चन्द्रेश्वर रौनियार तथा कथ्य र सत्य

सञ्जय साह मित्र २०८० असोज २० गते २:३७ मा प्रकाशित

“मलाई बाँच्ने कुनै चाहना छैन अब । मलाई जे चाहिएको थियो, सबैथोक पूरा भएको छ । जीवनमा जति प्रगति गर्नुपर्ने हो, त्यत्ति गरिसकेको छु । जति पाउनुपर्ने हो, त्यसभन्दा बढी मैले पाइसकेको छु । मलाई जीवनसित कुनै गुनासो छैन । एक हिसाबले भन्ने हो भने अब मृत्युलाई स्वागत गर्न म तयार भएर बसेको छु भन्ने कुरो मेरो पहिरनले पनि संकेत गर्दछ” मलंगवाको एउटा कार्यक्रममा पूर्व इन्जिनियर चन्द्रेश्वर प्रसाद रौनियारले यसरी वक्तव्य दिइरहँदा स्रोतालाई फरक किसिमले गर्वबोध भइरहेको थियो ।

८४ वर्षीय चन्द्रेश्वर प्रसाद रौनियार आफ्नो जमानाका इन्जिनियर हुन् । हाइड्रोलोजी एन्ड वाटर रिसोर्सेज इन्जिनियरिङ विधामा एमएस्सी गरेका रौनियार समाजसेवा तथा सिर्जना क्षेत्रका एक अनन्य यात्री हुन् । आध्यात्मिक चिन्तनका धनी तथा समाजसेवामा गहिरो रुचि भएका रौनियारको जन्म वि.स. १९९४ भदौमा सर्लाहीको ब्रह्मपुरीमा भएको हो । साकेतनगर जनकपुर उपमहानगरपालिका ९, धनुषामा बस्दै आएका रौनियार चारओटा कृति प्रकाशित छन् । पहिलो कृति ‘कफन चोर’ हिन्दी कहानी संग्रह रहेको छ भने दोस्रो कृति ‘स्मृतियोंकी साया’ हिन्दी संस्मरण रहेको छ । यसै गरी तेस्रो कृति ‘डिजाइन अफ इन्फ्रिेसन ग्यालरी’ तथा चौथो कृति ‘ कथ्य र सत्य’ रहेका छन् । रौनियारका कृतिहरुको प्रकृति हेर्दा एउटा अध्ययन तथा पेसासित सम्बन्धित र अर्को अध्यात्मसित सम्बन्धित रहेका छन् भने दुई कृति साहित्यसित सम्बन्धित रहेका छन् । एक इन्जिनियर भएर पनि कृतिको रचना गर्नु र अध्यात्म तथा समाजसेवामा गहिरो योगदान दिनु आफैँमा विशिष्ट कार्य हुन आउँछ ।

रौनियारले नेपाल सरकारको २९ वर्ष सेवा गरेका छन् । यसै गरी नेसनल कन्स्ट्रक्सन कम्पनीमा एक वर्ष सेवा गरेका छन् । विश्व बैंकको इरिगेन स्पेसलिस्टको तथा सल्लाहकारको रुपमा आठ वर्षको अनुभव संगालेका छन् ।सारा बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा सरस्वती राजनारायण प्रतिष्ठानको संस्थापक अध्यक्ष रही समाजको आर्थिक उन्नति तथा साहित्यिक उन्नयनमा निरन्तर योगदान दिइरहेका रौनियार तत्कालीन अत्यन्त सम्मानित गोरखा दक्षिण बाहु सम्मान प्राप्त गरेका छन् । यसै गरी दीर्घ सेवा पदक र तत्कालीन श्री ५ को सरकारबाट ग्रेड सम्मान पनि प्राप्त गरेका छन् । आफ्नो कर्म क्षेत्रमा इमानदार र कठोर परिश्रम गर्दा राज्यले सम्मान गर्ने रहेछ भन्ने कुरा रौनियारबाट बुझ्न सजिलो पर्छ ।

प्रतिभावान व्यक्ति जुनसुकै ठाउँमा र जुनसुकै क्षेत्रमा भए पनि आफ्नो पहिचान कायम गर्न सक्षम हुन्छ र प्रतिभावानले आफ्नो प्रतिभाको आलोकमा अन्यलाई पनि आलोकित बनाउने गर्दछ । रौनियारले पनि आफ्नो कर्मको सुगन्ध र प्रतिभाको प्रकाशले जुन क्षेत्रमा हात हाले पनि त्यहीँ सुगन्धित र प्रकाशित पारेका छन् ।

रौनियारले आफ्नो लेखनलाई पनि वृत्तिसित जोडेर समाजलाई बाटो देखाएका छन् भने संस्मरणमार्फत विगतलाई निरन्तर ताजा बनाइराख्न सफल भएका छन् । यसै गरी जीवनको उत्तरार्धमा अध्यात्म क्षेत्रको गहिरो रुचि र ज्ञानलाई अझ विस्तार गरेको देखिन्छ । यसको उदाहरणको रुपमा तिनले लेखेको ‘कथ्य र तथ्य’ (सनातन धर्म) कृतिलाई लिन सकिन्छ । सरस्वती राजनारायण प्रतिष्ठानद्वारा प्रकाशित तथा लक्ष्मीनारायण भट्टराईद्वारा सम्पादित रौनियारको प्रस्तुत ‘सत्य र तथ्य’ कृति आफैँमा एउटा निकै महत्वपूर्ण उपलब्धि हो ।

‘कथ्य र सत्य’ सनातन धर्ममाथि प्रकाश पार्ने एक गहन विषयवस्तु भएको कृति हो । यस कृतिको विषयवस्तु निकै गहन छ तर रौनियारले दार्शनिक भावलाईसमेत सहज दृष्टान्त र भावमा प्रस्तुत गरेका छन् । यसकारण यो कृति बोधगम्य बन्न पुगेको छ ।

कृतिको प्रथम पाठमा सबैभन्दा पहिले ‘धर्मको भाग’ रहेको छ । यसमा धर्मको सामान्यतया दार्शनिक, पौराणिक र आनुष्ठानिक गरी तीन भाग हुने बताउँदै हिन्दू धर्ममा परमेश्वर, काल, प्रकृति, जीव र कर्मविधान गरी मुख्य पाँच ज्ञानबारे बताइएको छ । यसैमा ओमको उत्पत्ति, तत्त्व तथा तीन गुणका वृत्तिहरुबारे अत्यन्त गहनतापूर्वक संक्षिप्तमा प्रकाश पारिएको छ ।

द्वितीय पाठको पहिलो खण्ड ‘ब्रह्माण्ड’ रहेको छ । ब्रह्माण्डको उत्पत्ति तथा परिचयबारे संयमित किसिमले विभिन्न पौराणिक दृष्टान्तसहित स्पष्ट पारिएको छ यसमा । यसै गरी ‘कालचक्र’मा काल अर्थात् समयबारे अनेक धारणा र मापनका आधारहरु यसमा स्पष्ट पारिएको छ । ‘सृष्टि वर्णन’, ‘काल (विषयको रूपान्तरण’, ‘समुद्र मन्थन’, ‘तीन कल्प’, ‘वैज्ञानिक विचारधारा’, ‘प्रलय र संहार’ तथा ‘चार युग’जस्ता कतिपय लौकिक र कतिपय अलौकिकजस्तो लाग्ने दार्शनिक–पौराणिक सन्दर्भहरुलाई क्रमशः अत्यन्त सहज भावमा प्रकाश पार्ने काम गरिएको छ ।

तेस्रो पाठमा विज्ञान, ज्ञान र दर्शन तिनै किसिमका रचनाहरु रहेका छन् । ‘सौर्य मण्डल’ विषयमा पौराणिक ग्रन्थहरुमा आएका विचारसारलाई प्रस्तुत गरिएको छ । कालबाट प्रेरित भएर सबै नक्षत्र ध्रुवलोकको चक्कर लगाउने प्रक्रियासमेतलाई भनिएको ‘शिशुमार चक्र’बारे कृतिमा निकै नवीन तथ्यहरुबारे प्रकाश पारिएको छ । शास्त्रहरुमा वर्णित विभिन्न लोकहरुबारे ‘चौध नक्षत्र –दाया, बायाँ’ मा संक्षिप्त पर्यावलोकन गरिएको छ । ‘अष्टावक्र र वन्दी संवाद’ तथा ‘याज्ञवल्क्य–गार्गी संवाद’ ज्ञानवानहरुका लागि निकै महत्वपूर्ण छन् । उपक्रमिका भनिएको खण्डमा आएका विषयवस्तुहरु यिनै हुन् ।

दार्शनिक पक्ष (आगम, निगम) अन्तर्गत चौथो पाठमा पहिलो खण्ड ‘ऋषि’ रहेको छ । ब्रह्मर्षि (वशिष्टादि), देवर्षि (नारदादि), महर्षि (व्यासादि), परमर्षि (भेल आदि), काण्डर्षि (जैमिनी आदि), श्रुतार्षि (सुश्रुत आदि) र राजर्षि (जनक आदि) गरी ऋषिलाई सात प्रकारमा विभाजि गरिएको यस खण्डमा ऋषिबारे अन्य तथ्यहरु महत्वपूर्ण रहेका छन् । ‘आत्मा र अनात्मा’ पनि गहन विषय हुन् । सामान्यतया धेरै र सधैँ चर्चामा आइरहने ‘वैदिक वाङमय’को विषयमा पनि गहन छलफल गरिएको छ ।

पञ्चम पाठ निकै संक्षेपमा रहेको छ । साधारण शब्दमा बुझ्न चाहनेका लागि ‘वेद–उपनिषद’ स्पष्ट रहेको छ । यसै गरी संक्षेपमा ‘याज्ञवल्क्यको ब्रह्मवाद’बारे चिनारीगत प्रकाश पारिएको छ ।

छैठौँ पाठ पनि अत्यन्त संक्षेपमा गहन विषयवस्तुलाई प्रस्तुत गरिएको खण्ड हो । यसको ‘सर्वसार उपनिषद’मा मुख्य गरी ओशोको उपनिषद सम्बद्ध विचारलाई प्रस्तुत गरिएको छ । अध्ययनकर्ताका लागि यो विशेष सामग्री हो । ‘आदिशंकराचार्यको अद्वैत’ अत्यन्त अल्पशब्दमा ‘सनातन धर्मबारे’ स्पष्ट बुझाउने सामग्री हो ।

साउन महिनाभरि सर्वत्र शिवको चर्चा हुन्छ । कृतिको सप्तम पाठ आगमअन्तर्गत ‘शिव’बारे स्पष्ट पारिएको छ । यसै गरी ‘बाह्र ज्योतिर्लिङ्ग’ र ‘शिव शक्ति’को संक्षेपमा परिचय दिइएको छ ।

अष्ठम् पाठ ‘कुलार्णव–रहस्य’ सर्वसाधारण पाठकका लागि नवीन विषय लाग्ने पौराणिक तथ्य हो । ‘आम्नाय’ पनि नवीन विषय लाग्न सक्छ तर यी दुईबारे अध्ययनपछि धेरै महत्वपूर्ण जानकारी प्राप्त हुन्छ । यसै गरी ‘यन्त्र,तन्त्र, मन्त्र’, ‘मन्त्र ज्ञान’ र ‘तन्त्रमा के छ ?’ जस्ता विषयहरुबारे पौराणिक सन्दर्भहरुबाट स्पष्ट जानकारी दिइएको छ । ‘शिव सूत्र’मा नवीन ज्ञानलाई अत्यन्त संक्षेपमा प्रस्तुत गरिएको छ ।

नवौँ पाठमा योग दर्शनका विभिन्न पक्षका साथै अन्य विषयवस्तु प्रस्तुत गरिएका छन् । ‘योग पद्धति’, ‘अष्टाङ्ग योग’, ‘कुण्डलिनी जागरण’, ‘षड्चक्र (षष्टाङ्ग)’ र ‘गोरखनाथको नाथयोग–हठयोग’ जस्ता विषयहरु ग्हनताका साथ तर परिचयात्मक रुपमा आएका छन् । दशौँ पाठको ‘भक्ति सूत्र’ मननीय तथा विश्लेषणीय रहेको छ । यसमा भक्तिका सम्बन्धमा अत्यन्त गहन विचारात्मक दृष्टान्तहरुलाई सहजतापूर्वक प्रस्तुत गरिएका छन् । अनि संक्षेपमा ‘भक्तियोगको प्रभाव’ पनि विश्लेषण गरिएको छ ।

एघारौँ पाठ बौद्ध धर्म दर्शनसित सम्बन्धित छ । ‘बौद्ध धर्म’को परिचय सटिक किसिमले प्रस्तुत गरिएको छ । ‘महाभिनिष्क्रमण’ पछि ‘विद्या–आश्रम चहार्दै’ सिद्धार्थ ‘शरीर पीडन’ समेत गर्दै ‘अलभ्य निराकरण’ गर्दछन् । ‘ब्रह्माण्ड दर्शन’ पछि ‘सम्बोधि प्राप्ति हुन्छ’ र ‘धर्मचक्र परिवर्तन’ आउँछ । पाठमा ‘विपश्यना तथा भावतित ध्यान’लाई अल्प शब्दमा गहनतापूर्वक बताइएको छ भने संक्षेपमै भए पनि ‘जैन धर्म’बारे पनि प्रकाश पारिएको छ ।

कृतिको पौराणिक पक्ष (संस्कार र संस्कृति) रोचक रहेको छ । यस खण्डमा समेटिएको बाह्रौँ पाठमा विभिन्न स्मृतिहरुलाई स्थान दिइएको छ । ‘स्मृतिहरू’, ‘याज्ञवल्क्य स्मृति’, ‘पराशर स्मृति’, ‘दक्ष स्मृति’, ‘हारित स्मृति’, ‘संस्कारहरू’ तथा ‘मनु स्मृति’ यस खण्डका शीर्षकहरु हुन् । केही नाम सुनिएका र केही नाम नसुनिएका विशिष्ट पौराणिक व्यक्तित्वका स्मृतिहरुको बारेमा दिइएको विषयवस्तुले पाठकको ज्ञानको क्षेत्रलाई फराकिलो बनाउने तथा दर्शनको आधारलाई विस्तार गर्ने देखिन्छ । यसै गरी तेह्रौँ पाठका शीर्षकहरु पनि आकर्षक रहेका छन् । हिन्दू धर्मावलम्बीले सामान्यतया बुझिरहेका विषयवस्तु भएको ‘अठार पुराण’, ‘दश अवतार’, ‘बाइस अवतार’ र ‘रामायण’ बारे प्रकाश पार्दै नवीन दृष्टिकोण पनि प्रदान गरिएको छ । चौधौँ पाठमा एउटै शीर्षक रहेको छ –‘श्रीमद्भागवत पुराण’ । यसमा कुन स्कन्दमा के छ ? भन्ने प्रश्नको जवाफ प्रस्तुत गरिएको छ । कृतिमा बुँदागत रुपमा बाह्र स्कन्दका विषयवस्तुलाई चिनाउने काम गरिएको छ ।


पन्ध्रौँ पाठ मुख्य गरी महाभारतसित सम्बन्धित छ । यसको पहिलो शीर्षक रहेको छ ‘भिष्मको प्रतिज्ञा’ । यसमा भिष्मको सामान्य परिचय दिइएको छ । यसै गरी ‘पाण्डव’ र ‘कौरव’को पनि गुणसहित सामान्य चिनारी प्रस्तुत गरिएका छन् । निकै विचारणीय रहेको ‘यक्ष प्रश्न’मा महाभारतको त्यस प्रसिद्ध घटनालाई सहज भावमा प्रस्तुत गरिएको छ जसमा युधिष्ठिर र यक्षबिच सम्वाद भएको विषय रहेको छ । सोह्रौँ पाठ श्रीकृष्णसित सम्बन्धित छ । यसमा ‘कुरुक्षेत्र प्रसङ्ग’, ‘त्रिवक्रा प्रसङ्ग’, ‘स्यामन्तकमणि प्रसङ्ग’, ‘रासलीला प्रसङ्ग’, ‘मय दानव प्रसङ्ग’ र ‘चौसठ्ठी कला’ शीर्षकमा विभिन्न विषयवस्तुहरु समेटिएका छन् । अधिकांश विषयवस्तुहरु पूर्वज्ञात भए पनि नाम सुनिएको तर अन्यत्र सितिमिति पढ्न नपाइने श्रीकृष्णका चौसठ्ठी कलाबारे यसमा जानकारी पाउन सकिन्छ । सत्रौँ पाठमा मातृका शक्ति पीठबारे जानकारी दिइएको छ । यसमा ‘कुलार्णव रहस्यबाट’ र ‘प्रजापति दक्षको पुस्तकबाट’ गरी दुई शीर्षकमा महत्वपूर्ण लेखहरु समेटिएका छन् ।

