रपुर–७ (हालः दोहा–कतार)

प्रतिक्रिया