बिहार के लोकतीर्थ : संक्षिप्त परिचय

सञ्जय साह मित्र २०८० असोज १३ गते १:४५ मा प्रकाशित

डा. यशवन्त कुमारद्वारा सम्पादित ‘बिहार के लोकतीर्थ’ हिन्दी भाषामा रहेको छ । यस पुस्तकलाई मुजफ्फरपुरमा रहेको तथागत सांस्कृतिक फाउन्डेसनले सन् २०१९ मा प्रकाशन गरेको हो । पुस्तकको मूल्य पाँच सय रुपैया राखिएको छ । हामीले फोटोकपी गर्ने एफोर साइजमा तर फोटोकपी कागजभन्दा अझ निकै स्तरीय चिल्लो कागजमा, रंगीन हार्ड कभर तथा हार्ड कभरलाई छोप्ने गरी रंगीन चिल्लो गाता भएको यस पुस्तकभित्रका कतिपय पाना पूर्णतया चिल्लो र रंगीन रहेका छन् ।

ज्गद्गुरु स्वामी लक्ष्मणाचार्य, अयोध्याका स्वामी बालमुकुन्दाचार्यजी महाराज, स्वामी शिवजी सिंह तथा मन्त्री, पूर्वमन्त्री, साँसद र विधायकहरुको शुभकामना सन्देश फोटोसहित छापिएको यस पुस्तकको बाह्याकृति जति आकर्षक छ, भित्रको विषयवस्तु झन् आकर्षक रहेको छ । पुस्तकको शीर्षक ‘बिहार के लोकतीर्थ’ भनिएको छ र मुख्य गरी बिहार राज्यको सीमाभित्र रहेका ऐतिहासिक, पौराणिक र धार्मिक अनि सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानहरुको बारेमा प्रकाश पारिएको छ । तथ्य, लोककथ्य, मान्यता, विश्वास, मिथक र साक्ष्य आदिलाई आधार बनाएर लेखिएका लेखहरु साँच्चिकै पठनीय रहेका छन् ।

विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विद्यावारिधि उपाधि हासिल अनि सिद्धहस्त खोजकर्ता, अनुसन्धानकर्ता र लेखकहरूद्वारा विभिन्न ठाउँको बारेमा लेखिएको लेखहरूको संकलनको रुपमा आएको यो पुस्तक आफैँमा विशिष्ट बन्न पुगेको छ । चार दर्जनभन्दा बढी लेखहरु संकलित ‘बिहार के लोकतीर्थ’ अत्यन्तै लोभलाग्दो रहेको छ । महाविधावारिधि (डि.लिट्.) उपाधिले विभूषित अतिविशिष्ट विद्वान डा. अवधेश्वर अरुणको भूमिकाले यस कृतिको ओज अझ बढाइदिएको छ ।

कृतिको पहिलो आलेख डा. कृष्णचन्द्र झा ‘मयंक’को रहेको छ – ‘दरभंगा महाराज के देवी–मन्दिर’ । अलिकति ऐतिहासिक सन्दर्भसहित दरभंगामा रहेको माँ श्यामा, माधवेश्वर, रुद्रकाली, कंकाली आदि मन्दिरको बारेमा विभिन्न सन्दर्भसहित चर्चा गरिएको छ । दरभंगाभन्दा साठी किलोमिटर दक्षिण–पूर्वमा अवस्थित कुशेश्वर महादेव र भूतनाथ मन्दिरको विषयमा डा. किरणशंकर प्रसादले चर्चा गरेका छन् । रामायणमा निकै महत्व दिइएको महिला पात्र अहल्याको बारेमा डा. कल्पना कुमारीले ‘अहल्या की मोक्षभूमि :अहल्यास्थान’ले सुन्दर चर्चा गरेपछि अझ विस्तृत रुपमा कन्हैया कुमारले ‘महर्षि गौतम का आश्रम एवं कुण्ड’ शीर्षकमा स्पष्ट पारेका छन् । यो स्थान दरभंगा जिल्लामा रहेको कमतौल रेलवे स्टेशनभन्दा करिब पाँच किलोमिटर पश्चिम–दक्षिणमा रहेको बताइएको छ । मधुवनी जिल्लामा रहेको प्रसिद्ध शक्तिपीठ उच्चैठ दुर्गा स्थान, कपिलेश्वर महादेव तथा उगना महादेवको बारेमा डा. राम विलासले ‘भक्ति और आस्था का प्रतीक उच्चैठ दुर्गा स्थान’ शीर्षकमा प्रकाश पारेका छन् । यसै गरी यसमा मंगरौलीकी बुढिया माई, राजनगरकी काली, गिरिजा स्थान तथा हरलाखीमा रहेको भगवान रामको तीरको बारेमा पनि प्रकाश पारिएको छ । मधुबनी जिल्लाकै तीर्थस्थलको बारेमा कपिल झा पत्रकारले ‘शिव और पार्वती की क्रीडाभूमि कलुआही’ चर्चा गर्दै रामायण तथा महाभारत कालका विभिन्न सन्दर्भ र साक्ष्यलाई पनि प्रस्तुत गरेका छन् ।