आनुष्ठानिक पक्ष (आराधना) रहेको छ । अठारौँ पाठको (क) उपखण्डमा विग्रहका प्रकारलाई चिनाएको छ । यसै गरी ‘आठ प्रकारका मूर्ति’लाई प्रस्तुत गरिएको छ भने ‘आयुध’को परिचय दिइएको छ । साथै ‘आठ बन्धन’को बारेमा संक्षेपमा चिनाएको छ भने ‘अष्टसिद्धि’को बारेमा प्रकाश पारिएको छ । कमैले चर्चा गर्ने गरेको ‘षट्रिपु’बारे लेखकले निकै राम्रोसित प्रकाश पारेका छन् । यसैको (ख) आराधना उपखण्डमा ‘पूजनको भावना’, ‘गायत्रीको महामन्त्र’, ‘श्रीहनुमान आराधना’, ‘श्रीहनुमान चालिसा’, ‘भगवान् आराधना मन्त्र’, ‘माता लक्ष्मी आराधना’, ‘पञ्चायन देवता भजन’ दिएका छन् । यी विषयहरु धेरैले रुचाउने रहेका छन् र सामान्यतया धार्मिक प्रकृतिका मानिसहरुका लागि निकै प्रिय रहेका छन् । यसैको (ग) उपखण्डमा निकै राम्रोसित ‘स्वर्गलोक’ र ‘अठ्ठाइस नरक’ बारे प्रकाश पारिएका छन् । सर्वसाधारण पाठकका लागि यी दुवै जानकारीमूलक रहेका छन् । उन्नाइसौँ पाठलाई तप साधना भनिएको छ । यसमा ‘आत्माभिव्यक्ति’, ‘वायु संस्थान’ र ‘अजपाजप तथा अनहदनाद’ बारे प्रकाश पारिएका छन् । यी विषयहरु कतिपयको लागि नयाँ हुन सक्छन् ।

संस्लेषण पक्षअन्तर्गत दुई पाठ रहेका छन् । बीसौँ पाठमा ‘प्रवाहित विचारधारा’ले आध्यात्मिक क्षेत्रमा रुचि लिनेका लागि नयाँ ज्ञान दिन सक्छ । यसै गरी ‘वैदिक वा वेदान्त’, ‘शैवचार’, ‘योगशास्त्रहरु’, ‘सर्वपल्ली राधाकृष्णन्’ र ‘अरविन्द विश्लेषण’ आदि पनि पठनीय रहेका छन् । अशेष र शास्वत तथा सनातन पाठमा ‘संश्लेषण’ र ‘पुरुषार्थ’ विचारणीय पाठहरु रहेका छन् ।

इन्जिनियर रौनियारको प्रस्तुत कृति पुरुषार्थ नै हो । यस कृतिको मार्फतबाट रौनियारले आध्यात्मिक क्षेत्रमा आफ्नो रुचि तथा आफ्नो ज्ञान दुवैलाई प्रस्तुत गरेका छन् । सनातन धर्मप्रति रुचि बढ्दै गएको वर्तमान परिवेशमा यसको दर्शन तथा प्रज्ञाको बारेमा यस ग्रन्थले धेरै सामग्री दिन सक्छ । यस कृतिले रौनियारलाई एक विशिष्ट व्यक्तित्वको रुपमा प्रतिष्ठापित गर्न सफल हुने कुरामा विश्वास गर्न सकिन्छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया