“झन्डै तीन दशक देखि अमेरिकामा तेक्वान्दो सिकाउने एउटा नेपाली प्रशिक्षकले नापेको अर्को छलाङ”

इनेप्लिज २०८० असोज १० गते २१:५३ मा प्रकाशित

अमेरिका निवासी ग्राण्डमास्टर दिवाकर महर्जनले पाए एकै वर्ष ‘डबल आठौँ डान’

पोर्टल्याण्ड,ओरिगन/ नेपालमा भित्री पाटनका रैथाने हुन् ग्राण्डमास्टर दिवाकर ‘डान’महर्जन। त्यसो त उनी अब अमेरिकी सुदूरपश्चिमी राज्य ओरिगनको पोर्टल्याण्ड सहरमा पनि जमेका छन्।

मन भरी विद्रोहको भाव बोक्दै तीन दशक अगाडि नेपालको भुईँ छोड्दै गर्दा उनी तेक्वान्दोका सामान्य प्रशिक्षक थिए। नेपाली तेक्वान्दोको आन्तरिक राजनीतिमा कोप भाजनमा पर्दै दुर्गममा सरुवा भएका प्रशिक्षक। तर क्षमता हुनेका लागि गरिदेखाउने ठाउँ हो अमेरिका भन्ने कुरालाई उनले क्रमिक रूपमा प्रमाणित गराउँदै लगे।

यसै महिना देखि महर्जनको परिचयमा अर्को अध्याय थपिएको छ। उनी अब ‘डबल आठौँ डान’ प्राप्त ग्राण्डमास्टर दिवाकर ‘डान’ महर्जन भएका छन्।

‘सर्वप्रथम, म कुक्किवानको तर्फबाट तेक्वान्दोको विकास र प्रवर्द्धन गर्नको लागि तपाईँको निरन्तर प्रयास र समर्पणको लागि मेरो इमानदारीपूर्वक प्रशंसा गर्न चाहन्छु।’ विश्व तेक्वान्दो मुख्यालय कुक्किवानका अध्यक्ष ली, ढोँग सुपद्वारा सेप्टेम्बर २० तारिख महर्जनलाई लेखिएको पत्रमा भनिएको छ। ‘कुक्किवानको प्रमोसन टेस्ट परीक्षकहरूले तपाईँको आठौँ डान समीक्षा गर्न कठिन कार्य पूरा गरेका छन् ब्रोमोशन परीक्षण। र म तपाईँलाई पदोन्नति परीक्षण नतिजाको जानकारी दिन पाउँदा खुसी छु।’

त्यसो त तेक्वान्दो जीवनमा ग्राण्डमास्टर महर्जनका लागि यो खुसीको क्षण हो। दश वर्षको निरन्तर परिश्रम पछि उनले यो सफलता प्राप्त गरेका हुन्।

समग्र नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन तेस्रो व्यक्ति हुन्। यस अगाडि नेपालमा रहेका दीपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान पाएका थिए। गुरुङ्गद्वय भन्दा कम उमेर दोहोरो आठौं डान पाउने महर्जन पहिलो व्यक्ति हुन्।

‘म खुसी छु, त्यत्रो वर्ष देखि लगातार मेहनतको फल हो यो, सुरुमा नर्मश थिए,कोरिया जानु पर्ने, आर्थिक, मानसिक र शारीरिक रूपमा पनि तयार हुनु पर्ने, गाह्रो नि थियो तर मेहनत गरे सफल भए।’ महर्जनले भने।

महर्जनले गत वर्ष कुक्किवानको हेडक्वार्टर कोरियाको सियोल पुगेर शारिरीक परीक्षण गर्दै लिखित परीक्षा दिएको बताए। ‘सातौँ डान लिएको आठ वर्ष पछि मात्र आठौँ डानको परीक्षा दिन पाइन्छ तर मलाई दश वर्ष लाग्यो।’ महर्जनले भने, ‘कोभिड महामारीले दुई वर्ष ढिलो भयो।’

महर्जनले गत मार्चमा कोरियाली मार्सल आर्ट एसोसिएसन हप्किँदो हेडक्वार्टर पनि आठौँ डान प्राप्त गरेका थिए। कोरियाली मार्सल आर्ट तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर डाक्टर डे ह्युन लीले महर्जनलाई हप्कीदोको आठौँ डान दिएका थिए। तेक्वान्दो र हप्किँदो दुवै तर्फ आठौँ डान प्राप्त गर्ने उनी पहिलो नेपाली बनेका छन्।

के हो तेक्वान्दोको ‘डान’

‘डान’ शब्द सामान्यतया कोरियाली मार्सल आर्टमा ब्ल्याक बेल्टलाई जनाउन प्रयोग गरिन्छ। डानका डिग्रीहरू छन्, पहिलोबाट सुरु हुँदै दशौँमा समाप्त हुन्छ।

डान ग्रेड जति उच्च हुन्छ, त्यति नै बढी नेतृत्व क्षमता, शिक्षण अनुभव र शैलीको सेवाले पदोन्नतिमा भूमिका खेल्छ। आधुनिक तेक्वान्दोमा डान प्रणाली भर्खरै परिवर्तन गरिएको थियो ताकि आठौँ डान उच्चतम श्रेणी हो। क्रियाशील व्यक्तिका लागि अन्तिम डान नवौँ हो। त्यसो त तेक्वान्दोका तर्फबाट विशिष्ट व्यक्तिहरूलाई उच्च सम्मान गर्दा मानार्थ दशौँ डान दिने गरिन्छ।

नवौँ डान सम्म प्राप्त गर्न लिखित तथा शारीरिक परीक्षा पास गर्नै पर्छ। तेक्वान्दोमा निरन्तर सक्रिय हुनै पर्छ। आठौँ डान लिएको व्यक्ति अब नवौँ डानको परीक्षामा तयार हुनका लागि पनि ९-१० वर्ष कुर्नु पर्ने हुन्छ।

पहिलो ब्ल्याक बेल्ट (पहिलो डान) प्राप्त गर्न सामान्यतया तीन देखि पाँच वर्ष सम्मको लगनशील प्रशिक्षण हप्तामा तीन देखि चार पटक लिन्छ । जति जति डानमा स्तरोन्नति हुँदै जान्न अर्को डान प्राप्त गर्ने समय पनि लम्बिँदै जान्छ। र उमेरले पनि यसलाई प्रभाव पार्छ। ४४ बर्ष मुनीकाले आठौं डान लिन पाउदैनन्।

महर्जनले सन् २०१३ मा सातौँ डान पाएका हुन्। सन् १९८२ देखि तेक्वान्दोमा होमिएका महर्जनले त्यसको पाँच वर्ष पछि पहिलो डान लिएका थिए।

‘चार दशक सम्मको निरन्तर मेहनतको प्रतिफल पाएको छु, अझै यो क्षेत्रमा म योग्य छु र धेरै गर्नु छ भन्ने प्रेरणा दिएको छ।’ महर्जनले भने।

हुन पनि कुक्विवान अध्यक्ष ली सुपले महर्जनलाई पठाएको पत्रमा भनेका छन्, ‘तपाईँको आठौँ डान परीक्षाको नतिजामा पुनः बधाई छ र तेक्वान्दो अभ्यासमा तपाईँको मेहनतलाई जारी राख्न प्रोत्साहित गर्नुहोस्।’

पाटनका महर्जन अमेरिकामा कसरी जमे

‘युएस वल्डक्लास तेक्वान्दो हलिउड’ नेपाली ग्राण्ड मास्टर दिवाकर महर्जन ‘डान’ द्वारा सञ्चालित स्कुल हो। उनी अमेरिकामा तेक्वान्दो स्कुल सञ्चालन गर्ने पहिलो नेपाली हुन्।

ललितपुर जिल्लाको पाटन-यालामुल टोलमा जन्मिएका महर्जन राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षक जागिर छोडेर अमेरिकाको यात्रा तय गरेका व्यक्ति हुन्।

पाटनको माटोलाई ढोगेर सात समुन्द्रपारि पाइला चालेका उनलाई पछाडि फर्कनु परेको छैन। अमेरिका आएर उनैले स्थापना गरेको यूएस वल्डक्लास तेक्वान्दो एसोसिएसन हलिउड स्कुलले २८ वर्ष पुरा गरेको छ ।

तत्कालीन समयमा नेपाली तेक्वान्दोमा समर्पण वा विद्रोह भन्ने अवस्था थियो । यद्यपि अहिले पनि घरेलु तेक्वान्दो सो समस्याबाट मुक्त हुन सकेको छैन । कर्मशील तेक्वान्दोकर्मी नेतृत्वको कोप भाजनमा पर्दै आएका छन् ।

महर्जनले दुई मध्ये दोस्रो बाटो रोजे । नेपाली तेक्वान्दोका ‘पिता’ भनिने ग्राण्डमास्टर जे के सिनको नजरमा महर्जन पहिल्यै परेका थिए । तेक्वान्दो प्रशिक्षकको जागिर सँगै निजी रूपमा मैत्रीपूर्ण तेक्वान्दो डोजाङ्ग चलाएका महर्जन जे के सिनकै निम्तामा अमेरिका आए । आफ्नो क्षमतालाई अझ तिखारे । एक वर्ष पछि सन् १९९५ मार्च १ तारिकमा आफैले स्कुल सञ्चालन गर्ने रिक्स लिए ।

तीस हजार डलर लगानीमा एक जना स्थानीयसँगको साझेदारीमा सानो कोठाबाट सुरु गरेको स्कुल अहिले अमेरिकाको सुदूरपश्चिम राज्य ओरिगन स्थित पोर्टल्याण्डकै उत्कृष्ट मध्येमा पर्दछ । आफ्नै भव्य भवनमा रहेको स्कुलमा साना ठुला गरी तीन वटा हल छन् । ठुलो हलमा प्रतियोगिता नै आयोजना गर्न मिल्छ ।

‘आफूसँग भएको खुबी किन नदेखाउने भन्ने पहिले देखिनै थियो, कहिल्यै भाडामा नबसेको, अरूको अधीनमा बस्न नरुचाउने आफै केही गर्नुपर्छ भन्ने थियो, आँट गरे ।’ अतीत सम्झँदै महर्जन भन्छन् ।

‘सुरुमा सानो कोठामा सुरु गरे, केही महिनामा साझेदारले लगानी झिके, मेरो ठुलो दाइ न्यु योर्कमा पहिले देखि बस्नु हुन्थ्यो, उहाँले पनि सहयोग गरिदिनु भयो अरू साथीहरूको पनि साथ पाए ।’ महर्जन भन्छन्, ‘दश वर्ष अर्को भाडाको हलमा बसे पछि त्यो ठाउँ पनि साँघुरो भयो र अहिलेको यो भवन आफैले किनेर सरेको हो ।’

अहिले सम्म तीन हजार भन्दा बढीले महर्जनको स्कुलबाट तेक्वान्दो सिकेका छन् । ‘वर्षमा सालाखाला एक सय १५ विद्यार्थी नियमित छन् । यो बिचमा हरेक वर्ष कम्तीमा ८० देखि एक सय ६५ जना सम्म भर्ना भएको रेकर्ड छ ।’ महर्जन भन्छन् । कतिपय राम्रा खेलाडीले छात्रवृद्दि पनि पाउने गरेका छन्।

हलिउड तेक्वान्दो स्कुलका खेलाडीले नेश्नल च्याम्पियन र जुनियर ओलम्पिकमा दर्जनौँ स्वर्ण पदक जितेका छन् । ६ जना प्रशिक्षकलाई रोजगारी दिएका छन् । जसमा चार जना फूल टाइमर हुन् ।

‘सुरुमा भाषाको केही समस्या हुने हो,मान्छेलाई विश्वास दिलाउन पनि गाह्रो हो तर हामीले जुन रूपमा सिकाउँदै गयौ, राम्रो प्रतिक्रिया आउँदै गयो,विद्यार्थी र उनका अभिभावकले नै हाम्रो बारेमा सकारात्मक टिप्पणी गरेपछि सजिलो भयो ।’ महर्जन सम्झन्छन् ।

‘नेपाल जस्तो होइन नि विवेक प्रयोग गर्न नपाउने, चाकरी गर्नेले मात्र ठाउँ पाउने, यो त अमेरिका हो, यहाँ क्षमता हुनेले देखाउने हो, गरिखानेको लागि हो यो देश ।’ उनी भन्छन् ।

महर्जनका अनुसार उनको स्कुलका नियमित विद्यार्थी मध्ये ८० प्रतिशत मेडिकल क्षेत्रमा काम गर्नेका बालबालिका छन् । एक पटक भर्ना भएपछि कम्तीमा एक वर्ष देखि पाँच वर्ष सम्म नियमित प्रशिक्षणमा आउने गरेको महर्जनको अनुभव छ । उनको स्कुलबाट तेक्वान्दो सिकेका मध्ये दुई जनाले छैटौँ र १२ जनाले पाँचौँ डान पाएका छन् ।

‘मैले अरू व्यवसाय गरेको भए यो भन्दा धेरै पैसा चैँ कमाउँथे होला, ग्यास स्टेसनमा लगानी गरेको भए पनि दर्जनौँ भइसक्ने थियो होला, म भन्दा पछाडि यहाँ स्टोर चलाउन सुरु गरेका मेरै दाईभाइको कमाई राम्रो छ, तर मलाई स्कुलकै कमाइमा सन्तुष्टि छ ।’ आफ्नो काम प्रति उनको यस्तो मूल्याङ्कन छ।

महर्जन आफूले व्यापार मात्र नभई समाजसेवा समेत गरेको बताउँछन् । ‘हाम्रो काम सेवामूलक हो,ज्ञान दिने हो, तेक्वान्दो भनेर किक मात्र हान्न सिकाउने होइन, अनुशासन, जीवन व्यवस्थापनका बारेमा पनि हामी सिकाउँछौँ ।’

उनी भन्छन्, ‘हाम्रो कामलाई अभिभावकले पनि मन पराएका छन्, उनीहरूले घरमा सिकाउन नसकेको अनुशासन,जीवनका व्यवहारिक पक्षका बारेमा हामी सिकाउँछौँ । त्यही भएर त अभिभावक खुसी छन् । मलाई त्यसैमा आनन्द आउँछ ।’

यो २८ वर्षको बिचमा महर्जनको स्कुलमा तेक्वान्दो सिकेकाहरू अहिले अमेरिकाको विभिन्न क्षेत्रको उच्च तहमा पुगेका छन् । पोर्टल्याण्डका सरकारी अड्डा, सपिङ्गमहल होस या सडकमा रेडलाइटका कारण रोकिदा जब मान्छेसँग नजर जुध्छ उनीहरूले शिर निहुराएर सम्मान गर्छन् ।

‘जहाँ जाँदा पनि चिन्ने मान्छे भेटिन्छन्, सम्मान दिन्छन्, सार्वजनिक ठाउँमा देखेर पनि चिन्छन् । नेपालमा नै छु जस्तो लाग्छ ।’ अनुभव सुनाउँदै महर्जन भन्छन्, ’एउटा नेपाली छोरोले अमेरिकामा पाएको सम्मानले त्यो बेला छाती फुलेर आउँछ, अरबौँ डलर कमाए भन्ने हुन्छ ।’

महर्जनले खेलकुदको माध्यमद्वारा समाजलाई दिएको योगदानको कदर गर्दै अमेरिकी राष्ट्रपतिबाट जो वाइडेनबाट लाइफटाइम्स एच्छिमेन्ट अवार्ड समेत पाएका छन्।

ग्राण्ड मास्टर महर्जन ९० बर्सिया आमा देवीलक्ष्मी महर्जन, श्रीमती र छोरा छोरीका साथ पोर्टल्याण्डमा बस्दै आएका छन्।

प्रतिक्रिया