डा. शत्रुघ्न राय ‘शशांक’ले समस्तीपुरका केही प्रमुख तीर्थस्थलको बारेमा ‘साम्प्रदायिक सदभाव का प्रतीक : खुदनेश्वर महादेव’ शीर्षकमा प्रकाश पारेका छन् । बागेश्वरी नन्दन कुँवरले ‘धर्म भूमि चम्पारण’ शीर्षकमा चम्पारणको धार्मिक, पौराणिक तथा सांस्कृतिक महत्वलाई स्पष्ट पार्दै वाल्मीकिले रामायणको रचना गरेकोदेखि सीताले धरणी प्रवेश गरेको स्थलसम्म यही रहेको बताएका छन् । यसमा नरदेवी मन्दिर, बेतियाकी काली, केसरिया महादेव, सोमेश्वरनाथ महादेवसहित अरेराज आदिको सुन्दर चर्चा गरेका छन् । यसै गरी अविनाश कुमारले ‘केसरिया का बौद्ध स्तूप’ शीर्षकानुकूल चर्चा गर्दै अन्य केही स्थलका बारेमा पनि प्रकाश पारेका छन् । गणेश सारंगले ‘जगत जजनी जानकी की भूमि सीतामढी’ शीर्षकमा सीताको जन्मभूमि पुनौराधाम, राम जानकी मन्दिर, अन्हारी, उर्विजा कुंड, हलेश्वर स्थान, पंच पाकड, बाबा नगेश्वरनाथ धाम आदिको बारेमा उल्लेख गरेका छन् । राम निवास शर्माले ‘ईशाननाथ, दमामी’ सीतामढी डुमराबाट बाइस किलोमिटर टाढा रहेको रामजानकीसित सम्बन्धित मन्दिरको बारेमा लेखेका छन् । त्रिलोकीप्रसाद शर्माले ‘परशुराम के आराध्य शिव का देकुली धाम’ शीर्षकमा शिवहर जिल्लामा रहेको देकुलीधामको रामायणसित सम्बन्ध स्थापित गरिएको लेख रहेको छ । सचिन कुमारले ‘कटरागढ की चामुण्डा माता’ शीर्षकमा मुजफ्फरपुर–दरभंगा सडकभन्दा अलिकति उत्तरमा रहेको शक्तिपीठलाई केन्द्रित गरी प्रकाश पारेका छन् । डा. संजय पंकजले ‘सर्वधर्म समभाव की भूमि मुजफ्फरपुर : यही विराजते हैं बाबा गरिबनाथ’ शीर्षकमा मुजफ्फरपुरमा रहेका विभिन्न धार्मिकस्थलहरुको वर्णन गरेका छन् ।

प्रो. राकेश सम्राटले ‘आनन्द भैरव की भूमि : भैरव स्थान’लाई चिनाएका छन् जुन सीतामढीको रुन्नीसैदपुरनजिक रहेको छ । डा. अल्पना कुमारीले ‘बाबा खगेश्वरनाथ महादेव’ शीर्षकमा मुजफ्रपुर जिल्लाको मतलुपुर गाउँमा रहेको करिब तीन हजार वर्ष पुरानो महादेव मन्दिरको बारेमा जानकारी दिएकी छन् भने यसै जिल्लाको पानापुरस्थित भस्मी देवीको बारेमा सतीश कुमारले प्रकाश पारेका छन् । डा. रामेश्वर प्रसादले बसन्तपुरपट्टीको जगन्नाथ स्वामीको बारेमा चर्चा गरेका छन् । वैशाली जिल्लाको ऐतिहासिक, पौराणिक तथा पुरातात्विक परिचय संक्षेपमा प्रस्तुत गर्दै डा. यशवंत कुमारले ‘चौमुखी महादेव’बारे पठनीय सामग्रीय प्रस्तुत गरेका छन् । यो आलेक निकै परिश्रमपूर्वक तयार पारिएको विशिष्ट रहेको छ । कपिलदेव सिंहले ‘बूढी माई’ शीर्षकमा वैशाली जिल्लाको चर्चित शक्तिपीठको चर्चा गरेका छन् । सुषमा सिंहले ‘श्री बाबा पातालेश्वरनाथ मन्दिर’ शीर्षकमा वैशालीकै उकबेलपुरमा रहेको शिव मन्दिरको बारेमा चर्चा गरेकी छन् । वैशालीकै कोनहाराघाट पनि प्रसिद्ध तीर्थस्थल हो । यसको सम्बन्ध नेपाल–अंग्रेज युद्धसित पनि रहेको छ । डा. अवधेश कुमारले मोक्षदायिनी कोनहाराघाटको बारेमा संक्षेपमा लेखेका छन् भने कुमारी अमीषा सिंहले किंवदन्तीसहित कोनहाराघाटमै रहेको ‘नेपाली छावनी मंदिर’ शीर्षकमा प्रकाश पारेकी छन् । हरिपुरमा रामको चरण चिन्ह रहेको विश्वासलाई चित्रसहित प्रो. अरविन्द कुमार सिंहले ‘श्री रामचौडा मंदिर’ लेखेका छन् । राकेश कुमारले ‘लक्ष्मी नारायण मंदिर’ शीर्षकमा वैशाली जिल्लाकै वभनगामा कुडवामा रहेको मन्दिरबारे लेखेका छन् । वैशालीकै ‘लोकदेव बाबा रामपाल’ शीर्षकमा अनिल कुमार तथा ‘माँ शारदा धाम’ शीर्षकमा डा. मनोज कुमारले लेखेका छन् । मेलाको लागि प्रसिद्ध सोनपुरमा रहेको ‘बाबा हरिहरनाथ मंदिर’को बारेमा अजीत कुमारले प्रकाश पार्दै विभिन्न किंवदन्तीहरु पनि प्रस्तुत गरेका छन् । यही रहेको ‘नौलखा मंदिर’को बारेमा रामचन्द्र सिंह त्यागीले प्रकाश पारेका छन् ।

सारणमा रहेको विभिन्न धार्मिकस्थलको बारेमा प्रकाश पार्ने क्रममा शशिभूषण शर्माले सारणको परिचय दिँदै ‘अति पावन है माँ गढदेवी का मन्दिर’ शीर्षकमा चर्चा गरेका छन् । राजा दशरथले गरेको पुत्रयेष्ठि यज्ञसमेतलाई प्रस्तुत गर्दै प्रो. अनिल कुमार सिंहले ‘अम्बिका स्थान : आमी’मा विभिन्न धार्मिक मिथक तथा किंवदन्ती र साक्ष्यहरु प्रस्तुत गरेका छन् । सिवान जिल्लाका दुई प्रमुख तीर्थस्थलको बारेमा प्रो. विजय कुमार सिंहले ‘बाबा महेन्द्रनाथ धाम’ शीर्षकमा तार्किक लेख प्रस्तुत गरेका छन् । गोपालगंज जिल्लाको अत्यन्त प्रसिद्ध तीर्थस्थलको बारेमा प्रकाश पार्दै डा. राजीव कुमारले ‘सबकी सुनती है माँ थावे वाली’ लेखेका छन् । पटनाको प्राचीन तीर्थस्थलको बारेमा डा. अरविन्द कुमारले ‘नगर रक्षिका : माँ पटन देवी’ शीर्षका मटनदेवी, महावीर मन्दिर, शीतला मन्दिर, काली तथा अखण्डवासिनी आदि स्थानबारे स्पष्ट पारेका छन् । मगध नरेश जरासंधका पिता वृहद्रथले सधैँ पूजा गर्नेको मन्दिर ‘वैकट धाम’को बारेमा राजकुमार राजूले प्रकाश पारेका छन् भने विश्वप्रसिद्ध स्थल नालन्दाको बारेमा वीरेन्द्र कुमार ओझाले ‘नालन्दा के कण–कण में हैं बुद्ध और महावीर’ शीर्षकमा संक्षेपमा शीर्षकानुकूल विषयवस्तुलाई प्रस्तुत गरेका छन् । भोजपुर जिल्लाको सदरमुकाममा रहेको प्रसिद्ध तीर्थस्थलको बारेमा प्रो. तृप्ति सिंहले ‘आरा : आरण्य देवी’ शीर्षकमा प्रकाश पारेकी छन् । डा. रणवीर कुमार ‘राजन’ले ‘राममय है बक्सर : अद्भुत हए यहाँ की पंचकोसी यात्रा’ शीर्षकमा अत्यन्त खोजपूर्ण आलेख प्रस्तुत गरेका छन् । यसै गरी डा. धनंजय सिंहले ‘कल्याणमयी है मा अस्कामिनी’ शीर्षकमा सूर्यवंशी राजा हरिश्चन्द्रका छोरा रोहिताश्वद्वारा स्थापित जिल्ला रोहतासको बारेमा पनि प्रकाश पारिएको छ । उहाँ अवस्थित शक्तिपीठ भुलनीधाम, गुप्तेश्वर धाम, गुप्ता धाम, तुतला भवानी, रोहितेश्वर मन्दिर, तारा चण्डी आदिबारे परिचयात्मक प्रस्तुति दिइएको छ ।

कैमुर जिल्लामा रहेको विभिन्न धार्मिकस्थलका साथै पहाडमा रहेका मन्दिरहरुको बारेमा चर्चा गर्दै मृदुला रानीले ‘कैमूर की मा मुंडेश्वरी’ शीर्षकमा महिमा पनि गाएकी छन् । कपिलेश्वर शर्माले ‘मुक्तिनाथ गया’ शीर्षकमा अति नै प्रसिद्ध गया जिल्लाका तीर्थस्थलहरु यथाः विष्णुपद मन्दिर, मंगला गौरी तथा बोधगयाको बारेमा बताइएको छ । यसै गरी सोनपुरमा रहेको काली मन्दिरको पौराणिकताको बारेमा डा. रामप्रसाद सिंहले प्रकाश पारेका छन् – ‘काली मंदिर की पौराणिकता’ शीर्षकमा । विभिन्न पौराणिक सन्दर्भलाई प्रस्तुत गर्दै प्रभाकर शर्मा ‘शास्त्री’ले ‘पंचतीर्थ धाम’ जुन अरवल जिलामा रहेको छ, तर्कपूर्ण चर्चा गरेका छन् । अरवलकै पूर्वमा रहेको लारी गाउँलाई धार्मिक दृष्टिले महत्वपूर्ण रहेको बताएका छन् मनोज कुमार ‘कमल’ले ‘सती नगरी लारी’ शीर्षकमा । यसै गरी डा. यशवंत कुमारले औरंगाबाद जिल्लामा रहेको एक ठाउँ उमगा पहाडको ऐतिहासिक तथा पौराणिक महत्व बताउँदै सान्दर्भिक आलेख लेखेका छन् – ‘अति पावन है उमगा पहाड : यही विराजती है मा उमगेश्वरी’ शीर्षकमा । मगध जिल्लाको बराबर गाउँमा विशवजीत कुमार ‘अलबेला’ले ‘सिद्धनाथ की भरती – बराबर’ शीर्षकमा प्रकाश पारेका छन् । यसै गरी जहानाबाद जिल्लाको देवकुंडको बारेमा महेन्द्र प्रसाद ‘देहाती’ले, डा. यशवंत कुमारले ‘जातिगत मंदिरों का गाँव : सीतामढी’ शीर्षकमा बिहारको नवादा जिल्लामा रहेको सीतामढी नामक एक गाउँको धार्मिक महत्वको बारेमा प्रकाश पारेका छन् । डा. सुनयना रायले बिहारमा रहेका विभिन्न छ ओटा प्राचीन सूर्य मन्दिरको बारेमा प्रकाश पारेका छन् – ‘लोक–वेद मान्य महानायक सूर्य’ शीर्षकमा अत्यन्त खोजमूलक लेख प्रकाशित गरेकी छन् ।

यसरी ‘बिहार के लोकतीर्थ’ पुस्तक आफैँमा एक विशिष्ट ग्रन्थ बन्न पुगेको छ । हरेकले आफ्नो ठाउँको ऐतिहासिक, पौराणिक तथा धार्मिक महत्वको बारेमा थाहा पाउनु पर्छ । पुराना जानकारीहरु एक ठाउँमा संकलन गरेर भावी पुस्ताका लागि प्रस्तुत गर्न सक्नु तथा एक ठाउँको बारेमा रहेको जानकारी अन्यत्रका जानकारहरुमाझ पु¥याउन सक्नुलाई निकै ठूलो कार्य मान्नुपर्दछ । यस अर्थमा बिहारका विभिन्न धार्मिकस्थलहरुको बारेमा लेखिएको र प्रकाशन गरिएको यो कृति साँच्चिकै विशिष्ट रहेको छ । हरेक जिल्लाको नक्सा पनि राखिदिएको भए तथा प्रदेशको राजधानी पटनादेखि ती जिल्ला तथा स्थानको दुरी पनि राखिदिएको भए यस कृतिमा सुनमा सुगन्ध थपिने थियो । र, पनि यस प्रकार आफ्नो पालिका, जिल्ला तथा प्रदेशका प्रमुख स्थलको ऐतिहासिक, धार्मिक, पौराणिक महत्वको बारेमा कृति प्रकाशन गर्नुपर्ने हो भन्ने प्रेरण यस कृतिले सबैलाई दिन सफल भएको छ

-सञ्जय साह मित्र

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया