सोह्रश्राद्ध

सुरेन उप्रेती पाँचथर, हाल एडमण्टन क्यानडा २०८० असोज २१ गते १८:०७ मा प्रकाशित

सोह्रश्राद्ध भरी पितृ तर्पणमा मानिसहरू लागेका थिए । कोही गोकर्णमा गएर पितृहरूको सम्मानमा दानदक्षिणा र ब्राम्हण भोजन गराएर फर्कन्थे । कोही आफ्नै घरमा पण्डित र पुरेतहरू आमन्त्रण गरेर पितृतर्पण गर्दथे । दान दक्षिणा र मिष्टान्न भोजन , बस्त्र दान गर्दथे । हाम्रा छिमेकी बलीरामका घरमा पनि दिन दिनै पितृतर्पण श्राद्धहरू भैरहेको कुरा श्रीमतिले सुनाइन । विहान देखि नुहाईधुवाइ गर्छन् । ब्राम्हण बोलाएर श्राद्ध कर्म गर्दा अपरान्हको तीन बजेको हुन्छ । अनि मात्र बलिराम भोजन गर्छन् । कस्ता सत्कर्मी मानिस रहेछन् बलिराम ! श्रीमतिले भनिन् ।

बलीरामकी आमा निकै मेहनती टाठीबाठी महिला थिइन । उनले नपढेको भए पनि पढ्नु पर्छ भन्न शिक्षाको महत्व बुझेकी थिईन । श्रीमानको श्वर्गे भए पछी मनीराम र बलीराम दुई छोराहरुलाई उनले एक्लै हुर्काईन । दुख्ख गरी गरी पढाइन् । छोराहरू जागिरे बने । बिहेदान गरे । नातिनातिना भए । अब आमालाई कसले पाल्ने भन्नेमा कुरो मिलेन । उनी कहिले मनीरामकोमा त कहिले बलीरामकोमा बस्न थालिन् ।तर कतै पनि मान सम्मान र हेरचाह नभए पछी घरबाट निस्किइन र पाटीमा बस्न थालिन् ।बजारका गल्ली गल्लीमा माग्दै खान थालीछन् । पाटीमा बसेको बेला चिसोलागेर ज्वरो आएछ । बिहोस भएर लडेको अबस्थामा मानिसले भेटेछन् र बलीरामलाई खवर गरी दिएछन् । बलीरामले दिक्कमान्दै समाजका लागि भए पनि ल्याउनु पर्यो नी केगर्नु भनेर घर ल्याएछन् ।

भोली पल्ट बिहान मलाई नगर्न ए बलीराम म मरेँ । ऐय्या मार्यो है भन्दै बुढीमान्छे चिच्याएको आवाज आयो । छिमेकीहरू भेला भए ।

घरमा जाँदा बुढीमानिसको मुख सुन्नीएको छ । मुखबाट रगत बग्दैछ । छेउमा बलीराम एउटा सनासो हातमा बोकेर उभिएका थिए । सनासोले बुढीमान्छेको सुनले मोहोरेको दाँत चेपेको थियो । त्यसको दुई दिन पछी ती आमा बुढीको देहवशान भएको थियो ।

प्रतिक्रिया