अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भव्य तीजदर कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० असोज ६ गते २:१८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस सहरमा सन् २००८ मा स्थापना भएको सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले तीजदर कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।मिति: १६ , सेप्टेम्बर २०२३ का दिन 6100, Antioch Rd, Haymarket, VA, 20169 मा दिउँसो ४:०० बजेदेखि साँझ ९:०० बजेसम्म चलेको थियो । संस्थाका अध्यक्ष जानु ओझाले स्वागत मन्तव्य राखेर प्रारम्भ गरेको कार्यक्रमलाई कार्यक्रमका संयोजक तनुजा अधिकारीले संचालन गर्नुभएको थियो भने न्याकका अध्यक्ष डा. मदन उप्रेतीले आगामी तीजको कार्यक्रम आफ्नै न्याक भवनमा मनाउने प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली शिक्षा सदनका पूर्व विद्यार्थी आभानी गौतम र अनुश्री अधिकारीले गरेको उद्घोषण आकर्षक थियो भने मन्तव्यको लर्को त्यागेर अचानक मनोरन्जनात्मक कार्यक्रममा प्रवेश गरिएको दृश्य रोचक थियो ।

हजारौंको संख्यामा पुरुष,महिला तथा बालबालिकाहरुको उत्साहजनक उपस्थितिले कार्यक्रमको रौनक थपिएकोले विगत वर्षझैँ यस वर्ष पनि महिला दिदीबहिनीहरूको महत्त्वपूर्ण चाड हरितालिका तीज तथा दरखाने कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको हो ।

अपेक्षाभन्दा बढी सहभागिता हुने भएकोले ठूलो क्षमता भएको भर्जिनियाको हे मार्केटको विशाल सभाकक्षमा कार्यक्रम गरिएको थियो । अमेरिकामा जन्मेर नेपाली बोल्न सिक्दै गरेका नेपाली पाठशालाका बालिकाहरूले तीजका गीतमा छमछमी नाचेका थिए भने डीसी महानगर क्षेत्र र वरपरबाट उपस्थित भएका नेपाली दिदीबैनी दाजुभाइका समूहले खुलेर नाच्नुको साथै गीतहरू प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रम अमेरिका नेपाल सहयोगी समाजको आफ्नै परियोजना, अमेरिका नेपाल शिक्षा सदनको विशेष सहयोग तथा डीसी क्षेत्र वरपरका संघसंस्था तथा नेपाली समुदायको संलग्नतामा आयोजना गरिएको थियो ।

अमेरिका र नेपाली राष्ट्रियगीतबाट सुरु गरिएको उक्त कार्यक्रममा केसी डान्स सेन्टर तथा नेपाली पाठशालाका विद्यार्थीबाट युगल तथा सामूहिक नृत्यको प्रस्तुतिपछि चेलीबेटीहरुलाई दर खुवाउन सुरु गरिएको थियो ।

डीसी महानगर क्षेत्रमा सक्रिय रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना कालदेखि नेपाल छोडी परदेशमा रहेका दिदीबहिनीहरुलाई माइतीघरको तृष्णा मेटाउने सामूहिक थलोका रूपमा चिनिदै आएको छ ।

कार्यक्रममा बालबालिकाहरुको लागि खेल्ने व्यवस्था गरिएको थियो भने वृध्द, पुरुष तथा आमन्त्रित पाहुनाहरुको बाक्लो उपस्थितिलाई व्यवस्थित गर्न संस्थाका सहयोगीहरू तम्तयार थिए । साथै कार्यक्रमस्थलमा नै नेपाली पोसाक र अन्य वस्तु किन्न पाइने सानो बजारको समेत व्यवस्था गरिएको थियो । धेरै सङ्ख्याको उपस्थिति रहेकाले सहभागीहरू उभिएर नै तीजका सामूहिक नृत्य हेरिरहेका देखिन्थे भने कार पार्किङसमेत अपुग बनेको थियो ।

महिलाहरुले विगत वर्षझैं एकै प्रकारका पोसाक लगाएकाले र पुरुषहरुले पनि नेपाली पोसाक दौरा सुरुवाल लगाएकाले वातावरण नेपालमय देखिएको थियो । स्वयम् सेवकहरूको कडा मिहिनेत र संस्थाको कुशल व्यवस्थापनका कारण २ हजारभन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भरपुर दरको व्यवस्था गर्न सम्भव भएको कार्यक्रमका सहसंयोजक काशी खड्काको भनाइ थियो भने विगत वर्षहरूमाभन्दा व्यवस्थित र पारिवारिक वातावरणमा रमाउँदै तीजको दर खान पाएको प्रतिक्रिया सहभागीहरूको थियो ।

जगन्नाथ पौडेल

मेडिया को-अर्डिनेटर

एएनएचएस

प्रतिक्रिया